खण्डकाव्य ओ रिल्लो प्रकाशित

खण्डकाव्य संवादमा सहजकर्ता बन्दै नवराज सुब्बा

-भूषण ढुङ्गेल

पृष्ठभूमि

साहित्यको सम्बन्ध मानवजातिसँग रहेको छ। त्यसैले मान्छेसँग सम्बन्धित कुनै पनि विषय वा क्षेत्र साहित्यबाट दूर रहन सक्दैन । समाज, संस्कृति अथवा लोकजीवनका विविध आयामहरू साहित्यका विषयवस्तु हुन सक्दछन् । साहित्यको प्राचीनतम वा सर्वप्रिय विधाका रूपमा परिचित काव्यविधाले त झन् विशेष स्थान बनाएको छ। त्यसैकारण काव्यमा विभिन्न विषयहरू समेटिंदै आएको देखिन्छ । डा. नवराज सुब्बाद्वारा रचित एउटा नूतन काव्यकृति हाम्रासामु उपहारस्वरूप देखा परेको छ । काव्यको मध्यम स्वरूप भनेर चिनिने खण्डकाव्य कृतिका रूपमा ‘ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा’ नामक यो कृति आफ्नो विषयवस्तुका दृष्टिले विशिष्ट देखा पर्दछ । किराँती जातिमा पवित्र धर्मग्रन्थका रूपमा रहेको ग्रन्थ ‘मुन्धुम’ लाई यस कृतिले आफ्नो विषयक्षेत्र बनाएको छ । यसर्थ यस काव्यकृतिलाई धार्मिक सांस्कृतिक महत्वको रूपमा हेर्न सकिन्छ। पूर्वीय काव्य मान्यताअनुरूप मङ्गलाचरणबाट प्रारम्भ भई सर्ग सर्गमा विभक्त हुँदै यसको कथावस्तु अघि बढेको देखिन्छ।

खण्डकाव्यकारको परिचय

खण्डकाव्यकार सुब्बा लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएका स्रष्टा हुन् । स्वास्थ्य मनोविज्ञान विषयमा विद्यावारिधि उपाधिप्राप्त डा. सुब्बाले नेपाली एवम् जनस्वास्थ्य विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । आफ्नो अध्ययनको विषयअनुरूप साढे तीन दशक लामो जनस्वास्थ्य क्षेत्रको सरकारी सेवा गरेर सेवानिवृत्त भएका यिनले स्वतन्त्र रूपमा साहित्यसेवालाई निरन्तरता दिइरहेका छन् । यसका साथै यिनका एक दर्जनभन्दा बढी काव्यकृतिका साथै आधा दर्जनजति मुन्धुमी किराँत लिम्बू संस्कृतिविषयक विभिन्न काव्यकृतिहरू पनि प्रकाशन भइसकेका छन् । अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक लेखरचनाहरू प्रकाशित गराइसकेका सुब्बाको सक्रियता प्राज्ञिक क्षेत्रमा शोधविशेषज्ञका रूपमा समेत रहेको देखिन्छ। यति मात्र नभएर यिनले विभिन्न श्रव्य-दृश्य एलबम पनि दसवटा प्रकाशन गरिसकेका छन् ।

पेसागत रूपले मूलतः जनस्वास्थ्य विशेषज्ञका रूपमा लामो सरकारी सेवा गरेका भएपनि यिनी साहित्य, सङ्गीत, सामाजिक विज्ञान एवम् प्राज्ञिक क्षेत्रमा समेत सक्रिय देखिनुले यिनको व्यक्तित्व बहुआयामिक भएको कुरा स्पष्ट छ । ‘मुन्धुम’ जस्तो धार्मिक सांस्कृतिक ग्रन्थको गहन अध्ययन गरेर किराँत जातिको आदिम सभ्यता र दर्शनलाई समसामयिक परिप्रेक्ष्यमा पुनर्व्याख्या गर्न सक्रिय रहेका सुब्बाका यसै विषयमा आधारित झन्डै आधा दर्जन कृतिहरू प्रकाशित भइसकेको देखिन्छ । यस आधारमा यिनलाई किरात दर्शन र संस्कृतिका अभियन्ताका रूपमा पनि हेर्न सकिन्छ । प्रस्तुत कृति पनि यसै उपक्रमको एउटा कडीका रूपमा रहेको छ । ‘मुन्धुम’ लाई स्रोतग्रन्थ बनाइएको यस खण्डकाव्यको प्रमुख चरित्र तुङ्गदुङ्गे रहेको देखिन्छ ।

खण्डकाव्यको परिचय

तुङदुङ्गे यहाँ एउटा मानवतावादी आदर्श चरित्रका रूपमा खडा गरिएको पात्र हुन् । तुङदुङ्गेलाई दिव्य अलौकिक पात्रका रूपमा देखाउन खोजिएको छ, जसलाई मानव र दिव्य चेतनाका नेतृत्वकर्ता भन्ने अर्थमा चित्रण गर्दै नायकीय भूमिकामा प्रस्तुत गरिएको छ । मङ्गलाचरणपछि प्रारम्भ हुने प्रथम सर्गमा सृष्टिको अख्यान वर्णन गरिएको छ । यो संसार ब्रह्माण्डको सिर्जना हुनुअघि सम्पूर्ण रूपमा शून्य थियो, यहाँ केही पनि थिएन भन्ने उल्लेख गर्दै निङवाफु तागेरालाई संसार सृष्टिकर्ताका रूपमा चित्रण गरिएको छ । तागेरा जो स्वयम्भू हुन् र जसले यो ब्रह्माण्डको रचना गरेका हुन् भन्ने मुन्धुमको प्रसङ्गलाई आधार मानेर यस कुराको चर्चा गरिएको छ । सृष्टिपूर्वको अवस्थालाई यसरी वर्णन गरिएको छ, गहिरो शून्यतामा निदाइरहेको ब्रह्माण्डमा न घाम थियो न जून थियो न त कुनै तारा नै थियो ।

सृष्टिकाल

केवल शून्यता र मौनतामा अनन्त अन्धकार थियो । न कुनै दिशा नै थियो न त बाटो न धरती न नदी वा जल नै थियो। यस्तै मिल्दोजुल्दो प्रसङ्ग ऋग्वेदमा पनि उल्लेख भएको पाइन्छ, ‘हिरण्यगर्भ समवर्तता भूतस्यजात पतिरेक आसित्।’ अर्थात् यो संसार वा पृथ्वी सृष्टि हुनुभन्दा अघि केवल परमपरमेश्वरको बाहेक अरू कसैको अस्तित्व थिएन। मुन्धुमले पनि यही उल्लेख गरेको पाइनुले सृष्टिको कथालाई भिन्न नभएको भन्ने देखाउँछ । जब क्रमैसँग सृष्टिको उपक्रम घटित हुँदै गयो तब विस्तारै सम्पूर्ण कुराहरू निर्माण हुँदै गएका हुन् । यसै क्रममा पञ्चतत्वको पनि उल्लेख गरिएको छ । वैदिक सनातनमा पनि पञ्चतत्वको उल्लेख एवम् आस्था हुनु अर्को एउटा सुखद् संयोग भन्न सकिन्छ।

पञ्चतत्व भन्नु शाश्वत सत्य हो। हाम्रो जीवनमा यसको अत्यन्त महत्व रहेको कुरा अस्वीकार गर्न सकिदैन। जीवनको आधारभूत आवश्यकता भएकै हुनाले हामी पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) बाट अभिन्न छौ। संस्कार, प्रक्रिया, पद्धति, परम्परा वा संज्ञामा प्रकारान्तर भए पनि आधारभूत कुरामा साम्य देखिनु धार्मिक सांस्कृतिक आदिमता समान भएर पनि मार्ग भिन्न हुन पुगेको सङ्केत पाइन्छ । मानवजातिको इतिहास पैल्याउने कुरामा पनि यस्ता प्रसङ्गले महत्वपूर्ण सहयोग पुग्न सक्ने निश्चित छ । पाँचवटै तत्वले क्रमशः धरती र मानवका लागि जीवनमा चाहिने सम्पूर्ण ऊर्जा उपहारका रूपमा दिएर जीवन्त बनाएको यथार्थलाई उल्लेख गर्दै पञ्चतत्वको गहन भूमिकाको व्यापक चर्चा गरिएको छ ।

