लेखकको जन्मदिन

लेखकको जन्मदिन

डा. नवराज सुब्बा

आजकल जन्मदिन आउँदा म उति उत्साहित हुँदिनँ। बरु अलिकति नीरस तर गम्भीर हुन्छु। किनभने जन्मदिनले अब केकभन्दा बढी जीवनको हिसाब किताब सम्झाउँछ।

पहिले जन्मदिन नमनाए पनि उमेर बढिरहेकै थियो। कसैले शुभकामना दिए पनि ठीकै, नदिए पनि ठीकै लाग्थ्यो। दिन बित्थ्यो, वर्ष बित्थ्यो। आफूलाई कति वर्ष पुगेछ भनेर सोच्ने फुर्सद पनि सारै थिएन। दिनरात काम थियो, दौडधुप थियो, लेखन थियो, परिवार थियो, जिम्मेवारी थियो। समयलाई पछाडि फर्केर हेर्ने बानी सारै थिएन।

अहिले भने अवस्था अलि फरक छ।

जन्मदिन आउनुभन्दा अगाडि नै मनले हिसाब गर्न थाल्छ। यसपालि कति पुगियो? अघिल्लो वर्ष के गरियो? अर्को वर्षसम्म के गर्न सकिएला?

त्यसो त उमेर बढ्नु कुनै नयाँ घटना होइन। जन्मिएको दिनदेखि यही काम निरन्तर भइरहेछ। तर सानो हुँदा उमेर बढ्नु उपलब्धि जस्तो लाग्थ्यो। दस वर्ष पुगेँ, पन्ध्र पुगेँ, बीस पुगेँ। प्रत्येक संख्या अगाडि बढ्दा आफू ठूलो भएको गर्व हुन्थ्यो। पचास कटेपछि जोबन गयो जस्तो लाग्यो र साठी काटेपछि भने जीवन गयो कि क्या हो जस्तो लागिरहेछ। सत्तरी पुगुन्जेल यत्ति त गरिन्छ होला कि जस्तो आशा जाग्छ। यसरी मृगतृष्णा जीवन गुजार्दैछु।

त्यसैले होला  अब संख्या बढ्दा गर्वभन्दा बढी सोच आउँछ।

कति अगाडि आइयो होइन, कति बाटो बाँकी होला भन्ने लाग्छ।

जन्मदिनमा शुभकामना पनि धेरै आउँछन्। मोबाइल बज्न थाल्छ। सामाजिक सञ्जालमा शुभकामना आउँछ। कसैले दीर्घायुको कामना गर्छन्। कसैले अझ धेरै पुस्तक लेख्नुहोस् भन्छन्। कसैले स्वास्थ्यको कामना गर्छन् भने कसैले “सधैँ यस्तै सक्रिय रहनुहोस्” भन्छन्।

त्यो सन्देश पढ्दा मन खुसी हुन्छ।

तर भित्र कतै एउटा सानो आवाज पनि आउँछ, “यिनीहरूले त अझै धेरै काम गर पो भन्न थाले!”

उमेरले शरीरलाई आराम गर्न सिकाउँदै छ, शुभचिन्तकहरूले अझ धेरै सिर्जना गर्न आग्रह गरिरहेका छन्। लेखकको समस्या यही हो। चुनौति र जिम्मेवारी पनि हो। 

शरीर र पाठकबीच कहिलेकाहीँ सहमति हुँदैन।

शरीर भन्छ, “आज अलि आराम गर।”

मन भन्छ, “यो एउटा अनुच्छेद लेखेर मात्र सुतौँ।”

त्यो एउटा अनुच्छेद कहिलेकाहीँ पाँच पृष्ठ पुग्छ।

अनुसन्धानकर्ताको अवस्था झन् अप्ठेरो हुन्छ। उसले एउटा प्रश्नको उत्तर खोज्न थाल्यो भने त्यसबाट तीनवटा नयाँ प्रश्न जन्मिन्छन्। एउटा पुरानो दस्तावेज भेटियो भने अर्को दस्तावेज कहाँ होला भन्ने चिन्ता सुरु हुन्छ। एउटा तथ्य स्पष्ट भयो भने अर्को तथ्य शंकास्पद देखिन्छ।

यसरी अनुसन्धानले मानिसलाई जवान राख्छ कि बूढो बनाउँछ, म अझै निश्चित हुन सकेको छैन।

सायद दुवै गर्छ।

शरीर बूढो हुन्छ, जिज्ञासा जवान रहन्छ।

लेखकको उत्तरार्धको जीवनको सबैभन्दा अनौठो पक्ष पनि यही हो। शरीरले समयको सीमा बुझ्न थाल्छ। तर मनले अझै धेरै काम बाँकी देख्छ।

कहिलेकाहीँ आफ्ना पुराना किताबहरू हेर्छु। कुनै किताब पल्टाउँदा आफ्नै पुरानो स्वर सुनिन्छ। कतै धेरै आत्मविश्वास देखिन्छ। कतै बढी जोश। कतै अलि अपरिपक्व निष्कर्ष पनि भेटिन्छ।

त्यो पढ्दा आफैँसँग हाँसो उठ्छ।

“यो पनि मैले नै लेखेको रहेछु!”

