| |

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

डा. नवराज सुब्बा ।

पृष्ठभूमि
नेपाली बाङ्मयमा भाषा अध्येताका लहरमा छुटाउनै नमिल्ने नाम हो भाषाशास्त्री बालकृण्ण पोखरेल । एकथरी भाषाविद् नेपाली भाषालाई पहाडी हिन्दी मानेर भारोपेली परिवारभित्रको एक भाषाको रुपमा चिन्दछन् । अर्काथरी भाषाविद् नेपाली भाषालाई संस्कृत र हिन्दीको एक भाषिकाको रुपमा समेत देख्दछन् । वि.स. २०१३ सालमा संखुवासभाबाट ‘नौलो पाइलो’ पत्रिकाबाट बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, तारानाथ शर्मा र चुडामणि रेग्मीले संयुक्त रुपमा नेपाली झर्रोवादी भाषिक अभियान आरम्भ गर्नुभयो (न्यौपाने, २०७५)। वि.स. २०६३ सालमा आन्दोलनको स्वर्णजयन्ति विशेषाङ्क प्रकाशित भइसकेको छ । उहाँहरुले नेपाली भाषालाई संस्कृतबाट प्रभावित तर भिन्न प्रजातीय मौलिक खस भाषालाई नेपालको राष्ट्रभाषा दावी गर्नुभएको छ । नेपाली भाषामा नेपाली माटोको सुवास आउने झर्रा लवज मिलाएर नेपाली भाषामा मौलिकता थप्ने काममा भाषाशास्त्री पोखरेलको समेत बलियो हात छ ।

परिचय
झर्रोवादी भाषा आन्दोलनले नेपाली भाषा र शैलीमा मानक स्थापित गरिदिएको छ । नेपाली भाषालाई भारोपेली भाषा परिवार तथा हिन्दी सगोत्रीय साइनो चुँडाउन संभव नभएता पनि अलग नेपाल राज्यजस्तै सार्वभौम राष्ट्रभाषा बनाउन उहाँहरूले भरमक्दुर प्रयास गर्नुभयो । नेपाली पर्वते पहाडी जनबोलीलाई नेपाली भाषा भनी वकालत गर्नुभयो । साक्षीस्वरुप भाषागत ठेट् नेपाली शब्दावली र विशिष्ठ शैली प्रक्षेपण गर्नुभयो । नेपाली भाषा भारोपेली भाषा परिवारको एक सदस्य तथा संस्कृत र हिन्दी भाषा भाषाका नातेदार भएको भाषाशास्त्रीय मत छ । खस भाषा प्राचीन कालमा जुम्ला, पर्वत, गोरखा क्षेत्रमा प्रचलित थियो । गोरखा राज्यविस्तार तथा नेपाल एकीकरणसंगै यो भाषाले विस्तारित र विकसित रुप ग्रहण गर्दै आयो । ऐतिहासिक खस भाषा हाल नेपालको एक राष्ट्रभाषा तथा सरकारी कामकाजको भाषा समेत बनेको छ । नेपाली भाषाका सैद्धान्तिक मान्यतालाई ठाडो उभ्याउन झर्रोवादले मानिसको शरीरमा एक नसोले झैं काम गरेको मान्नु अत्युक्ति नहोला ।

यो लेखको बारेमा भन्नुपर्दा यहाँ प्राध्यापक पोखरलेलका साहित्यिक योगदानबारे चर्चा हुने छैन । तापनि उहाँको लेखनशैलीबारे संक्षेपमा केही शब्द कोरिने छन् । हाल विश्वमा भएको संचार प्रविधिको विकास, अंग्रेजी तथा हिन्दी भाषाको प्रभावले नेपाली अखबारी भाषा तथा रेडियो, टेलिभिजनका बोलिचालि प्रभावित देखिन्छन् । त्यसबेला नेपाली व्याकरणले मात्र सम्हाल्न नसक्दा झर्रो नेपाली मौलिक सन्दर्भले काँध थाप्ने गर्दछन् । वातावरणीय प्रभावले संचार जगतमा आएका भाषागत तथा शैलीगत विकृतिका बाढीबाट नेपाली भाषाको विशिष्ठता जोगाइराख्न झर्रोवाद भित्तो झैं ठडिएको देखिन्छ । यसर्थ नेपाली भाषिक अभियन्ताका लहरमा उभिएका प्रा. बालकृष्ण पोखरेल तथा उहाँका साहित्यिक व्यक्तित्व नेपाली पाठकमाझ अध्ययन स्रोत बनेका छन् ।