दोस्रो सर्ग

दोस्रो सर्गमा तुङ्दुङ्गेको भूमिका प्रारम्भ हुन्छ । तुङ्गदुङ्गे एक अलौकिक व्यक्तित्व हुन् । उनलाई धरतीकै गर्भबाट अवतरित भनिएको छ । त्यसैले उनको व्यक्तित्वमा दैवी विशेषता भएको मानिएको छ । यहाँबाट तुदुङ्गे र प्रकृतिका बीचको संवाद पनि प्रारम्भ हुन्छ। जसमा अनेकौ प्रश्नोत्तरहरू हुन्छन् । यस संवादले पञ्चतत्वरूपी प्रकृतिसँग रहेको मानवीय सबन्धलाई उजागर गरेको छ । संवादका माध्यमले सृष्टिका रहस्यहरू उद्घाटित हुँदै जान्छन् । पाँचवटै तत्वबाट तुदुङ्गेले गम्भीर ज्ञान प्राप्त गर्दै मूल्यवान् अनुभव पनि लिन्छन् । माटोबाट स्थिर भएर अडिने, हावाबाट स्वतन्त्रतापूर्वक प्रवाहित हुने, आगोबाट साहसपूर्वक उज्यालो बनेर अघि बढ्ने, पानीबाट निरन्तर बग्नु नै शुद्धता हो भन्ने र आकाशबाट अनन्त खुलेर खराब कुरामा कहिल्यै नभुल्ने, महत्वपूर्ण शिक्षा प्राप्त हुन्छ ।

यस्तो ज्ञानले तुङ्गदुङ्गेलाई सत्यको मार्गमा हिड्न प्रेरणा प्राप्त हुन्छ । पृथ्वी भन्नु नै माटो हो, माटोबिना बोटविरूवाको अस्तित्व हुँदैन, उत्पादन हुँदैन । त्यसैले पृथ्वीविना जीवन सम्भव हुँदैन । जल जीवन हो, माटोमा जल भएन भने उर्बरा हुँदैन । तसर्थ पृथ्वीमा जलको मात्रा अधिक छ र यही कुरा हाम्रै शरीरमा पनि लागु हुन्छ । तेज भन्नु ताप मात्र हुँदैन प्रकाश पनि हो । प्रकाशबिना जीवन कष्टकर हुन पुग्छ भने प्रकाशसँग प्राणवायुको पनि अभिन्न सम्बन्ध हुन्छ । वायु त प्रत्यक्ष प्राण नै हो, यसको अभावमा जीवनको अस्तित्व सम्भव हुँदैन । यसर्थ दृश्यमान् नभई मानवजीवनलाई अस्तित्ववान् बनाउने महत्वपूर्ण तत्वका रूपमा वायु रहेको छ । आकाश भन्नु ध्वनि हो, अनन्तता हो, जसले मान्छेलाई आफ्नो अङ्गमा समेटेको छ र ध्वनिको उपहार प्रदान गरेको छ । यसप्रकार पञ्चतत्वको मानवजीवनमा रहेको अहम् भूमिकालाई तुङ्दुङ्गे र प्रकृतिका बीचको संवादका माध्यमले देखाइएको प्रसङ्ग उल्लेखनीय रहेको छ ।

