समयसितै चिप्लिँदै गुड्ने
तिम्रो गाडी
भो मलाई चाहिएन
गति कतै पन्छाएर
हावामा उड्ने
तिम्रो जहाज पनि
भो ! मलाई चाहिएन,
मलाइ
कम्प्युटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
मलाइ त मेरो माटो
मेरो जङ्गल, मेरो बाँदर
अनि यिनै तरुलभ्यागुर नै
मीठो छ,
नच्याऊ मेरो नाङ्गोपन
ढाक्न नखोज रङ्गीन कपडाले
मैले छोप्नु छैन लाज
नचिथोर मलाई
र मेरो संसारलाई !
यत्तिकै छाडिदेऊ,
तिमी वा अरू कोही
बन्नुपरेको छैन मलाई
मलाई म नै रहन देऊ
मलाई ममै रम्न देऊ
बिन्ती मलाई नमास तिम्रा प्रेमले
सक्छौ भने बरु थप तिरस्कार
मेरो जङ्गल मलाई नै छाडिदेऊ
मलाई जङ्गलमै रम्न देऊ
तिमीले ठानेका मेरा दुःखमै
मलाई छाडिदेऊ
जसरी म अहिलेसम्म बाँचे
बिन्ती मलाई त्यसरी नै
हाँस्न र बाँच्न देऊ ।
(‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहबाट)