स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा

स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइ पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् । हाल स्थानीय सरकारको व्यवस्था भएको छ । जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालय नरहेको र सो कार्य समेत स्थानीय सरकार चलाउने व्यवस्था भएकाले यसबारे मूलभूत जानकारी र धारणा स्वरूप केही कोर्दैछु ।

सर्वप्रथम स्वास्थ्य र जनस्वास्थ्यको परिभाषा विचार गरौं । विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार कुनै व्यक्तिलाई रोग नलाग्नु मात्र स्वस्थ्य हुनु होइन, स्वस्थ्य हुनु भनेको शारीरिक, मानसिक र सामाजिक एमव् आत्मिक रूपले तन्दुरूस्त रहनु हो । यसरी यो परिभाषाले कुनै व्यक्तिको एउटा यस्तो अवस्थाको निर्धारण गरेको छ, जसमा जीवनका चारै आयामहरू जस्तै शरीर, मन, समाज र आत्माको तन्दुरूस्ती रहन्छ । परिभाषाले स्वास्थ्य भनेको कुनै साधनबाट एकपटक हासिल हुने वस्तु वा अवस्था नभएर यो दिगो अवस्था हासिल गर्न व्यक्तिको अनुकूल जीवनशैलीतर्फ संकेत गर्दछ । कुनै एक व्यक्तिको स्वास्थ्य निर्धारणमा परिवार र समाजको पनि असर र प्रभाव पर्दछ । जबसम्म परिवार र समाज वा देशको वातावरण स्वस्थ हुँदैन तबसम्म व्यक्तिको स्वस्थ्य अवस्था क्षणिक हुन जान्छ । यसैले स्वास्थ्य अवस्था कायम राख्न परिवार, समाज र राज्यको सामूहिक भूमिका अनिवार्य छ । यहि महत्तालाई ध्यान दिएर जनस्वास्थ्यको अवधारणा विकसित भएको हो ।

जनस्वास्थ्य भनेको त्यस्तो विज्ञान र कला हो जसले व्यक्ति र समुदाय, निजी र सरकारी, तथा समुदायलाई सुसूचित गराइ सामुहिक पहलद्वारा रोगको रोकथाम, स्वास्थ्यको प्रबद्र्धन गरि मानिसको आयु बढाउने पहल गरिन्छ, भनेर सि.इ.ए. विन्स्लोले जनस्वास्थ्यलाई परिभाषित गरेका छन् । प्रस्तुत परिभाषाले जनभावना, जनआकांक्षा र जनसहभागिता समेटेको छ । जनस्वास्थ्य सरकारको क्षमताबाहिर हुनसक्छ त्यसैले यसमा निजी वा गैरसरकारी संस्थाको भूमिका पनि चाहिन्छ भनेर परिभाषाले संकेत गरेको छ ।

माथिका दुई परिभाषालाई दिमागमा विम्बको रूपमा स्थापित गर्न म एउटा उदाहरण पहिले राख्दैछु । स्वास्थ्य स्थिति भनेको रोग नलागेको सप्रेको बाली हो भनेर हामी एकछिनलाई बुझौं । यदि बालीमा रोग लागेमा किटनाशक विषादी छर्नु भनेको उपचारात्मक सेवा अर्थात् स्वास्थ्य सेवा हो । बालीलाई पशुपंक्षीबाट जोगाउन गरिने घेराबारा भनेको रोगबाट बचाउने प्रतिकारात्मक सेवा जस्तै हो । यसैगरि बालीबाट राम्रो उत्पादन लिन हालिने मल, गोडमेल भनेको स्वास्थ्य प्रबर्धन अर्थात् प्रबर्धनात्मक स्वास्थ्य सेवा जस्तै हो । माथि विषादी छिट्काउ गरेर किरा मार्नुलाई स्वास्थ्यको उपचारात्म सेवासित तुलना गर्न सकिन्छ । यसैगरि पशुबाट बचाउन घेराबारा गरे जस्तै रोगबाट बचाउने कार्यलाई स्वास्थ्यमा प्रतिकारात्मक सेवा भनिन्छ । र बालीलाई मलजल वा गोडमेल गरेजस्तै स्वास्थ्यमा प्रबर्धन गरिने कार्य वा सेवालाई प्रबर्धनात्मक सेवा भनिन्छ । विरामी पर्दा गरिने उपचार सेवा स्वास्थ्य सेवामा पर्दछ । रोग नलागिकन रोगबाट बच्ने उपाय गर्नु वा स्वास्थ्य मजबूत बनाउने पहल गर्नु क्रमसः प्रतिकारात्मक र प्रबर्धनात्मक स्वास्थ्य सेवा हुन् । यसैले स्वास्थ्य भनेको बढी उपचारात्मक सेवामा केन्द्रीत हुने सेवा हो भने जनस्वास्थ्य भनेको उपचारात्मक लगायत प्रतिकारात्मक र प्रबर्धनात्मक सेवामा ध्यान दिने सेवा हो ।

