कविता लेख्न बस्दा
कविता
— डा. नवराज सुब्बा
म सधैं कवि हुँदिन—
कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,
जसको झोलामा चिठीहरू छन्
तर ठेगाना भने मेटिइसकेको छ।
म जब शब्दहरू टिप्छु,
ती अक्षर हुँदैनन्—
खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,
जहाँ हावा र खोलाको सललको संगीतले
आफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ।
चौतारीमा बसेको त्यो समय
अहिले पनि मभित्र जिउँदै छ—
हावाले पातहरूलाई सम्झाउँदै
मलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,
र म सोच्छु,
यो गफ हो कि प्रार्थना,
कि कुनै अधुरो कविताको धड्कन।
म जब मन परेका कुरा लेख्छु,
मेरो मन यति हलुका हुँन्छ कि—
यो त बादलजस्तै बन्छ,
जसले आफ्नो बोझ बिर्सेर
आकाशको टाढा-टाढा कुनासम्म
तिमीलाई खोज्न निस्कन्छ।
तर, मायालु,
यता यो समय एक निर्दयी पाठक हो—
यसले सबैभन्दा प्रिय कविताहरूलाई पनि
पानामा अलपत्र छोडिदिन्छ।
अब त शब्दहरू
अलि बढी एक्ला लाग्न थालेका छन्,
जस्तो न्याउलीको स्वर,
जसलाई सुन्ने कानहरू
सुदूर पहाड र खोला पारि छुटिइसकेका छन्।
म लेखिरहन्छु—
तर हरेक पंक्तिको अन्त्यमा
एउटा मौनता टाँसिएको हुन्छ,
जसले भन्छ:
“तिमी पढ्ने आँखा अब
यो संसारको पृष्ठमा छैनन्।”
र त्यसपछि
म आफ्नो कवितालाई आफैंले मोडेर
हावामा उडाइदिन्छु—
सायद,
कुनै अज्ञात पहाड र खोलामा
तिमी अझै पनि
मेरो अक्षरहरू पर्खिरहेकी छौ।
#कविताप्रेमी #कवि