पञ्चतत्व

हाम्रो शारीरिक संरचना नै पञ्चतत्वको समष्टि मानिन्छ । त्यसैले पञ्चतत्व भन्नासाथ यसलाई सामान्य चिज मात्र मान्न मिल्दैन । यस कृतिभित्र पनि यस कुरालाई विशद् चर्चा गर्दै महत्व दिइएको छ । पञ्चतत्वको गहन चर्चा गर्दै यहाँ जीवन सन्देश दिने प्रयत्न भएको देखिन्छ । पृथ्वी मानवजातिको धरातल हो, जहाँ जीवनको आधार हुन्छ । पृथ्वीमा नै उर्बरा हुने भएकाले त्यहीबाट मान्छे आफ्नो भोजनको स्रोत जुटाउन समर्थ हुन्छ । पृथ्वी नै मान्छेको आवास पनि हो । यसैलाई आफ्नो आश्रस्य बनाएर मानवजाति मात्र नभएर समस्त प्राणी बसेका हुन्छन् । यसैले पृथ्वी वा धरतीलाई माताको रूपमा सम्मान प्राप्त छ । यसै आधारमा हामी आफूलाई धरतीका सन्तानको रूपमा चिनाउने पनि गछौं । नदी पनि हाम्रा लागि जीवनदायिनी प्रेरक तत्व मानिन्छ । नदीले सिकाएको पाठ हो, गतिशीलता रोकिनु वा अडिनु भनेको समाप्ति पनि हो ।

नदीले हामीलाई पछि नफर्किकन निरन्तर अग्रसर रहने सन्देश दिइरहेको हुन्छ । प्रवाहमा नै शुद्धता हुन्छ भने स्थिरतामा दुर्गन्ध वा प्रदूषण मौलाउँछ । हामीले आफ्नो मन मस्तिष्कलाई नदीजस्तै प्रवाहशील बनायौ भने पवित्रताको उपलब्धि गर्छौं भन्ने अनमोल सन्देशलाई बुझ्नुपर्छ । अग्नि भनेको ज्वाला हो ताप हो । यसले डढाएर भस्म पनि गर्न सक्छ। अग्निले संहार पनि गर्छ। तर यसलाई सदुपयोग गर्न जान्दा हामीलाई ऊर्जा र प्रकाश प्राप्त हुन्छ जसले हाम्रो जीवनलाई दिशानिर्देश गरेर सहज बनाउन ठूलो सहयोग पुग्न सक्छ । यसर्थ अग्नि वा तेज जीवनलाई गति दिने महत्तम शक्ति हो भन्ने सन्देश पाइन्छ अदृश्य भएर पनि अस्तित्ववान् हुनु वायुको अहम् विशेषता हो। हामीलाई यस यथार्थले गम्भीर सन्देश प्रदान गरेको छ।

सृष्टि, स्थिति र प्रलय

केवल महसुसद्वारा हावाको उपस्थितिको हामीलाई ज्ञान हुन्छ । जीवनमा सबै कुरा दृश्यमान् हुँदैनन् भन्ने कुराको महत्वपूर्ण बोध हामीलाई वायुबाट प्राप्त हुन्छ। गतिको दृष्टान्त पनि हो हावा र ध्वनि सञ्चारणको माध्यम पनि हो। प्राणीहरूका लागि अनिवार्य प्राणवायु भएन भने सारा सृष्टिको लय नै ध्वस्त हुन पुग्छ। यसरी नै पाँचौ तत्वका रूपमा आकाशबाट हामीलाई अनन्तताको ज्ञान हुन्छ। आकाशको माध्यमले नै एक ठाउँबाट अर्को ठाउँ शब्दको यात्रा हुन्छ। आकाश अर्थात् अन्तरिक्ष नभएको भए हाम्रो वाक्शक्तिमा आघात पुग्ने थियो । आकाश रिक्तता वा शून्यताको प्रतीक पनि हो । जसरी शून्य नगण्य भए पनि महत्वपूर्ण छ त्यसरी नै आकाश शून्य भएर पनि अथाह छ। पञ्चतत्वको यति व्यापक र विशद् उल्लेख हुनु यस कृतिको उल्लेखनीय पक्ष हो।