यसमा थप के के भिन्नता छन् नियालौं । स्वास्थ्यले विरामी व्यक्तिलाई उपचार गर्दछ । तर जनस्वास्थ्यले मानिस विरामी नहुँदै भविश्यमा हुने खतरालाई पूर्वानुमान गरेर रोकथामका उपाय गर्दछ । स्वास्थ्यले विरामी मानिसको रोग पत्ता लगाउन विरामीको नाडी छाम्छ, मुटुको चाल सुन्छ, आवश्यक परे दिसापिसाव पनि जाँच्दछ । जनस्वास्थ्यले समुदायमा के कस्तो स्वास्थ्य समस्या छ भनेर सूचना वा तथ्यांक अध्ययन गर्दछ, प्रतिवेदन हेर्दछ र अध्ययन र अनुसंन्धान गर्दछ । स्वास्थ्यको कार्यक्षेत्र भनेको अस्पताल भित्र हुन्छ । जति पनि परिक्षण र उपचार सबै अस्पतालभित्र गरिन्छन् । तर जनस्वास्थ्यको कार्यक्षेत्र भनेको अस्पताल लगायत समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र चलनसमेत पर्दछ । स्वास्थ्य हासिल गर्नलाई व्यक्ति स्वयम् वा परिवारले पहल गर्दछ । तर जनस्वास्थ्य हासिल गर्न व्यक्ति, समाज र राज्यको सामूहिक पहल अपरिहार्य पर्दछ । यति मात्रले नपुगेर निजीक्षेत्र वा गैरसरकारी क्षेत्रको भूमिका पनि आवश्यक पर्दछ ।
धेरै मानिसहरू परिवार नियोजन र स्वास्थ्यको अन्तरसम्बन्ध नबुझेर यदाकदा अल्मलिन्छन् । उदाहरणको लागि भारतमा हालै गएको बाढीमा राहत सामग्रीमा परिवार नियोजनको साधन पनि पठाएको भनेर आमसञ्चारले कटु आलोचना गरे । तर जनस्वास्थ्यको दृष्टिले विस्थापितलाई चाहिने अत्यावश्यक सेवा मध्येको एक सेवा परिवार नियोजन सेवा पनि हो । एक अध्ययनमा मोरङको एक गाउँमा एकजना किशोरीले अनिच्छित गर्वाधान भएपछि केटाले विवाह गर्न अश्विकार गर्दा आत्महत्या गरिन् । त्यसलाई यौन शिक्षा वा परिवार नियोजनको साधनको ज्ञान र उपलब्धता भएको भए जोगाउन सकिन्थ्यो । आज पनि धेरै आमाहरूले अनिच्छित गर्वाधानबाट सन्तान पाउँछिन् । आमाको त्यो गर्भ यदि तेस्रो वा सोपछिको गर्भ हो भने ती आमाको मातृमृत्यु हुने सम्भावना वा दर उच्च हुन्छ । नेपालमा मातृमृत्यु हुने कारणहरू मध्ये प्रमुख कारण यही हो । यसलाई पनि हामीले परिवार नियोजनको ज्ञान र उपलब्धताले हटाउन सकिन्थ्यो । व्यवहारमा परिवार नियोजनको ज्ञान पनि छ तर परिवार नियोजनको साधन भनेको बेला नपाएर अनिच्छित गर्भाधान भएको धेरै अध्ययनहरूले बताएका छन् । यही सिकाइको आधारमा भारतको बाढीबाट विस्थापितमा पनि अनिच्छित गर्वाधान रोक्नलाई गरिएको त्यो एउटा आवश्यक र सकारात्मक प्रयास थियो न कि कुनै भद्दा मजाक । जनस्वास्थ्यको यहि मर्मलाई नबुझेर आमसंचारले उद्धारमा संलग्नको नकारात्मक टिप्पणी ग¥यो ।

