किरात लिम्बू संस्कृति

किरात लिम्बू संस्कृति

किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्।

नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ।

आदिवासीका रगत र पसिनाले सिंचिएको भूमिमा आज तिनका अस्तित्व ओइलाउँदै जानु पक्कै चिन्ताजनक विषय हो। हामीले आधुनिकताका नाममा आदिवासीका योगदानलाई भुल्यौँ भने हामी अझै अपूर्ण रहने छौँ।
किरात लिम्बू समुदायको मानवशास्त्रीय अध्ययनद्वारा उनीहरूमाझ उठेका कतिपय सवालमा तथ्यपूर्ण र तर्कपूर्ण निष्कर्ष आएका छन्। पाठकलाई ती सूचना जानकारी गराउन यो लेखक अघि सरेको छ। यो प्रयास विशुद्ध प्राज्ञिक मूल्य र मान्यतामा आधारित छ।
आफ्नो दायित्व सम्झेर जीवनको उत्तरार्धमा यो लेखकले अनुसन्धानको सकारात्मकबाद समातेर एक निचोडमा पुगेको महसुस गरेको छ। प्राप्त भरपर्दा सूचना र तथ्याङ्कलाई आधार मान्दै संश्लेषित ज्ञानलाई अभिलेख राख्न साथै पाठकसमक्ष साझा गर्न पुस्तक प्रकाशित गरिएको हो।
नेपाली माटोको सही पहिचान जान्न र बुझ्न चाहने पाठक, अनुसन्धातालाई किरात सभ्यता, संस्कृति र जातीय सवाल छिचोलेर अघि बढ्न पुस्तक एक सहयोगी सामग्री बनेको छ। शुभकामन

इतिहासकार इमानसिंह चेमजोङ अनुसार काशीवंश किरात गंगा मैदानबाट सिमाङगढ हालको पर्सा जिल्लाको सिमरा आइपुगे। त्यहाँ तिनीहरू फैलिए। त्यहाँबाट तिनीहरू सुमेर काशी किरात सेन नामले नेपालको पूर्वदेखि पश्‍चिमसम्म फैलिए। ती सुमेर काशी किराती नेताहरू डोटी, प्यूठान, पाल्पा, जिरी, रावा (खोटाङ), फेदाप, इलाम र मोरङ्ग देशहरूमा आ–आफ्नो राज्यस्थापना गर्न सफल भए। तिनीहरूमध्ये यलम्बरले काठमाण्डौँ उपत्यका विजय गरे। (Chemjong, 2003b)

सेन वंश सिमाङगढमा राज्य गर्दै थिए। पछि त्यहाँ मुसलमान आक्रमण भयो। त्यसपछि सेन पूर्वतर्फ भागे र चतरा क्षेत्रमा चादण्डी राज्य स्थापना गरी बसे। सिमाङगढबाट चौदण्डी पसेपछि तिनीहरू सेनवंश नामले स्थापित भए। त्यहाँ पनि असुरक्षित भएपछि तिनीहरू पूर्वी नेपालको किरात लिम्बुवानमा प्रवेश गरे। त्यसपछि तिनीहरू किरात राई लिम्बू जातिमा विलय भए। (SenChobegu, 2007)

साँबाका पुर्खा चौदण्डी रहँदासम्म सेन वंश थिए। चौदण्डी पनि विघटन भएपछि ती सेन राय (राई) पनि भए। साँबाको पुर्खा इतिहास, मुन्धुम र वंशावलीमा सेनेहाङ राय नामले चिनिन्छन्। (Chongbang, 2009) सेनवंशी चुडामणि सेनका चारभाइ सन्तान मध्ये माइँला सन्तान साँबासेरेङ साँबाका पुर्खा थिए।

साँबासेरेङ र हाङसेनलुङ

सेनवंशी चुडामणि सेनका माइँला सन्तान साँबासेरेङ सहित अन्य चारभाइ चौदण्डीबाट किरात लिम्बुवान प्रवेश गरे।

वि.सं. १३८८ सालमा उनीहरू साँगुरी उक्लेर धनकुटाको बोधेगाउँ सङ्गमटारमा सातवर्ष बसे। त्यहाँबाट चार भाइ छुट्टिने बेलामा एकएक चुच्चे ढुङ्गा गाडेर चिनो राखे। यसलाई ऐतिहासिक स्मारक हाङसेनलुङ भनिन्छ। त्यहाँबाट अलग्गिएका भाइहरू आआफ्‍ना ठाउँमा स्थापित भए। (SenChobegu, 2007; Chongbang, 2009; Yonghang, 2011)