तर फेरि लाग्छ, त्यो समयको म त्यही थिएँ। आजको म अर्कै छु। भोलिको म अझ अर्कै हुनेछु।

त्यसैले पुस्तकहरू केवल पुस्तक होइनन्। ती लेखकका उमेरजन्य सजीव फोटो हुन्।

कतै तीस वर्षको सोच छ। कतै चालीस वर्षको। कतै पचास वर्षको। कतै जीवनले अलि धेरै सिकाइसकेको उमेरको भाषा र भाव छ।

लेखक बूढो हुँदै जान्छ, तर उसका पुराना उमेर पुस्तकमा सुरक्षित बसिरहन्छन्।

यो कुरा सम्झँदा जन्मदिन अलि रमाइलो पनि लाग्छ।

मानिसको अनुहार पुरानो हुँदै जान्छ, जस्तो मेरो अनुहारको चाउरी छ, तर बीस वर्षअघि लेखेको कविता भने अझै जवान रहन सक्छ। शरीरको चाल सुस्त हुन्छ, तर शब्द संसारभरि हिँड्न सक्छ।

सायद यही भावभङ्गिमा लेखकको सानो सान्त्वना हो।

अहिले जन्मदिन मलाई उत्सवभन्दा बढी विश्रामस्थल जस्तो लाग्छ। लामो बाटो हिँड्दा चौतारोमा बसेर पछाडि फर्केर हेरेजस्तो।

कति बाटो हिँडियो?

कति मानिस भेटिए?

कति साथी छुटे?

कति कुरा लेखिए?

कति कुरा अझै लेख्न बाँकी छन्?

यस्ता प्रश्न आफैँसँग सोध्ने दिन हो जन्मदिन।

अब उमेर लुकाउनु पनि खासै अर्थपूर्ण लाग्दैन। उमेर बताउँदा पनि केही विशेष गौरव लाग्दैन। उमेर त वर्षको हिसाब हो। तर त्यो संख्याभित्र धेरै कुरा लुकेका हुन्छन्।

अनुभव हुन्छ।

थकान हुन्छ।

गल्ती हुन्छ।

सफलता हुन्छ।

विछोड हुन्छ।

साथ हुन्छ।

केही पछुतो हुन्छ।

र केही अधुरा सपना पनि हुन्छन्।

जीवनको उत्तरार्धमा आउँदा एउटा कुरा भने बिस्तारै स्पष्ट हुँदो रहेछ। सबै कुरा पूरा गरेर जान सकिँदैन।

पहिले लाग्थ्यो, समय धेरै छ।

अब लाग्छ, समयभन्दा काम धेरै छ।

त्यसैले छनोट गर्नुपर्ने हुन्छ।

कुन लेख पूरा गर्ने?

कुन पुस्तक सम्पादन गर्ने?

कुन दस्तावेज सुरक्षित राख्ने?

कुन विचार भविष्यका लागि टिपोट गरेर छाड्ने?

कुन कुरा अब छाडिदिने?

यो निर्णय पनि सजिलो हुँदैन।

लेखकलाई आफ्ना सबै अधुरा काम प्रिय लाग्छन्।

तर समय सबैप्रति समान दयालु हुँदैन।

त्यसैले आजभोलि जन्मदिनमा मेरो एउटा सानो संकल्प हुन्छ।

अर्को जन्मदिनसम्म एउटा अर्थपूर्ण काम पूरा गरौँ।

धेरै होइन।

एउटा।

एउटा राम्रो पुस्तक।

एउटा महत्त्वपूर्ण अनुसन्धान।

एउटा पुरानो दस्तावेजको संरक्षण।

वा एउटा यस्तो लेख, जसले आफूपछि पनि कुनै पाठकलाई केही सोच्न बाध्य बनाओस्।

सायद अब यही नै जन्मदिन मनाउनु हो।

केक काटेर होइन।

कामको एउटा गाँठो फुकाएर।

मैनबत्ती निभाएर होइन।

एउटा सानो उज्यालो थपेर।

आज शुभकामना दिने सबैलाई धन्यवाद भन्न मन लाग्छ। शुभकामनाले जीवन कति लम्ब्याउँछ, त्यो विज्ञानले बताउला। तर त्यसले मनलाई भने निश्चय नै न्यानो बनाउँछ।

कसैले सम्झेको रहेछ।

कसैले पढेको रहेछ।

कसैले अझै लेखिरहनुहोस् भनेको रहेछ।

यति थाहा पाउनु पनि ठूलो कुरा हो।

तर जन्मदिनको साँझ जब सबै शुभकामनाहरू शान्त हुन्छन्, फोन पनि अलि चुप लाग्छ, त्यो बेला आफू एक्लै बसेर सोचिन्छ।

अर्को जन्मदिन आउँदासम्म के गरौँला?