हाल सरकारले जनतालाई स्वास्थ्य बीमा कार्यक्रमलाई जनस्वास्थ्य सेवाको रूपमा प्रचार–प्रसार गरेको पाइन्छ । स्वास्थ्य बीमा भनेको विरामी भएको बेलामा उपचार गर्दा लाग्ने खर्चको एउटा व्यवस्थापन कार्य मात्र हो । यो नै स्वयम् स्वास्थ्य वा जनस्वास्थ्य सेवा होइन । स्वास्थ्य सेवाको यो एउटा सहयोगी कार्यक्रम मात्र हो । जसरी स्वास्थ्य प्रणालीमा औषधी आपूर्ती कार्यक्रम, सूचना व्यवस्थापन कार्यक्रम विद्यमान छन्, यो पनि त्यस्तै एउटा सहयोगी कार्यक्रम मात्र हो । यसले त अझ मानिसलाई स्वास्थ्य भनेको किनेर पाइने वस्तु हो भन्ने सोंचतिर लगेको छ । यो अवधारणा जनस्वास्थ्यको मूलभूत मूल्य र मान्यतासित पूर्ण रूपले मेल खाँदैन । किनभने यसले उपचारात्मक सेवालाई मात्र सम्बोधन गरेको छ । प्रतिकारात्मक सेवा र प्रबर्धनात्मक सेवालाई यसले चिन्दैन । हुन त हालसम्म यी सेवाहरू सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको छ । भोलि यदि स्वास्थ्य सेवा भनेको उपचार सेवा मात्र हो जुन बीमाबाट हासिल गर्न सकिन्छ भन्ने भ्रम नीतिनिर्मातामा पर्न गयो भने यसले प्रतिकारात्मक र प्रबर्धनात्मक सेवामा ध्यान नपुग्न सक्छ । फलस्वरूप कालान्तरमा उपचारात्मक सेवा समेत अस्तव्यस्त हुनपुग्छ । हामीले हासिल गरेको बालमृत्युदर, मातृमृत्युदरमा आएको कमी र सरदर आयुदरमा भएको बृद्धि पुनः उल्टिनेछ ।
एउटा आहान छ रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । अर्को एउटा भनाइ पनि छ कुनै एक सर्टमा समयमा एउटा टाँक सिलायौ भने भविश्यमा नौवटा टाँक सिलाउनु पर्दैन । यही सिद्धान्तमा जनस्वास्थ्य अवधारणा र कार्यक्रम आधारित हुन्छ । बालबालिकालाई भविष्यमा घातक रोगहरूबाट बचाउन खोप लगाइन्छ । किशोरकिशोरीमा दुव्र्यशनमा फसेर जीवन वर्बाद नहोस्, अनिच्छित गर्वाधान नहोस् भनेर परामर्श सेवा दिइन्छ, विद्यालय स्वास्थ्य कार्यक्रम चलाइन्छ । महिलालाई बीसवर्ष पछि मात्र गर्भवती हुनुपर्दछ, बच्चाबीच कमसेकम तीनवर्षको अन्तराल हुनु पर्दछ भनेर परिवार नियोजनको ज्ञान दिएर मातृमृत्यु घटाइन्छ । यो शिक्षा एक साल दिएर पुग्दैन । जसरी विद्यालयको शिक्षा निरन्तर प्रक्रिया हो त्यस्तै स्वास्थ्यशिक्षा पनि विद्यालयहरूमा नियमित रूपमा चलिरहनु पर्दछ ।

औलो, क्षयरोग तथा अन्य सरूवारोगहरूबाट बच्ने उपायहरूबारे जनचेतना फैलाउने काम पनि जनस्वास्थ्यको कार्यक्षेत्रमा पर्दछ । यसको लागि सरकारी, गैरसरकारी निकायहरू, विद्यालय, आमा समूह, बालसमूह समूहहरूको भूमिका र समन्वय जरूरी पर्दछ । किनभने व्यक्तिको स्वास्थ्य केही समयलाई हासिल गर्न औषधीले सम्भव होला तर परिवार वा समुदायको स्वास्थ्य दिगो रूपमा तन्दुरूस्त राख्न समुदाय स्वयम् जागरूक हुनु पर्दछ । यत्तिले पनि पुग्दैन समुदायको स्वास्थ्य तन्दुरूस्त राख्न स्वास्थ्य क्षेत्रले मात्र प्रयास गरेर पुग्दैन यसमा खानेपानी तथा सरसफाइमा संलग्न निकायको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । कृषि क्षेत्रले पनि खाद्यवस्तुको उत्पादन नगरे स्वास्थ्यस्थिति सामान्य राख्न असम्भव नै हुन्छ । उद्योग कलकारखानामा कामगर्ने स्थल स्वच्छ नरहे मजदुरको स्वास्थ्यस्थिति सामान्य रहन सक्दैन ।

