राउटेको मन

समयसितै चिप्लिँदै गुड्ने
तिम्रो गाडी
भो मलाई चाहिएन
गति कतै पन्छाएर
हावामा उड्ने
तिम्रो जहाज पनि
भो ! मलाई चाहिएन,

मलाइ
कम्प्युटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
मलाइ त मेरो माटो
मेरो जङ्गल, मेरो बाँदर
अनि यिनै तरुलभ्यागुर नै
मीठो छ,

नच्याऊ मेरो नाङ्गोपन
ढाक्न नखोज रङ्गीन कपडाले
मैले छोप्नु छैन लाज
नचिथोर मलाई
र मेरो संसारलाई !
यत्तिकै छाडिदेऊ,

तिमी वा अरू कोही
बन्नुपरेको छैन मलाई
मलाई म नै रहन देऊ
मलाई ममै रम्न देऊ
बिन्ती मलाई नमास तिम्रा प्रेमले
सक्छौ भने बरु थप तिरस्कार
मेरो जङ्गल मलाई नै छाडिदेऊ
मलाई जङ्गलमै रम्न देऊ
तिमीले ठानेका मेरा दुःखमै
मलाई छाडिदेऊ
जसरी म अहिलेसम्म बाँचे
बिन्ती मलाई त्यसरी नै
हाँस्न र बाँच्न देऊ ।

(‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहबाट)

Similar Posts

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

Leave a Reply