सृष्टि, स्थिति र प्रलय यो ब्रह्माण्डको नियमित पक्रिया नै हो । यहाँ पनि यही कुरा मुन्धुमको प्रसङ्गमा वर्णन भएको छ । सारा धरती प्रलयको चपेटामा परेर पुनः नवीन सृष्टि हुन्छ तर प्रलयमा हुने विध्वंसलाई भयावह रूपमा वर्णन गर्दै त्यस अवसरमा तुदुङ्गे शान्तिदूतजस्तो बनेर खडा हुन्छन् । दैवीं शक्ति र ज्ञानको अनुपम विशेषताले युक्त भएका हुँदा त्यस्तो विनाशलीलामा पनि अटल भएर सृष्टिको रक्षामा खडा हुनुले तुदुङ्गे एउटा सामान्य चरित्र नभएर अप्रतिम दैवी भूमिकामा देखिएका छन् । आफ्नै आत्मा वा प्रतिविम्बसँग संवाद गर्ने तुङ्दुङ्गेको आकाश वा प्रकृतिसँग पनि संवाद देखाइएको छ जसले सृष्टिको सौन्दर्य मात्र होइन प्रलयको कुरूपतासँग पनि मानवजातिलाई परिचित गराएको छ ।

धर्म

यहाँ धर्मका नाममा हुने विद्रुपताको पनि आलोचना गरिएको छ । धर्मले प्राणीहरूको कल्याण गर्न सक्नुपर्छ भन्ने भाव प्रस्तुत भएको देखिन्छ । जुन धर्मले अशक्त, असहाय वा अकिञ्चनको भलो हुँदैन त्यस्तो धर्म वास्तविक धर्म होइन न्यायको नाममा अन्याय गर्ने, सत्ता र शक्तिको दुरूपयोगद्वारा अत्याचार गर्ने दुष्प्रवृत्तिप्रति कटाक्ष गर्दै वर्तमान राजनीतिक विसङ्गतिमाथि कटाक्ष पनि छ। धर्म, कानुन र परम्परालाई सृष्टिको जग थाम्ने तीनवटा बलिया खम्बा भनी उल्लेख गरिएको प्रसङ्गले के देखाउन खोजेको छ भने पुरातनताले नै वर्तमानलाई पनि प्रभाव पारिरहेको हुन्छ र हामी आफ्नो सशक्त परम्पराबाट ज्ञान र ऊर्जा प्राप्त गर्दै धर्म र कानुनको आदर्श अनुशासनद्वारा वर्तमानलाई सुन्दर र उपलब्धिमूलक बनाउन सक्छौ भन्ने महत्वपूर्ण सन्देश दिइएको छ । तुदुङ्गेको अलौकिक नायकीय व्यक्तित्वले मानवजातिका लागि उदाहरणीय प्रेरक सन्देश दिइएको हुँदा उनलाई आदर्श नायकका रूपमा हेर्न सकिन्छ। प्रकृतिरूपी विभिन्न अमूर्त पात्रहरूको उपस्थितिले नायकलाई आदर्श स्थापनामा सहयोग पुयाएको मान्न सकिन्छ।

खण्डकाव्यको विशेषता

एकोन्मुखता खण्डकाव्यको विशेषता हो। यसलाई अनुसरण गर्दै पाँचवटा सर्गमा यो खण्डकाव्य समेटिएको छ। संवाद प्रधान भन्न सकिने यसमा पात्रको न्यूनता देखिन्छ। गीतिमय लोकभाकालाई प्रस्तुतिको माध्यम बनाइएको हुँदा पढ्दा वा सुन्दा सुमधुर लाग्दछ । मुन्धुमको प्रसङ्ग भएकाले कथानक अलौकिक रहेको छ। तर अलौकिकतामा पनि समसामयिक मानवसुहाउँदो सन्देश प्रशस्त पाइन्छ। त्यस दृष्टिले यस कृतिलाई सन्देशमूलक पनि मान्न सकिन्छ । मिथकीय विम्बात्मक सौन्दर्यका साथै आलङ्कारिक भाषाको प्रयोग पनि यथास्थान पाइनुले काव्यको प्रभावकारितालाई बृद्धि गरेको मान्न सकिन्छ।