माथि उल्लेख गरिएका सेवाहरू मध्ये विरामीलाई दिइने उपचार सेवा, प्रसूति सेवा तथा महामारी नियन्त्रण जस्ता सेवाहरू मानिस विरामी परेको बेलामा दिइने उपचारात्माक सेवा हुन् । खोप सेवा, आइरन चक्की, भिटामिन ए वितरण, परिवार नियोजन जस्ता सेवाहरू रोग लाग्नबाट बचाउने स्वस्थ मानिससलाई दिइने प्रतिकारात्मक सेवा हुन् । प्रतिकात्माक सेवाले रोगबाट मानिसलाई बचाउँछ । यसैगरि परामर्श सेवा, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, वातावरणीय सरसफाइ जस्ता सेवाहरू मानव स्वास्थ्यलाई अझ राम्रो बनाउने प्रबर्धनात्मक सेवा अन्तर्गत पर्दछन् । मानव स्वास्थ्यलाई तन्दुरूस्त राख्न रोग लाग्दा उपचार गरेर अर्थात् उपचारात्मक सेवा मात्र दिएर पुग्दैन, मानिस र समुदाय सदा तन्दुरूस्त रहनलाई समुदायमा प्रतिकारात्मक र प्रबर्धनात्मक सेवा र अभियानहरूको पनि उत्तिकै जरूरी पर्दछ ।

जनस्वास्थ्य बहुआयामिक छ । यसैले यसलाई विज्ञान मात्र नभनेर कला पनि भनिएको हो । जनस्वास्थ्यको व्यवहारिक अनुवाद एउटा कुशल व्यवस्थापनले मात्र सम्भव हुन्छ । एउटा अस्पतालको व्यवस्थापन जस्तो होइन जनस्वास्थ्यको व्यवस्थापनमा सामाजिक नेतृत्व गर्ने क्षमता आवश्यक पर्दछ । जनस्वास्थ्यकर्मी एउटा प्राविधिक मात्र हैन, शिक्षक पनि हो, अनुसन्धाता हो, समन्वयकर्ता हो र एउटा सामाजिक नेता पनि हो । प्राविधिक ज्ञान मात्र पर्याप्त छैन, शीप र शैलीको पनि जनस्वास्थ्यमा महत्व छ । बैज्ञानिक प्रविधि र ज्ञानलाई समुदायमा पु¥याउन एक्लै सम्भव छैन, यसको लागि विभिन्न साझेदारहरूसित सहभागिता जुटाएर समन्वय कायम राख्न कलात्मक सोंच र सिर्जनशीलताको खाँचो पर्दछ । यी सबै कुरा सम्पन्न गर्न एउटा कारिन्दाको रूपमा कुनै जनप्रतिनिधि वा प्रशासकीय अधिकृतले लाए अर्हाएको काम पूरा गरेर वा उनीहरूकै वरिपरि घुमेर चाकरी गरेर कदापि पूरा हुन सक्दैन । त्यसको लागि स्वास्थ्य संस्था प्रमुखलाई जनस्वास्थ्य क्षेत्रको लक्ष्य, योजना र कार्यक्रमसहित जिम्मेवार बनाउनु पर्दछ । जिम्मेवारी र कर्तव्य मात्र दिएर पुग्दैन स्वतन्त्र र अधिकारसम्पन्न पनि बनाउनु पर्दछ । आवश्यक शिक्षा र तालिमको पनि व्यवस्था गर्नु पर्दछ । शैक्षिक रूपले दक्ष जनस्वास्थ्यकर्मीबाट मात्र यी सबै सम्भव हुन्छन् ।