सेन चबेगु वंशावली (२००७) अनुसार साँबासेरेङबाट स्रेङ, सोलङेगन, ताम्मादेन, लाबुङ, मुदेनहाङ, मिफेङगेन साँबा उद्‍‍विकास भए। तसर्थ, साँबाका पुर्खा सिमाङगढबाट भागेर चौदण्डी राज्य गरी किरात लिम्बुवान पसेका सेनवंशी हुन्। (SenChobegu, 2007) सिमाङगढबाट चौदण्डी चतरा राज्य गरी बसेका सेनलाई कालान्तरमा अनुकूल स्थिति हुन छाड्यो। त्यहाँबाट उनीहरू सुरक्षित आश्रयस्थलको खोजीमा किरात लिम्बुवान पसेका थिए।

उनीहरूले कोशी चतरा बराहाक्षेत्रबाट उत्तर दिशा ताकेर तम्बरखोला पथ समाते। बीचमा भाइहरू छुट्टिदै गए। दुई भाइ मेवाखोला, तम्बरखोला लागे। एक भाइ मेवाखोलाबाट छड्केर उँभो नाल्बो हुँदै मेवाखोला साँबा पुग्यो। यिनी साँबासेरेङका सन्तान साराताप्पा नामले स्थापित भए। (Chongbang, 2009; PhayangTB, 2019)

अर्का भाइ तम्बरखोलामा ससुराली गाउँमा पुगे। मेवाखोला, तम्बरखोला पुगेका सेन वंशबाट कालान्तरमा साँबा लगायत अन्य थरका राई, लिम्बू बनेका छन्।

तुङदुङ्गे, साँबावंश र सेनवंशबीच रक्तअनन्या

यो लेखकले फयङ साँबा वंशावली अध्ययनका क्रममा तुङदुङ्गे मुन्धुमको विशेष अध्ययन गर्‍यो। प्रस्तुत अध्ययनका विषयमा विज्ञसित छलफल हेतु ग्लोबल नेटवर्कद्वारा आयोजित वेभनेर अनलाइन कन्फरेन्समा प्रस्तुत गरियो। (Global Network, 2020) उक्त अनलाइन छलफलमा विश्‍वमा छरिएर रहेका किरातको तुङदुङ्गे मुन्धुम सम्बन्धमा विभिन्‍न थरका किरातबाट ज्ञान, धारणा र विचार आदान प्रदान भयो।

तुङदुङ्गे कोशीबराह क्षेत्रमा रहेका सेनवंशी बराहमाङका कान्छा राजकुमार हुन्। सेन वंशी लोहाङ सेनको शासनकाल (वि.सं. १६६६–१६९८) मा किरात लिम्बुवान सेनको प्रभाव क्षेत्र थियो। त्यसबेला मकवानपुरका सेन राजाहरू शक्तिशाली थिए। उनीहरूको शासनकालमा सेनहरू चौदण्डी, कोशीबराहमा जमेर बसेका थिए। (Khatiwada, 2019)

मुसलमान आक्रमणका कारण सिमाङगढका सेन चौडण्डीमा विस्थापित भए। उनीहरू सुरक्षित स्थलको खोजीमा चौधौँ शताब्दीमा चौदण्डीबाट उकालो लागे। साँगुरी भञ्ज्याङ हुँदै बोधेगाउँ सङ्गमटारमा गएर बसे। त्यहाँ उनीहरूले हाङसेनलुङ निशाना राखेर अझै उकालो चढे।

सामाजिक–जैविक सिद्धान्तअनुरूप आफ्ना पूर्ववर्ति वंश (जिन) खोज्दै (Wilson, 1975) सत्रौँ शताब्दीमा सेनवंशी तुङदुङ्गे मेवाखोला पुगेका थिए। तुङदुङ्‍गे मुन्धुम अनुसार जहाँ उनलाई मादेन/ ओमदिन/ सुलुङ्गेन/ सुलुङदेन साँबाहरूले आफ्नो वंश मानी हार्दिक स्वागत गरे। (Chongbang, 2009)