मिथक इतिहास हो, परम्परा हो, लोकसंस्कृति हो, सामूहिक मनोविज्ञान हो, पहिचान हो, भावना हो, संस्कार हो, धर्म पनि हो र साहित्य पनि हो । यी सबै कुराको समष्टि हो मुन्धुम । किराँती धर्मग्रन्थका रूपमा सम्मानित मुन्धुम अनुपम मिथकीय ग्रन्थ भएकाले मुन्धुममा माथिका सम्पूर्ण विशेषताहरू सहजै केलाउन सकिन्छ । यसर्थ मुन्धुमले लोकको मनोभावलाई गम्भीरतापूर्वक आत्मसात् गरेको कुरा छर्लङ्ग छ। पहाडी, हिमाली भू-भागलाई आफ्नो वासस्थान बनाएर त्यहीको माटोमा आफ्नो जीवनयापनको आधार खोज्ने किराँतीहरूको भूगोल नै मुन्धुमको परिवेश रहेको छ । जहाँ प्रकृतिप्रेमको जीवन्त नमुना भेट्न सकिन्छ। पहाडको सौन्दर्य, हिमालको उच्चता, वनजङ्गलको हरियाली प्राणवायु वा नदीनालाको सरस तृप्ति होस् सबैले लोकमनको प्रतिनिधित्व गर्दछन् ।

मुन्धुम

मुन्धुम केवल एउटा भाषिक ग्रन्थ नभएर लोकसंस्कृतिको वकालत गर्ने सशक्त माध्यम पनि हो । ईश्वर मानवीय आस्था हो । विश्वासको प्रबलतम रूप नै आस्था भएकाले मान्छे ईश्वरको पूजा, आराधना वा भक्तिमा लीन हुन्छ । यसबाट उसले जीवनमा ऊर्जा प्राप्त गर्दै सार्थक जीवनको प्राप्तिमा सफलता हात पार्छ । आफूभन्दा शक्तिशाली अस्तित्वको स्वीकार गरेर मान्छे उसलाई खुशी पार्ने प्रयत्न गर्दै उसबाट वरदानको अपेक्षा गर्छ भने उसको असन्तुष्टिजनित क्रोधबाट बच्नका लागि सतर्कता अपनाउँदै श्रापबाट जोगिन पनि चाहन्छ । आदिम कालदेखि नै मान्छेले परम शक्तिको सत्तालाई आत्मसात् गर्दै आएको कुरा प्रस्टै छ। किनभने आफूभन्दा माथि कुनै तिलस्मी सत्ताले अभिभावकीय भूमिका निर्वाह गर्दै उसलाई अभय प्रदान गरोस् भन्ने मानवीय भावना अपवादबाहेक प्रवल देखिन्छ।

उपसंहार

यो कृति केवल एउटा साहित्यिक रचना होइन। यसमा एउटा गहिरो मानवीय संवेदना भरिएको छ। यसलाई एउटा महत्वपूर्ण धार्मिक सांस्कृतिक ग्रन्थका रूपमा हेरिनुपर्छ भन्ने लाग्छ। किनभने यस कृतिको उपादेयता साहित्यिक समीक्षा वा टिप्पणीबाट मात्र सिद्ध हुँदैन। यसमा प्रस्तुत प्राचीन आदिम लोकभावनालाई हृदयङ्गम गर्दै यसमा समाविष्ट चरित्र, संवाद, कथावस्तु र परिवेशले एउटा व्यापक जातीय पहिचान बोकेको छ । त्यसैले यसको मूल्य र महत्ता गुरूतर रहेको तथ्यलाई कदापि अस्वीकार गर्न सकिँदैन। जुन मिहिनेत, परिश्रम र अनुसन्धानमूलकताका साथ यो कृति तयार पारिएको छ त्यसका लागि लेखकलाई सहस्रशः साधुवाद नदिई रहन सकिदैन । लोकविश्वासलाई साहित्यिक स्वरूप प्रदान गर्दै धर्म, संस्कृति र साहित्यको त्रिवेणी निर्माण गर्ने लेखकको प्रयत्न स्तुत्य रहेको छ । लेखकको कलम सदा सर्वदा रसाइरहोस् अक्षरको बाली लहलहाइरहोस् । यही शुभाकांक्षा व्यक्त गर्दछु। अस्तु।