संसारमा साधन स्रोत अधिक भएको कहीं पनि सुनिदैन । आफूसित जे जति छ वा जे सम्भव छ त्यसलाई नै अधिकतम् सदुपयोग गर्नु कुशल व्यवस्थापन हो । उपलब्ध परिधिमा रहेर आफ्नो क्षेत्रको वस्तुस्थितिको विश्लेषण, समस्या पहिचान, योजना तर्जूमा, कार्यान्वयन र मूल्याङ्कन गर्दै अघि बढ्न सकिन्छ । राष्ट्रियस्तरका विद्यमान स्वास्थ्य नीति र कार्यक्रमलाई स्थानीय तहले मार्गनिर्देशक सिद्धान्तको रूपमा लिनुपर्दछ । उपलब्ध साधन स्रोतलाई अधिकतम सदुपयोग गर्दै सेवालाई लक्षित समूहलाई कसरी पु¥याउने यसमा ध्यान दिन जरूरी हुन्छ । लक्षित समूहको परिभाषा सुदृढ गर्न सकिन्छ । राष्ट्रिय स्तरबाटै बालबालिका, महिला, किशोरकिशोरी, विभिन्न सरूवा रोगी, नसर्ने रोगी, दीर्घरोगी, बृद्ध जस्ता जीवनचक्र समेट्नु पर्ने नीतिगत निर्देशन छ । त्यत्तिमात्र नभएर अत्यन्त विपन्न, सीमान्तकृत, आदिवासी जनजाति, दलितलाई पनि समेट्न विशेष आग्रह गरिएको अवस्था छ । यसैले आफ्नो कार्यक्षेत्रको नक्शाङ्कन गर्दा तिनलाई नछुटाइ योजना बनाएर स्थानीय सरकारले आफ्ना जनतालाई सामाजिक न्याय प्रदान गर्न सक्दछ ।

अन्तमा, हाम्रो समुदायमा करिव पाँच–दश प्रतिशत सीमान्तकृत अर्थात् अत्यन्त बिपन्न अवस्थाका मानिस छन्, जसलाई हामी सबैको सहयोग जरूरी छ । तिनको पहिचान गरेर तिनलाई विशेष न्याय दिन यदाकदा स्थानिय सरकारहरूले सोचेर कदम चालेको देखिन्छ । तिनीहरूलाई पहिचान दिने स्थानीय सरकारको चलाएको उक्त अभियानमा सबैले सकारात्मक सहयोग गर्नुपर्दछ । सीमान्तकृत समूहको भाग खोस्न हुनेखाने र सक्षमवर्ग अघि सरेर तिनको सही पहिचान गर्ने कार्य अबरूद्ध भएमा सामाजिक न्याय अल्मलिन्छ । यसबाट राज्यले परिकल्पना गरेको समतामूलक स्वास्थ्यसेवा लगायतको सामाजिक न्याय बिटुलिन्छ । फलस्वरूप, देशको शान्ति खल्बलिन्छ, हाम्रो लोकतन्त्र र सामाजिक व्यवस्था सदा धरापमा परिरहन्छ ।

Similar Posts

  • सहिद सत्ता र स्वार्थ विरुद्ध

    डा. नवराज सुब्बा॥ आज हामीले उपभोग गरेका स्वतन्त्रता, नागरिक हक र अधिकार त्यसै पाएका होइनौं । विभिन्न बन्धनबाट मुक्ति पाउन, मानव अधिकार स्थापित गर्नका लागि विश्वका जनता हिजो निरङ्कुश शासनविरुद्ध लडेका थिए । कालखण्डमा मानवोचित अधिकार प्राप्तिको लागि भएका अभियानमा धेरै मानिस सहिद भएका छन् । वीर मानिस मात्र देशको प्राकृतिक, सामाजिक, सांस्कृतिक उन्नयन खातिर…

  • |

    आठराई हाङपाङमा गणेशबहादुर राई

    डा. नवराज सुब्बा गाउँको पृष्ठभूमि  ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको…

  • आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

    संस्मरण – डा. नवराज सुब्बा श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ…

  • |

    A Sample of the Literary Writers and Artists Market.

    Dr. Nawa Raj Subba. Artistic writing is called literature or creation. In literature, there is not only objective writing but also thematic imagination. Not all literature is thought or written. Sadhana or dedication is also needed for that. It is not enough to do sadhana; there should also be meaningful work. I believe creation should…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

  • हारमोनियमको नशा (संस्मरण)

    हाल शनिश्चरे मोरङमा बसोबास गर्ने श्री ओमनाथ उप्रेती मेरा बाल्यकाल विद्यालयका सहपाठी हुन् जोसित धेरै वर्षपछि आज भेट भयो । ताप्लेजुङ जिल्लाको श्री सरस्वती माद्यमिक विद्यालय हाङपाङमा पढ्दा उनी मेरा एकजना रमाइला मित्र थिए । आज कामविशेषले विराटनगर आएको बेलामा फूर्सद मिलाएर भेटघाट गरि पुराना कुरा याद गर्दै मित्रता ताजा बनाउन उनी मेरो अफिसमा पसे…