साँबा उद्‍‍विकास

साँबासेरेङ (सेनेहाङ) साँगुरी उक्लेको काल वि.सं. १३८८ साल देखि हालसम्म करिब ४०० वर्ष अवधिमा साँबासेरेङबाट विभिन्‍न साँबाहरूको उद्विकास भयो। (Yonghang, 2011)

वंशावली अनुसार साँबासेरेङ–सारातप्पाका दरसन्तान फेम्बुनहाङ भए। फेम्बुनहाङबाट चङबाङ, लुङहिम्बा, फेन्छङवा, फयङ, काइदाङबा, मिक्केन्दाङ, मादेन र तङदप्पा आठसाँबाहरू उद्विकसित भए। यसकारण फयङका निकटतम् रक्तअनन्या चङबाङ, लुङहिम्बा, फेन्छङवा, काइदाङबा, मिक्केन्दाङ, मादेन, तङदप्पा साँबा हुन्। (Chongbang, 2009; Phayang TB; 2019, PhayangMC, 2019)

यसै गरी साँबासेरेङका सन्तान स्रेङ, सोलङ्गेन, ताम्मादेन, लाबुङ, मुदेनहाङ, मिफेङगेन साँबा पनि फयङका रक्तगत अनन्या भ्राता साँबा परिवारका सदस्यहरू हुन्। (SenChobegu, 2007)

साँबा गढन्त र भूअमिधा

फयङ नाम पाउन अघि यिनीहरूका पुर्खा साँबा नामले चिनिन्थे। फयङका पुर्खाले साँबा नाम ग्रहण गर्नुका दुई आधार देखिन्छन्।

पहिलो आधार, उहिले नरकासुर असमका शक्तिशाली राजा थिए। उनी काशी वंश सुमेर थिए। उनले जनतालाई अत्याचार गरेको आरोप लगाएर आर्यले सत्ताबाट हटाए। उनी र उनको समुदाय त्यहाँबाट चीनको खाम नामक भूमि पुगेर अर्को राज्य गठन गरे। पछि त्यहाँबाट एक हाँगा बर्मा हुँदै असम र गंगामैदान आयो। त्यहाँ हिन्दू प्रभाव बढेकाले एक जनसमूह बङ्गाल हुँदै पूर्वी नेपाल आए। ती दश सरदारले किरात देशमा आक्रमण गरे। उनीहरूले आठ किरात राय सामन्तले शासन गरेको किरात राज्य हत्याए र लिम्बुवान राज्य गठन गरे। (Chemjong, 2003a) ती दश सरदारका साथमा आएका साँबा काशीवंश सुमेर किरात थिए। जसलाई लिङदेनले आफ्नो पुर्खा वंश मानेको छ। (Lingden, 2010)

उल्लिखित आधारमा दश सरदारका रूपमा आएका साँबाहरूले शासन गरेको मेवाखोला क्षेत्रको गाउँ साँबा भूअमिधा (Toponym) रहन गयो। आफ्ना काशीवंश सुमेर पूर्वज साँबासितको रक्तगत अनन्या रहेको र उनको नाममा रहेको साँबा गाउँमा आएर बसेकाले पछि आउने चङबाङ, फयङ लगायतका सेन वंशी पुर्खा साँबा भएको विश्लेषण गरिन्छ। (Chongbang, 2009)

यहाँ प्रश्‍न उठ्छ, उसो भए ती दश सरदार मध्ये किन साँबाले उक्त साँबा क्षेत्र आफूले जिम्मा लिए त? यहाँ के कुरा स्मरणयोग्य छ भने दश लिम्बुवान गठन हुँनअघि उक्त क्षेत्रमा साँबा बसोबास गर्दथे। जुन कुरा इमानसिंह चेमजोङद्वारा लिखित किरात इतिहासमा उल्लिखित छ। भारतबाट पहिलोदेखि पाँचौं शताब्दीमा सेन, लिच्छवी, हुण जाति पहाडभित्र पसेका थिए, अतः तिनै परिवार मेवाखोला, तम्बरखोला क्षेत्रमा साँबाका रूपमा स्थापित भएका हुनसक्दछन्। (Pandeya, 2013; SenChobegu, 2007)

