आफ्नै गीतमा…

  • नवराज सुब्बा

एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा धोएर वेदनालाई पखाल्ने गर्दछु । मलाई लाग्छ मेरो गीतले सायद मलाई नै सबैभन्दा बढी पीडा र सुख पनि दिन्छ होला र नै यति निचोर्छ मेरो मुटुलाई ।

आज स्टूडियोमा एकजना प्रतिभाशाली किशोर गायक डि.बी. राईको स्वरमा मेरो गीत रचना रेकर्ड भइरहेको छ । हाल विछोडिएका एकजना मेरा मित्र प्रेम भट्टचन जसले ३३ वर्ष अघि गरेको संगीतमा आज गीत रेकर्ड भइरहेकोले म भावुक भएको छु । धीरज श्रेष्ठले संगीत संयोजन गरेका छन् । स्टूडियोमा रेकर्डिष्ट धीरजजीले जव सकियो भने तब म झल्यास्स भएँ । म गीत, संगीत र स्वरमा डुबेर कता कता पुगेछु । त्यसबेला मैले मेरो किशोरावस्था सम्झिएँ जुनबेलामा मैले यो गीत रचना गरेको थिए र रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा वि.स. २०३५/३६ सालतिर गाएको थिएँ, त्यो दृष्य मेरो मानसपटलमा आएछ । म पनि त्यसबेला अहिलेका किशोर गायक डि.बी. राई जस्तै किशोर थिएँ । उनको सुमधुर स्वरमा जब मैले गीत सुनें तब मलाई मलाई गीत रचना गर्दा बखतको सम्झना र भावना आलो भएर आयो र म आज फेरि रोएँ ।

यसरी भावुक बनाउने अर्को कारण थियो, प्रतिभाशाली डिबी राईको नियति । कति मीठो स्वर छ, गायकी पनि उस्तै राम्रो छ यस्ता कलाकारलाई यो देशमा नेपाली संगीतलाई आवश्यकता छ तर उनको नियतिले अब उनलाई स्वदेशबाट अनि सायद संगीतबाट पनि टाढा पार्दैछ । सुरुमा स्टूडियोमा छिर्ने वित्तिकै मैले सोधें— “के छ डि.बी. भाई ?” उनले जवाफ दिए “सर म जनवरी महिनातिर कोरिया जान्छुहोला ।” मैले थप सवाल सोध्न उचित पनि ठानिन । यो देशमा युवालाई रोजगार दिने वातावरण नै छैन । आफ्नो भाग्य विदेशमा खोज्नु पर्ने नेपालीको नियति जगजाहेर छ । त्यसैले मैले यत्ति भने “भाई जहाँ रहे पनि रियाज गर्न नछाड्नु है ।” उनी खिसिक्क हाँसे ।

गीत रेकर्ड भइरहेको बेला कन्ट्रोल रुममा म उनको आवाज र गीतमा जब जब डुबें तब मैले आफूलाई उनको उमेरमा पुर्याएँछु । किशोरावस्थामा मैले पनि डि.बी.राई जस्तै संगीतमा पनि केही गरौं भनेर गायन सिकें संगीत सिकें र केही अभ्यास पनि गरें तर जब जागिरमा लागें यी सबै लुकेको रहर बनेर आफूमै सीमित रहे । कति लामो कालखण्ड पर्खे पछि मात्र गीतसंगीतमा फर्कन सकें म । यसरी फर्कन मलाई करिव तीनदशक जति लाग्यो । बा ! यिनको पनि नियति कतै मेरो जस्तो पो हुने हो कि भनेर मलाई सारै चिन्ता लाग्यो ।

म प्रतिभा चिन्न सक्ने तर केही गर्न नसक्ने लाचार रहेछु । जेहोस् अतीत ब्यँझाउने गीतको गहिराईभित्र पात्रहरू उनै गायक डि.बी. राई, संगीतकार प्रेम भट्टचन र रचनाकार म थियौं । यसरी कल्पनाको आकासमा डुल्दाडुल्दै जब गीत सकियो मलाई मीठो सपना बीचैमा टुटेको जस्तै नमीठो लाग्यो । खै कतिखेर आँखा भिजिसकेछन्, गला अबरुद्ध भैसकेछ मेरो । यसरी धेरै पछि फेरि म आफ्नै गीतमा रोएँ । …

गुलाफको थूँगाभित्र मायालुको वास्ना पाउँछु
उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरु गीत गाइ रुझुँ भन्छ
चञ्चले यी आँखाहरु कतै पुगी अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर
सपनीमा आउने माया विपनीमा आउने गर ।

शब्द रचना : नवराज सुब्बा (रचनाकाल २०३५ साल, जुनबेला गीतकारको उमेर १७ वर्ष) संगीत : प्रेम भट्टचन, स्वर : डि.बी. राई, (गीतकार स्वयम्को स्वरमा पनि यसअघि गीत रेकर्ड भैसकेको छ)

Similar Posts

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

    भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ ।…

  • मेरो जीवन यात्रा

    नवराज सुब्बा

    मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

Leave a Reply