हामीलाई कस्तो खुशी चाहन्छ

डा. नवराज सुब्बा

परिचय

डा. नवराज सुब्बा a-writer-in-Nepal द्वारा लिखित लेख सिक्काका दुवै पाटा पुस्तकबाट लिइएको छ । आशा छ, पाठकलाई यो लेख उपयोगी तथा जाकारीमूलक हुनेछ । आफ्ना प्रतिकृया दिएर लेखकलाई सहयोग गरिदिनुहोला ।

Nawa Raj Subba, a Nepali writer
Nawa Raj Subba, a Nepali writer

पृष्ठभूमि

हामीलाई कस्तो खुशी चाहिन्छ? पहिले खुशी के हो चर्चा गरौँ । मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा प्राय: सबैको उत्तर आउँछ, खुशी । मानिसले धेरै अघिदेखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको चीज खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निर्क्यौलमा पुगेका छैनन् आखिर यो खुशी भनेको हो के?
खुशी सम्बन्धमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरिदिएका छन् । उनका अनुसार खुशी भनेको असल मानिस हुनु हो । मानिस कसैको दासत्वमा नपरिकन स्वाभिमानमपूर्वक बाँच्‍न पाउनुलाई उनी खुशी मान्दथे । त्यसैले खुशी एउटा लक्ष्य बनेको छ जुन पाउन असम्भव नभए पनि कठिन छ ।
अर्का ग्रीसेली दार्शनिक एपिक्युरसअनुसार खुशी सानातिना कुराबाटै प्राप्त हुने चीज हो । ठुला कुराले मात्र होइन मानिसलाई साना कुराले नै बढी खुसी दिन्छन् । यसकारण हामी सानातिना कुराबाट पनि सन्तोष र खुशी प्राप्त गर्न सक्दछौं ।
पश्‍चिमेली जगतमा क्रिश्‍चियन धर्मको उदयपछि खुशीको अवधारणामा परिवर्तन आयो । ईसाई दर्शनानुसार खुशी यो लोकमा नपाइने वस्तु हो । खुशी परलोकमा मात्र पाइने चीज हो भनेर ईसाई दर्शन व्याख्या गर्दछ । यसरी धर्मले खुशीलाई अलौकिक वस्तु मान्दै आदिभौतिक शैलीमा व्याख्या गर्दछ । आस्थानुसार खुशी पाउन मानिसले धर्मगुरुले भनेबमोजिम गर्नुपर्दछ । ईसाइ दर्शनमा अझ जीवन बलिदान दिनुलाई खुशी मानिन्छ । मानिसले ईश्‍वरका नाममा शरीर त्यागेपछि अर्को जुनीमा मात्र खुशी पाइन्छ भन्‍ने ईसाई मान्यता छ ।

हिन्दू दर्शन


खुशी सम्बन्धी हिन्दू दर्शनको व्याख्या पनि उस्तै नै छ । हिन्दू धर्मग्रन्थले क्षत्रीय धर्मको व्याख्या गर्दा आफ्नो जीवन वलिदान दिनुलाई खुशीको मार्ग बताइएको छ । युद्धमा जिते सिंहासन पाइने अनि वीरगति पाए स्वर्गको सुखासन मिल्ने भनेर हिन्दू धर्मले लडाईकालागि क्षत्रीयलाई अभिप्रेरित गर्दछ । यसरी धर्मशास्त्रले क्षत्रीय धर्म सुखको नाममा मानिसलाई युद्धोन्मुख तुल्याइदिएको छ । साहित्य रचनाकर्ता पुरोहित वर्गले शासक अर्थात् बलिया, बाङ्गालाई युद्धनिम्ति उक्साएको प्रष्ट देखिन्छ । सत्तालाई खुशी र सुखलाई धर्म मान्‍ने मूल्यमा नै महाभारत कथा बुनिएको छ । सबै धर्मले मोक्ष, सत्ता, खुशी वा सुखका पक्षमा वकालत गर्दछन् । खुशीको बाटो देखाउने क्रममा साहित्यकारले मानिसको भावनामा खेलेर सुन्दर रचनामार्फत् भुल्याउने वा स्वार्थसिद्धि गर्ने काम गरेका छन् ।
पश्‍चिमेली मुलुकमा पूँजीवादको विकासले शिक्षाको प्रकाश छायो र बजारको विकास पनि भयो । पूँजीवादको उदयपछि पश्‍चिमी जगतमा खुशीको परिभाषामा परिवर्तन आयो । पूँजीवादले व्यक्तिगत स्वार्थ पूरा गर्दै पूँजी र वस्तु संकलन गर्नुलाई खुशी मान्‍न थालियो । उनीहरू भौतिक वस्तुले मानिसको इच्छापूर्ति हुने र त्यसबाट खुशी मिल्नेमा विश्‍वास गर्न थाले । पश्‍चिमेली जगतमा वस्तुको संग्रहलाई खुशी मानिन्छ । त्यसकारण उनीहरूले विभिन्‍न मुलुकहरूलाई उपनिवेश बनाएर त्यहाँबाट प्राकृतिक साधनको दोहन गरे । त्यहाँका पुरातात्विक वस्तु लुटेर, चोरेर लगे अनि व्यक्तिगत म्युजियम बनाए । हाम्रा देवीदेवताका पुराना मूर्तिहरू त्यसकै सिकार भए । पश्‍चिमाको सिको एसियालीले पनि गरे । नेपालमा पनि हुनेखानेले आजकल मोटर, गाडी, बंगला बनाउनुलाई खुशी ठान्दछन् । उहिले बुढापाका तीर्थ जानुलाई खुसी मान्दथे । आज उनीहरूका सन्तान पश्‍चिमेलीको सिको गरेर देश, विदेश घुमेर खुशी पाइन्छ भन्‍ने ठान्दछन् ।