किरात लिम्बू संस्कृतिको सैद्धान्तिक आधार

यहाँ सामाजिक जैविक सिद्धान्तका आधारमा आफन्त वा आफ्नो वंश जिनको खोजी गर्ने क्रम यहाँ आकर्षित हुन्छ। (Wilson, 1975) दश सरदार मध्येका साँबाहाङले आफ्ना पूर्ववर्ति साँबा वंशको स्थललाई आफ्नो पैत्रिक क्षेत्र स्थापित गरेको विश्‍लेषण गर्न सकिन्छ।

दश लिम्बुवान गठनपूर्व आफ्ना पूर्वजको रक्तगत अनन्यालाई दश सरदारले मानेका छन्। तिनीहरूले साँबालाई परिचायक संज्ञा मानेको घटनाक्रमले देखाउँछ।

दोस्रो आधार, साँबा थर ग्रहण गर्ने क्रम पछिसम्म जारी रहेको पाइन्छ। साँबा थर समातेर पूर्वजको नाम र जिन खोज्दै सेन वंश पनि साँबा थरसित गाँसिन्छन्। सेन राजा चुडामणि सेनका माइँला छोरा साँबासेरेङ पछि मेवाखोला, तम्बरखोला आए।

तसर्थ, साँबाले आफ्ना पूर्वज बसेको साँबा गाउँमा बसेर मात्र साँबा भएका थिएनन्। उनीहरू सेन वंश साँबासेरेङका दरसन्तान पनि पूर्वजको नाम गाँसेर साँबा स्थापित भएका हुन्। आफ्ना पुर्खाको वंशक्रम जिनलाई कायम राख्‍न यिनीहरूले साँबा थर ग्रहण गरेका हुन्।

संक्षेपमा, फयङ साँबाका निकटतम् रक्तअनन्या अन्य साँबाहरूमा चङबाङ, लुङहिम्बा, फेन्छङवा, फयङ, काइदाङबा, मिक्केन्दाङ, मादेन, तङदप्पा र स्रेङ साँबा हुन्। (Chongbang, 2009; PhayangTB, 2019) यसै गरी स्रेङ, सोलङ्गेन, ताम्मादेन, लाबुङ, मुदेनहाङ, मिफेङगेन साँबा पनि फयङका रक्तअनन्या साँबा वंश हुन्। (SenChobegu, 2007) बाँकी अन्य साँबाहरूसितको रक्तअनन्या सम्बन्ध स्थापित गर्न थप अध्ययनको आवश्यता छ।

फयङ साँबा उद्‍भव

साँबा परिवारभित्र फयङ उपथर नामाकरणमा एक चाखलाग्दो किंवदन्ती छ। साँबा परिवारका एक सदस्यले लुगा लगाउँदा उनले लगाएको पहिरन झल्लरीझैँ हल्लिएकाले लिम्बू भाषामा ‘फयङ–फयङ’ उपथर गढन्त (Coinage) भएको हो।

साँबा उत्पत्तिस्थल खोतल्दा सामाजिक जैविक ढाँचा अनुरूप भएको पाइन्छ। समाजमा विकासक्रम र जिनको प्रवाह निरन्तर चल्दछ। मानिसले आफ्ना पुर्खा, दाजुभाइ, दिदीबहिनी, कुलकुटुम्बको हिसाबकिताब राख्‍ने गर्दछ। आफ्ना पुर्खा र दाजुभाइ खोज गर्ने चलन छ। यसको मूल कारण वंशमा जिनको प्रवाह खोज्‍ने प्राकृतिक तथा मानवीय चरित्र हो। किनभने सबै जीव आफ्ना जिन सुरक्षित रहोस् भन्‍ने नैसर्गिक चाहना राख्दछन्। (Wilson, 1975) यहाँ सामाजिक जैविक ढाँचाबाट अध्ययनको ढोका उघार्नुको तात्पर्य पनि त्यही हो।

फयङ साँबाको उद्‍‍विकास नेपालको ताप्लेजुङ जिल्ला मेवाखोला थुमको साँबा गाउँमा भएको थियो । उनीहरूको उत्पत्तिस्थललाई लिङथाङ यक पनि भनिन्छ। (Chongbang, 2009; PhayangTB, 2019)

