खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता शर्त रहेछ । सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा संचालित एक जनस्वास्थ्य कार्यक्रममा सामाजिक, आर्थिक अवस्था उकास्न हामी पराले त्यान्द्रो बाँडिरहेछौं । यही अभियानमा हामी छौं । आशाले बोलिसके पछि मैले मनमनै सोचें– केवल तीनहजार र व्यवसायिक तालिमले मात्र उनको जीवनमा यत्रो परिवर्तन ! कार्यक्रम समापन पछि चिया पिउँदा पिउँदै मैले साझेदार संस्थाका मित्रसित फेरि अघिको कुरा कोट्याएँ । उनले मलाई बताए– आज बिभिन्न संस्थाहरूले व्यवसायिक तालिम र साधन उपलब्ध गराए पनि दिएका सिलाई मेसिन घरधरमा थन्किएका अवस्थामा छन् । यद्यपि आवश्यक परेका अर्थात् लक्षित समूहको सही पहिचान गरेको खण्डमा त्यसको सही उपयोग हुँदो रहेछ र राम्रो प्रतिफल आउँदो रहेछ, यो त्यसैको दृष्टान्त हो ।

आजको यो उपभोगवादी जमानामा सडक किनारमा च्याऊझैं उम्रेका सेकुवा कर्नरमा एकजोडी एकछिन खान बसे भने सजिलै तीनहजार रुपैया चट् पार्छन् । तर त्यही रकम कसैको जीवनको भेलमा बग्दाबग्दै भेटिएको आशारुपी परालको त्यान्द्रो पनि रहेछ जसले जीवनमा साँच्चै परिवर्तन ल्याउँदो रहेछ । यसरी सहारा खोज्ने सही हात पहिचान गर्नु आजको चुनौति भएर उभिएको अवस्था म देखिरहेछु । जेहोस्, खुशीको आँखु कुन बेला कसरी आउँदो रहेछ, मैले बुझें । यो देखेपछि अर्थात् यति कुरा बुझेपछि मेरा पनि आँखा रसाए ।

असार २९, २०६९ विराटनगर नेपाल । .

Similar Posts

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • विराटनगरमा एकल प्रस्तुती

     १ फागुन २०६६, विराटनगर, कवि नवराज सुब्बाले रोटरी क्लब अफ विराटनगरमा एकल प्रस्तुती कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो । सोही अवसरमा "देशको माया" एलवमको "नेपाली नेपाली हामी नेपाली" गीतको भिजुयल -श्रव्यदृष्य) पनि प्र

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • धन्यवाद तथा आभार प्रकट

    करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि…

Leave a Reply