आधुनिक अवधारणा


सन् ५० र ६० को दशकमा विश्‍वमा खुशी राजनीतिक तथा सामाजिक–सांस्कृतिक मूल्य र मान्यतामा आधारित थियो । समाजमा मानिसले दासताबाट मुक्ति पाउनुलाई खुशी भन्दथे । विदेशीको शासनबाट मुलुक स्वतन्त्र हुनुलाई सुख मान्दथे । त्यही क्रममा विश्‍वमा मानिसले बाँच्‍नलाई चाहिने विभिन्‍न नैसर्गिक अधिकार पाउनलाई खुशी मान्‍न थाले । यो क्रम पश्‍चिमबाट पूर्वमा सरेको थियो । फलस्वरुप हाम्रो छिमेकी मुलुक भारत र चीन पश्‍चिमेली साम्राज्यवादको प्रत्यक्ष निसानामा परे । नेपाल पनि लामो कालदेखि विकसित मुलुकहरूको अर्धउपनिवेश भएको छ । यहाँका राष्ट्रप्रेमी जनता स्वतन्त्र, सक्षम मुलुक नेपाल चाहन्छन् । उनीहरू स्वतन्त्र, समावेशी राष्ट्रको नागरिक हुनपाउनुलाई खुसी मान्दछन् ।
विश्‍वमा विस्तारै उपभोगवादी सोच र शैलीको विकास भयो । बहुराष्ट्रिय व्यापारिक कम्पनी र आमसञ्‍चारले उपभोगवादलाई प्रबर्द्धन गरिरहेका छन् । ब्यापारबाट कमाउने धन्दामा सबै लिप्त छन् । उनीहरू आमसञ्‍चारमार्फत् खुशी भनेको उपभोगबाट आउने वस्तु हो भनी झ्याली पिट्दछन् । उत्पादित सामग्रीबाट प्राप्त हुने नयाँ स्वाद वा अवस्थालाई खुशी भन्दै धुँवाधार विज्ञापन गर्दछन् । यसरी पूँजीवादले नयाँ नयाँ वस्तुको उपभोगले नै मानिसलाई खुशी मिल्छ भनेर दुनियाँलाई दिग्भ्रमित तुल्याइरहेछन् । पूँजीवादका विभिन्‍न साधनले मानिसको दिमागमा रङ घोलिदिएको छ । फलस्वरुप मानिस यही सोंचका पछि खुसी खोज्दै दौडिरहेका छन् ।
खुशीलाई ब्याख्या गर्ने मनोवैज्ञानिक सिद्धान्तको पनि विकास भएको छ । आज यौन मनोविज्ञानले मानिसमा अलग धारणा विकसित गरिदिएको छ । बीसौं शताब्दीमा सिग्मण्ड फ्रायडको यौनवादी सिद्धान्त ल्याए । उनले मानिसको यौनेच्छा, सन्तुष्टि र व्यवहारको व्याख्या गरे । यौनलाई आनन्द, खुसी भनी ब्याख्या गरियो । अर्का यौन मनोवैज्ञानिक विलियम रिकले पनि स्वच्छन्द प्रेम र यौनिकतासित खुशीलाई जोडिदिए । उनले पनि यौन र खुशीको सम्बन्धबारे थप व्याखा गरे । यौनवादी दृष्टिकोणले खुसीको व्याख्या गर्ने तथा यौनबाट खुशी खोज्‍नेको संख्या आज उल्लेख्य मात्रामा बढेको छ । समाजमा यौन आनन्दलाई खुशी मान्‍ने बुझाइ पुरानै भए तापनि यसको आयाम विस्तार भएको छ ।