साँबा याक्थुङ परिवारमा फयङ उद्‍भव भएपछि फयङको पहिलो पुरूषलाई वंशावलीमा फयङहाङ साँबा (सङ्केत इ१) दिइएको छ (PhayangAR, 1999)। फयङ साँबाका जेठा छोरा तुम्याहाङ त्या (तुम्बा) र कान्छा छोरा तुम्याहाङ हिरी (पाक्पा) लाई सङ्केत इ२ दिइएको छ। यिनै दुई सन्तान फयङ इ२ बाट हाल फयङको पुस्ताक्रम इ१२ पुगेको अवस्था छ। हाल इ११ पुस्ताले ३० वर्ष उमेर पूरा गरेका छन्।

ऐतिहासिक साक्ष र प्रमाणका आधारमा फयङ साँबा मेवाखोलामा ४ पुस्ता बसेपछि पाँचौँ पुस्ताबाट अन्यत्र स्थानमा छरिए। यिनीहरूको छुट्टिने कालसित गोरखा विस्तार एवम् लिम्बुवान सेनाको गतिविधि सम्बन्धित छन्। (SambaMingsra, 2018)

सङचुम्भो

साँबा मिङ्स्रा सन्चङभो (२०१८) अनुसार लिम्बुवान सेनामा सहभागी हुन मेवाखोलाबाट साँबा थरका लिम्बू चैनपुर सङ्खुवासभामा जाने, आउने क्रम वि.सं. १८०० को प्रारम्भिक दशकबाटै आरम्भ भयो । उक्त आँकडा विश्‍लेषण गर्दा वि.सं. १८०६ मा केही भाइ फयङ साँबा आठराई हाङपाङमा खुर्पेठ्याक गरी चुँवाखोला क्षेत्रमा बसेको तथ्यलाई बल पुग्दछ। (PhayangAR, 1999)

त्यही बेला पाँचथरको लुङरुप्पा गाउँ वासुम खेतघारीमा पनि फयङ साँबा खुर्पेठ्याक गरी बसे । हाल उक्त स्थान फिदिम नगरपालिका वडा नं. १४ मा पर्दछ। (PhayangRB, 2019)

चैनपुर जाने फयङ साँबा सङ्खुवासभाका सिक्दिम, बाह्रबिसे, सभापोखरी, चैनपुरमा छरिएर बसे । उनीहरू त्यहीँ थापित भए। (PhayangMH, 2019)

फयङको एक हाँगो हाङपाङबाट अलग्गिएर भुटान गयो। हाल साँबा फयङ परिवार भुटानका विभिन्‍न क्षेत्रमा बसोबास गर्दछन्। त्यहाँबाट पनि छुट्टिएर एक हाँगो नागाल्याण्डमा फैलिएर गएको छ। (PhayangP, 2019) भारतको असममा हाङपाङबाट अर्को हाँगो छुट्टिएर गइबसेको छ।

फयङ साँबाको एक अर्को समूह हाल भारतको सिक्किममा पनि बसोबास गर्दछन्। तर त्यो समूह मेवाखोलाबाट गएको विश्‍वास गरिन्छ। यो समूह पाँचथर लुङरुप्पामा गइबसेका परिवारका निकट लाग्दछन्। जेठी र कान्छी श्रीमतिका सन्तान पाँचथर र सिक्किमा बाँडिएको अनुमान गरिन्छ। यसमा थप अध्ययन जरुरी छ।

नेपालका पहाडी जिल्लाबाट तराईमा झर्ने क्रम औलो नियन्त्रणपछि तीसको दशकबाट तीव्र रूपमा भयो। भारतीय सेना, वेलायती सेना तथा नेपाली सेनामा भर्ती भएका फयङ साँबा प्रायः नेपालको तराई जिल्लामा जग्गा किनेर बस्न थाले। कोही काठमाडौँ उपत्यकामा पसे भने कोही वेलायतमा पनि बसोबास गर्न पुगे। हाल फयङ साँबाको कूल जनसङ्ख्या करिब ९५२ जना (२०७ घरधुरी) रहेको छ।

