(A Poem)
(कविता)
कोरोनाले गलेको मन
– नवराज सुब्बा
हेर्छु चारैतिर
घाम लागेकै छ,
वादल नाचेकै छ
धरतीमा अन्नबाली,
फूलबारीमा फूल फुलेकै छन्
सदा झैं चराहरु आकासमा उडेकै छन्
पानी परेकै छ
बाढी आएकै छ, पहिरो गएकै छ
तर बिना खबर यसपालि आएको
कोरोनाको कहर
आजकल समुन्द्र भएको छ
मानिसको जीवनमा
छाती छातीमा उर्लेको छन्
सन्त्रासका अनगिन्ति छालहरु
लहरमा उनिएका लासहरुलाई
अन्तिम दर्शनको प्रतिक्षामा
आँखाका डिलमा उभेर
सुसाउँछु निस्वास बनेर
यसरी घोसे मुन्टो लाउँदै
फेसबुकमा आफन्तका फोटामा
श्रद्धाञ्जली पोष्ट गर्ने
दुःखी मन बनेको छु
हो मान्छेको मन आजकल
कोरोनाले छरेको अविश्वासमा
कोरोनाले उब्जाएको अन्धविश्वासमा
लपक्कै भिजेर माटो झैं गलेको छ
यसपालि त बाँच्न पाए हुन्थ्यो भन्ने कत्ति होलान्
यसैबेला जान पाए हुन्थ्यो भन्ने पनि होलान्
तर मान्छेको जीजीविषा
झरी नभनी घाम नभनी
सडकमा छट्पटाउँछन् यताउता
लकडाउनको डण्डा सहँदै खाली पेटहरु
छट्पटिन्छन् झुपडी देहात वस्तीमा
यतिबेला म झ्यालबाट
केवल चियाउने भएको छु
एक्लै टोलाउने भएको छु
ढोकाबाहिर निस्कन नसक्ने गरी
पक्षाघातले थलिएको छु
तर
यो मन भने
तिमीसंगै छ प्रिय !
सधैं सधैं तिमीसंगै छ
सरकारले कहिले जहाज पठाउला र
स्वदेश आउँला भनेर
म दिन गन्दै बसेको छु परदेशमा
मर्नै परे पनि
आफ्नै देश टेक्न पाउँ
आफन्तका अनुहार देख्न पाउँ
बचेको दुई थोपा आँसु
जन्मेको माटोमा खसाउन पाउँ
अनि मलाई झर्ने आँशुको
न्यानोपन महसूस गर्न पाउँ !