खुशीको आँशु

नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्न आर्थिक स्वतन्त्रता शर्त रहेछ । सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा संचालित एक जनस्वास्थ्य कार्यक्रममा सामाजिक, आर्थिक अवस्था उकास्न हामी पराले त्यान्द्रो बाँडिरहेछौं । यही अभियानमा हामी छौं । आशाले बोलिसके पछि मैले मनमनै सोचें– केवल तीनहजार र व्यवसायिक तालिमले मात्र उनको जीवनमा यत्रो परिवर्तन ! कार्यक्रम समापन पछि चिया पिउँदा पिउँदै मैले साझेदार संस्थाका मित्रसित फेरि अघिको कुरा कोट्याएँ । उनले मलाई बताए– आज बिभिन्न संस्थाहरूले व्यवसायिक तालिम र साधन उपलब्ध गराए पनि दिएका सिलाई मेसिन घरधरमा थन्किएका अवस्थामा छन् । यद्यपि आवश्यक परेका अर्थात् लक्षित समूहको सही पहिचान गरेको खण्डमा त्यसको सही उपयोग हुँदो रहेछ र राम्रो प्रतिफल आउँदो रहेछ, यो त्यसैको दृष्टान्त हो ।

आजको यो उपभोगवादी जमानामा सडक किनारमा च्याऊझैं उम्रेका सेकुवा कर्नरमा एकजोडी एकछिन खान बसे भने सजिलै तीनहजार रुपैया चट् पार्छन् । तर त्यही रकम कसैको जीवनको भेलमा बग्दाबग्दै भेटिएको आशारुपी परालको त्यान्द्रो पनि रहेछ जसले जीवनमा साँच्चै परिवर्तन ल्याउँदो रहेछ । यसरी सहारा खोज्ने सही हात पहिचान गर्नु आजको चुनौति भएर उभिएको अवस्था म देखिरहेछु । जेहोस्, खुशीको आँखु कुन बेला कसरी आउँदो रहेछ, मैले बुझें । यो देखेपछि अर्थात् यति कुरा बुझेपछि मेरा पनि आँखा रसाए ।

असार २९, २०६९ विराटनगर नेपाल । .

Similar Posts

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

  • मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

    बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • आत्मसन्तुष्टीको अनुभूति

    जीवनकालमा आफ्नै रचनाले अरु कसैको मन जितेको देख्नु वा सुन्नु पाउनु अथवा अनुभूत गर्न पाउनु भन्दा सुन्दर उपलब्धि अरु केही छैन । आजकल हङकङमा राष्ट्रिय गीत गायक सुमित खड्का ‘हामी पहिले नेपाली’ गीति एल्बम हङकङमा बसोबास गर्ने नेपाली माझ सार्वजनिक गर्दै हुनुहुन्छ । हङकङ नपाली महासंघको संयोजनमा उक्त एल्बम हङकङमा पनि सार्वजनिक गरिने र हङकङ…

  • मेरो जीवन यात्रा

    नवराज सुब्बा

    मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

Leave a Reply