Similar Posts

  • |

    प्राचीन नेपालको पुनरूत्थान

    ~पुस्तक लोकार्पण~ शीर्षक: प्राचीन नेपालको पुनरुत्थान: किराँती रैथाने इतिहास र शोध पद्धतिलेखक: डा. नवराज सुब्बाउपलब्ध: ओपन एक्सेस रिपोजिटरीमा निःशुल्कThe Creative Commons Attribution 4.0 International (CC BY 4.0)ISBN (Paperback): 9789937-9958-3-2ISBN (eBook): 9789937-9958-2-5 प्राक्कथन नेपालको इतिहास धेरै समयसम्म लिखित दस्तावेज र दरबारिया वर्णनमा मात्र सीमित रह्यो। यसले हाम्रा प्राचीन जराहरूलाई छायामा पार्यो। यो पुस्तक “प्राचीन नेपालको पुनरुत्थान”…

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • | |

    नेपाली भाषा साहित्य संस्कृति

    आलोचना र अनुसन्धान नेपाली भाषा, साहित्य र संस्कृति: बौद्धिक अनुसन्धानको नयाँ दृष्टि नेपाली भाषा साहित्य-संस्कृतिः आलोचना र अनुसन्धान” पुस्तक नेपाली वाङ्मय, संस्कृति र समाजको गहिरो अध्ययन हो। यस कृतिले केवल भाषा र साहित्यको चर्चा मात्र गर्दैन, बरु तिनका माध्यमबाट नेपाली समाजको बौद्धिक विकास पनि देखाउँछ। त्यसैले, यो पुस्तक नेपाली संस्कृति र साहित्यिक चिन्तन बुझ्नको लागि…

  • |

    चिन्ताद्वारा उत्पन्न विकारहरू

    डा. नवराज सुब्बा चिन्ता वा एन्जाइटी जीवनमा सबैले अनुभव गर्ने भावना हो। तर, जब चिन्ताले दैनिक जीवनलाई हानी पुर्‍याउन थाल्छ तब त्यस अवस्थालाई भने चिन्ता विकारको अवस्था भनिन्छ। चिन्ता विकारहरू धेरै प्रकारका हुन्छन्। तिनीहरूले जीवनका विभिन्न पक्षहरूमा गहिरो प्रभाव पार्न सक्छन्। यस लेखमा, हामी चिन्ता विकारका प्रमुख प्रकारहरू र तिनीहरूको विशेषताबारे संक्षेपमा छलफल गर्नेछौं। सामान्यीकृत…

  • आदिवासी खण्डकाव्य “ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा

    – विक्रम सुब्बा पृष्ठभूमि “ओऽऽ रिल्लो…तुङदुङ्गेको सृष्टियात्रा” खण्डकाव्यको सुरुवात ब्रह्माण्डको शून्यबाट हुन्छ। त्यहाँ न समय छ, न प्रकाश, न ध्वनि केवल मौन र शून्यता मात्र छ। त्यस मौनताबाट पहिलो स्पन्दन उत्पन्न हुन्छ, जसले सृष्टिको सुरुवात गर्छ। यही स्पन्दनबाट आकाश, पृथ्वी, जल, अग्नि र वायु जन्मिन्छन्। यी तत्वहरू केवल भौतिक वस्तु होइनन्, बरु जीवन र चेतनाका…