धर्म र संस्कृति

किरात साँबा फयङको दर्शन शैव र बोन धर्म हो।

फयङ साँबा मुन्धुममा आस्था राख्दछन्। यिनीहरू शिवलाई थेबासाम र उमालाई युमासाम मान्दछन्। यसका साथै यिनीहरू हिमसाम्माङ, ताम्भुङना साम्माङ, तुङदुङ्गे देव लगायतका बहुईश्‍वर आराधना गर्ने प्रकृतिपूजक फेदाङ, साम्बा, येबा (Animistic- Shamanistic) मान्दछन्। यिनीहरूको पितृ देव शिव,पार्वती/ थेबा,युमा हुन्।

साँबा उत्पत्तिस्थल लिङथाङ यक हो। यो साँबा मेवाखोलामा रहेको छ। यसलाघ साँबाको माङ्गेना यक पनि भनिन्छ। यसको नजिकमा फङफङदेन झरना पनि छ। यस छहरा निकट रहेको गुफाभित्र शिवलिङ्ग, त्रिशूल रहेका छन्। यसलाई साँबा जातिले आफ्ना पुर्खाको चिनो मान्दछन्।

गुफाभित्र रहेका शिवलिङ्ग तथा त्रिशूलहरू किरात साँबा सेनद्वारा स्थापित भएको विश्‍वास गरिन्छ। यसबाट साँबा पुर्खा शिवपूजक भएको थाहा हुन्छ। किरात इतिहासले पनि किरात सेन साँबा शिवपूजक भएको बताउँछ।

काशीगोत्र

सेन वंश, साँबा अघि कश्यप, खाम्बोङ्बा, काशीगोत्रे तागाधारी थिए। यिनीहरू किरात राज लिम्बुवानमा प्रवेश गरेर विलय भएपछि राय/ राई लिम्बू भए। जुन कुरा गोरखाली-लिम्बुवान युद्धको अन्त्यमा वंशावली अध्ययन गर्दा थाहा भएको इतिहासमा उल्लिखित छ। काशीगोत्रे लिम्बू र मगर सेनको सम्बन्ध पछिल्लोपल्ट सिमाङगढमा भएकाले गोरखाली-लिम्बुवान युद्ध रोकिएको थियो। काशीगोत्रे जनैधारी थिए।

वि.स. १८६८ मा काशीगोत्रेले किरात लिम्बुवानमा खाइपाइआएको किपट गुम्ने भयले यिनीहरूले जनै त्यागेका थिए। यिनीहरूले ल्हासागोत्रे लिम्बूसित चुम्लुङ गरी किपट कायम राख्‍न एकतावद्ध हुँदै जनै त्याग गरेको र कुटुम्बेरी चलाएको इतिहासले बताउँछ। (IngnamLimbu, 2012)

आज वर्तमान अवस्था सरसर्ति हेर्दा फयङ साँबा समाजमा शिव, बोन, थेबा, युमा, सत्तेहाङ आस्था मान्दछन्। यो समुदाय जातपातरहित गैरब्राम्हणवादी पूर्व वैदिक सनातन शैव हिन्दू परम्परा मान्दछ। यसैले यिनीहरूका आस्था केलाउँदा शैव, बोन, बौद्ध, बौद्ध बोन (युमा), सत्तेहाङ धर्म मान्ने गरेको देखिन्छ। हाल यो परिवारका कतिपय सदस्यले ईसाई र मुसलमान धर्म पनि मान्‍न थालेका छन्।

संक्षेपमा, फयङ साँबा जहाँ रहे पनि आफ्नो पैतृक स्थल, भाषा, लिपि र संस्कृतिलाई माया गर्दछन् । यो समुदायमा हामी किरात राई लिम्बू आदिवासी भन्‍ने भावना रहेको पाइन्छ।

Preview

Similar Posts

  • |

    जनस्वास्थ्य अभ्यास र अनुभव

    ‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author. लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय…

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • Flesh and Bone: The Indigenous Essence of the Nepali Language

    For ages, one narrative has set the terms for identity in the Central Himalayas – that the Nepali language is the authentic “daughter of Sanskrit”, originating in the hills of Khas, of pristine origin and civilised by institutional standardisation by only elites. However, upon peeling off the layer of state institution-driven polish, what lies beneath?…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

  • Mundhum Aesthetics

    The Meeting of the Old Rhythm and the Consciousness of Modernity. The Mundhum Aesthetics is a profound philosophical document in which the sounds of the Kirat civilisation that have disappeared are brought up to date with current thought. Mundhum is not merely a collection of chants and rituals; it is a sort of aesthetic vision,…