खुशीको नविन ब्याख्या


कार्ल सेडरस्ट्रोमको ह्युमन पोटेन्सिय मुभमेण्ट (१९६०) ले खुशीलाई जटिल ढङ्गले ब्याख्या गरिदिएका छन् । उनका अनुसार खुशी केवल कल्पना (फेन्ट्यासी) मात्र हो । उनको यो धारणामा पूँजीवादले खेल्ने मौका पायो । साहित्य पनि कल्पना (फेन्ट्यासी) भित्र रूमल्लियो । पूँजीवादले मानिसलाई खुशी प्राप्तिका लागि सम्पत्ति जोड्ने र वस्तु संकलन गर्न सिकाएको थियो । फलस्वरुप मानिसबीच असमानताको खाडल बढ्‍दै गयो । पूँजीवाद भित्र व्यक्तिको इच्छा, प्रतिस्पर्धा, इज्जत जस्ता तत्वहरूले प्रश्रय पाए । पूँजीवादले मानिसको व्यक्तिगत खुशीलाई खोजीको केन्द्र बनाइदियो । मानिसको खुशीलाई व्यक्तिगत स्तरमा केन्द्रीत गर्नुलाई पूँजीवादको गलत प्रवृत्ति, परम्परा र परिणाम हो भनेर विद्वानहरूले बताएका छन् । पूँजीवादले सदा आनन्दानुभूति र सन्तुष्टीको मात्र वकालत गर्ने गरेको छ । उसले त्यसमा वस्तुलाई सदा जोड्ने गर्दछ ।
सन् ८० को दशकपछि विश्‍वमा भएका राजनीतिक परिवर्तनले व्यापारिकरणको गतिलाई तीव्रता दिएको छ । उपभोक्तावादको वकालत र विकास गर्न अमेरिका लगायत पश्‍चिमा जगतमा सञ्‍चार माध्ययले ठूलो भूमिका खेलेको छ । यसले व्यक्तिवादी सोंच र उपभोक्तावादी चेतनालाई नै मलजल गरिदिएको छ । फलस्वरुप विश्‍वको संस्कृति परिवर्तन र सोंचमा खुशी भनेको उपभोगवाद हो भन्‍ने सिद्धान्तको पक्षपोपण भइरहेको छ । उपभोगवादी शैली, संस्कारको प्रबर्द्धन र विकासले हरेक समाजलाई बजार बनाइदिएको छ । उदाहरणका लागि आज हामीलाई हरेक वर्ष नयाँ नयाँ मोडलका मोबाइल फोन, गाडी आदिको खोजी गर्ने गर्दछौँ ।

जीवनशैली


यसैबीच आजकल कोही मानिसहरू प्राचीन महर्षिझैं योग र ध्यान गरेर खुशी हासिल गर्न पट्टि लागेका छन् । यो हाम्रो शैव दर्शन वा पूर्वीय सभ्यता र संस्कृति हो । यसमा सत्यता नहुने कुरै छैन । यसलाई अध्यात्मसित गाँसेर हेरेमा खुशी चिन्‍ने अन्तर्दृष्टि त्यहाँ पाइन्छ । भगवान वुद्धले पनि आत्मकेन्द्रीत दर्शनको वकालत गरेका छन् ।
एकातिर अन्तर्मुखी भएर खुशीको बाटो खोजिन्छ अर्कातिर, खुशीको खोजीमा चलेको दौडमा मानिस स्वयम् खुशी दिलाउने साधन बनिरहेकामा कार्ल सेडरस्ट्रोम सचेत गराउँछन् । उनको विचारमा मानिस एक्लैले खुशी प्राप्त हुने कुरो होइन । सेडरट्रोमअनुसार मानिसले खुशी प्राप्त गर्न पहिले वरिपरिको समाज, वातावरणसित उसले घुलमिल हुन सक्नुपर्दछ । समानता, समुदाय, समस्या, सहानुभूति जस्ता यथार्थसित मानिसले साक्षात्कार गरेर मात्र मानिसलाई खुशी मिल्दछ । उनको यो सिद्धान्त मानवतावदी दर्शन हो ।
जेहोस्हा, हामीसित खुशी व्याख्या गर्ने सिद्धान्तको कमी छैन । तैपनि हामी खुशी हुन सकेका छैनौं । विश्‍वमञ्‍चमा प्रक्षेपित खुशीको नयाँ परिभाषा समेट्न व्यवहारवादी, सामुदायिक र जनमुखी सिद्धान्तको वकालत हुन थालेकोमा मलाई खुशी लागेको छ । जुन दृष्टिकोण अन्तर्मुखी हैन वाह्यमुखी, व्यक्तिवादी हैन समुदायमुखी चेतनाले ओतप्रोत छ । आफूले मात्र मोक्ष वा शान्ति पाएर विश्‍वशान्ति नहुने रहेछ भन्‍ने तथ्य सिद्ध भइसकेको छ । त्यसैले हामीलाई आज सामुहिक, बाह्यमुखी, पारदर्शी चेतना, शैली र व्यवहारको खाँचो परेको छ । त्यस्ता मानवोपयोगी व्यवहारिक दर्शनबाट हासिल हुने खुशी मात्र दिगो हुन्छ ।

अन्तमा


विश्‍व शान्तिलाई मलजल पुग्‍ने खालका सोंच र शैलीको आज आवश्यकता छ । मुख्य कुरो, खुशी मभित्रबाट भएर मात्र हुदैन हामीभित्रबाट निस्कनु पर्दछ तब मात्र दिगो खुशी वा सुख मिल्दछ ।

सन्दर्भसामग्री
सेडेस्ट्रम, कार्ल (२०१८) दि हेप्पीनेस फेन्ट्यासी: आइएसबिएन ९७८–१–५०९–५२३८०–१, वेले ।

Thuprai.com

Self-Reflection at the Moment
Health Workers Training