‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)

डा. नवराज सुब्बा । 

अतः हामी वर्तमानमा जे छौँ त्यो सत्य हो । तर हाम्रो अतीत हेर्ने दृष्टिकोणमा केही दोष छ । त्यो अज्ञानतावश मात्र भएको हैन, नियतवश पनि त्यसो भएको छ । तर त्यो मानवीय चरित्र पनि हो । यो पनि सत्य हो । यसकारण यस्ता मानवशास्त्रीय, समाजशास्त्रीय घटनाक्रम र परिदृपरिदृश्यलाई हामीले मनोविज्ञानको दृष्टिले हेर्न सकेमा जिज्ञासा केही हदसम्म शान्त हुनेछन् ।

एक प्रसङ्गमा मिचिगन विश्वविद्यालयका प्राध्यापक मारोहाङ लिम्बूले तुङदुङ्गे मुन्धुमसम्बन्धी मेरो वेभनेर जुम प्रस्तुतिउपर दिनुभएको एक प्रतिक्रिया यु–ट्यूबमा यस्तो पाएँ– “उहाँका यी ज्ञान र सिद्धान्त अहिलेकाले नबुझ्लान्, ती आगामी २०० वर्ष पछि मात्र बुझिने छन्” । उहाँको यो भनाइलाई म सिधै खण्डन गर्ने अवस्थामा छैन । म केवल कामना गर्न सक्दछु, कुनै पनि जातिको ज्ञान, दर्शन, सिद्धान्त, इतिहास माथि एक्काइसौँ शताब्दीको वैज्ञानिक प्रकाशमा अध्ययन गर्न, प्राज्ञिक र बौद्धिक माथापच्ची गर्न र सत्यतथ्य पर्गेल्न त्यति लामो काल हामीले पर्खन नपरोस् ।

‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (भूमिका)

डा. नवराज सुब्बा ।

मभित्र जब चेतना आयो, त्यसपछि मनमा खुलदुली चल्न थाले । म कहाँबाट आएँ होला ? यो रुख, ढुङ्गा कसले बनायो होला ? यो खोल्सा, खोला, नदी, कहाँ पुग्छ होला ? धाराबाट बग्ने पानी निरन्तर कसरी उम्रिरहन्छ ? यी डाँडाकाँडा, हिमाल, खोला, नदी, संसार, पृथ्वी, जून, तारा ब्रह्माण्ड कसले रचना किन गर्यो होला ? ती मेरा बालसुलभ जिज्ञासालाई अभिभावक, गुरू, शास्त्रले मात्र शान्त पार्न सकेनन् । सामाजिक वर्ग, भेदभाव, छुवाछूत, जातपात, राजनीति, संस्कृति, धर्म मानव उपज वस्तु हुन् भन्ने बुझेपछि थप जिज्ञासा उत्पन्न भए । ती अवस्था कसरी सिर्जना भए, विकास भए होलान् ? यी र यस्ता जिज्ञासाले मन भरिन गयो । हेर्दै, बुझ्दै, पढ्दै मेरा धेरै जिज्ञासा शान्त भए । यद्यपि बाल्यकालका सृष्टिसम्बन्धी जिज्ञासा भने शान्त भएनन् ।

मैवाखोलाले बगाएको दासीको प्रेमकथा

डा. नवराज सुब्बा

परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो ।

संस्मरणात्मक लेखको रुपमा घटनालाई प्रस्तुत गर्दैछु । परिघटनाको विश्वसनीयता र आधिकारिकता कायम रहोस् भनी यसका पात्रहरुको परिचय, सन्दर्भ, परिवेश जानकारी दिएको छु। यो लेख सामाजिक अध्ययनार्थ कुनै शिर्षकबाट साभार गरिएको रचना होइन । यद्यपि सामाजिक अध्ययनका विद्यार्थी, अनुसन्धातालाई सघाउने विषयवस्तु हो ।

पृष्ठभूमिः कुनै साहित्यकारका लागि यो घटनाक्रम एउटा प्रेमकथा बनाउन सकिने राम्रो प्लट नै हो । यसमा काल्पनिकता मिसाएर, बिम्व थपेर, अलङ्कारले एक सुन्दर प्रेमकथा बनाउन सकिन्छ । तर मभित्रको अनुसन्धान चेतनाले मलाई त्यसो गर्न दिएन । स्थानीय भूगोल, प्रकृतिक अवस्था, समुदायको अस्तित्व जीवन्त बनाइराख्न घटनाक्रमलाई जस्ताको तस्तै राख्न उचित सम्झें । हुन त यसमा मैले मुख्य पात्रको बिम्व कल्पना गार्दागर्दै केही मात्रामा भावना मिसिन गएको छ । यसमा सचेत हुँदाहुँदै पनि मैले घटनालाई प्रभावकारी बनाउन पाठकलाई साहित्यिक स्वाद पस्केको छु।

कथाका मुख्य पात्रसित यो लेखकको भेट भएको होइन अर्थात् आफैले देखेको पनि होइन । उनको परिवारसित सम्बन्धित व्यक्तिसित मात्र यो कलमको साक्षात्कार भएको हो । पारिवारिक सन्दर्भमा कुरा चल्दा घटना चाल पाएको हो । यो कुरा मनका कुनामा गाँठो परेर बसेको रहेछ । त्यो घटनासंग जोडिएका परिवार जीवितै छन् । घटना घटेको स्थल पनि उस्तै छ तर कथा हराएको छ ।