कति लेखौँला?

कति पढौँला?

कति अधुरा कुरा पूरा गर्न सकौँला?

अन्ततः लेखकको उमेरको हिसाब पनि शायद वर्षले होइन, शब्दले हुन्छ।

उसले कति वर्ष बाँचेको थियो भन्ने कुरा कुनै अभिलेखमा लेखिएला।

तर उसले कति विचार छाडेर गयो, कति प्रश्न उठाएर गयो, कति अनुभव बाँडेर गयो, त्यो कुरा पाठकले सम्झेला।

त्यसैले अहिले मलाई जन्मदिनसँग त्यति डर पनि लाग्दैन।

यो केवल बुढो हुँदै गएको प्रमाण होइन।

यो अझै समय बाँकी छ भन्ने सूचना पनि हो।

र जबसम्म समय बाँकी छ, लेखकका लागि एउटा काम बाँकी नै रहन्छ।

लेख्नु।

सम्झनु।

प्रश्न गर्नु।

र सकेसम्म केही अर्थपूर्ण कुरा छाडेर जानु।

Similar Posts

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • आदिवासी खण्डकाव्य “ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा

    – विक्रम सुब्बा पृष्ठभूमि “ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा” खण्डकाव्यको सुरुवात ब्रह्माण्डको शून्यबाट हुन्छ। त्यहाँ न समय छ, न प्रकाश, न ध्वनि केवल मौन र शून्यता मात्र छ। त्यस मौनताबाट पहिलो स्पन्दन उत्पन्न हुन्छ, जसले सृष्टिको सुरुवात गर्छ। यही स्पन्दनबाट आकाश, पृथ्वी, जल, अग्नि र वायु जन्मिन्छन्। यी तत्वहरू केवल भौतिक वस्तु होइनन्, बरु जीवन र चेतनाका…

  • |

    सेन किरात र थारू सम्बन्ध

    सेन, किरात र थारू सम्बन्ध: भाषा फेरिए पनि बाँकी रहने पुर्ख्यौली इतिहास नवराज सुब्बा सारांश यस लेखमा सेनकालीन स्यामोहर, थारूको उत्पत्तिसम्बन्धी अध्ययन, किरात मुन्धुम र लिम्बू वंशावलीको तुलनात्मक समीक्षा गरिएको छ। अध्ययनको उद्देश्य सेनहरूको उत्पत्ति र स्थानीय विकास, किरात नेतृत्वसँगको सम्बन्ध तथा थारू भाषिक उपस्थितिको ऐतिहासिक अर्थ स्पष्ट पार्नु हो। उपलब्ध लिखत, प्रकाशित अनुसन्धान र…

  • |

    ग्रेटर लुम्बिनीबाट लिम्बुवान

    📖 ग्रेटर लुम्बिनीबाट लिम्बुवानको जीवित ऐतिहासिक भूगोलतर्फ ग्रेटर लुम्बिनीको अवधारणाले इतिहास र सम्पदालाई एउटा पुरातात्त्विक स्थलमा सीमित गरेर हेर्दैन। लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम र पण्डितपुरजस्ता स्थल ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धबाट जोडिएका छन्। UNESCO ले यसै कारण ग्रेटर लुम्बिनी क्षेत्रलाई जीवित पवित्र स्थल अर्थात् living sacred landscape का रूपमा हेरेको छ। सेप्टेम्बर २०२६ को अन्तर्राष्ट्रिय…

  • |

    मुन्धुमी सौन्दर्यबोध

    मुन्धुमी सौन्दर्यबोध: किरात जीवन-दर्शन र काव्यिक चेतना डा. नवराज सुब्बा मुन्धुमी सौन्दर्यबोध: आदिम लय र आधुनिक चेतनाको महासङ्गम ‘मुन्धुमी सौन्दर्यबोध’ किरात सभ्यताको आदिम ध्वनि र आधुनिक चिन्तनको एउटा अनुपम दार्शनिक दस्तावेज हो। मुन्धुम केवल मन्त्र र ऋचाहरूको सङ्ग्रह मात्र होइन; यो त जीवन, प्रकृति र ब्रह्माण्डलाई हेर्ने एउटा अगाध ‘सौन्दर्यशास्त्रीय दृष्टि’ र शाश्वत जीवन-पद्धति हो।…