प्राध्यापक पोखरेलको बौद्धिक ज्ञानभण्डार, सिर्जनशील मसी तथा सिद्धहस्त साहित्यिक कलम नेपाली पाठकलाई सदा आकर्षित गर्ने क्षमता राख्दछन् । उहाँले नेपाली भाषामा गतिला निबन्ध, समसामयिक समाजिक उपन्यास, कथा, कविता, लेख आदि प्रसस्त मात्रामा लेखेर नेपाली साहित्यको भण्डारलाई धनि बनाउनु भयो । उहाँको भाषाशास्त्रीय विशिष्ठ योगदानलाई म यतिमा नै बिट मार्दछु ।

पाठको उद्देश्य
माथि भनियो, उहाँका ती साहित्यिक कृतिउपर चर्चा गर्ने यो लेखको उद्देश्य होइन । उहाँले भाषाशास्त्रमा पुर्याएको योगदानबारे नेपाली साहित्यमा चर्चा भएका छन् । तर उहाँले भाषाशास्त्रको सेवा गर्दागर्दै मानवशास्त्रमा पुगेका योगदानबारे यथोचित चर्चा भएको छैन । एक अन्तर्वार्तामा भाषाशास्त्री टङ्क न्यौपानेले प्राध्यापक पोखरेलको नृतत्वशास्त्रीय ज्ञानको झल्कोसम्म दिनुभयो (न्यौपाने, २०७५) । उहाँको गहन व्यक्तित्व उजाजर गर्ने सवालमा खाडल भेटिन्छन् । त्यही कमीलाई कम गर्न यो लेख अघि सारिएको हो । उहाँको ‘खस जातिको इतिहास’ शोधमार्फत प्रकाशित ज्ञान र दर्शनको एक सार विभिन्न जातिबिच रक्तमिश्रण तथा रक्तगत अनन्याको विश्लेषण गर्नु यो लेखको ध्येय हो । उहाँले खस, आर्य, किरात लगायतका सांस्कृतिक विकासक्रम तथा व्यवहारको विवेचना ‘खस जातिको इतिहास’ शोधमा गर्नुभएको छ । त्यहाँ उहाँले किरात संस्कृति र व्यवहारको समेत यथेष्ट चर्चा गर्नुभएको छ (पोखरेल, २०५५) । कतिपय ती चर्चा विभिन्न पक्षसित तुलनीय देखिन्छन् । ग्रिसेली पुराकथाको विवेचना पोखरेलले गहन ढङ्गले गर्नुभएको छ । जसलाई म किरात मुन्धुमको पुराकथाको कथासारसित तुलनीय रहेको दाबी गर्दछु ।

प्रा. पोखरेलको मानवशास्त्रीय दृष्टिकोण
भाषाशास्त्री बालकृष्ण पोखरलेलको मानवशास्त्रीय चेतना र योगदानबारे थप चर्चा गर्न चाहन्छु । प्राज्ञिक जगतले प्राध्यापक बालकृष्ण पोखरेललाई सदा सम्झना गर्ने क्षेत्र हो अनुसन्धान । भाषाशास्त्रमा उहाँले गर्नुभएको अनुसन्धान ‘खस जातिको इतिहास’ नामक शोधग्रन्थ मानवशास्त्रीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । यो ग्रन्थ नेपाली भाषाशास्त्रको लागि मात्र सन्दर्भ ग्रन्थ नभएर यो अन्य विधा र क्षेत्रको लागि पनि उत्तिकै गहकिलो र गतिलो खुराकी हो । यो ग्रन्थले मानवशास्त्र, इतिहास र संस्कृतिका विद्यार्थीलाई गतिला ज्ञान पस्केको छ । मैले पनि किरात संस्कृतिको अध्ययनको क्रममा उक्त ग्रन्थमा प्रकाशित उज्याला ज्ञानका किरणलाई उपयोग गरेको छु । नढाँटी भन्दा, उहाँको उक्त शोधग्रन्थ यति गहन छ जसलाई एकफेर सरसर्ति हेरेर मात्र बुझिंदैन । त्यसलाई दोहोर्याएर मात्र पनि पुग्दैन । त्यसलाई बुझ्ने सही दृष्टिकोण, धैर्यता र चिन्तन समेत आवश्यकता पर्दछ । यो मभित्रको शोधार्थीको व्यक्तिगत अनुभूति हो । हो, उहाँले करिव चारदशक लगाएर तयार पारेको ग्रन्थ पक्कै चानचुने छैन । जोकोहीलाई शिर्षक हेर्दा यो खस जातिको इतिहास जस्तो मात्र लागे तापनि यो शोध ग्रन्थभित्र नेपालमा बसोबास गर्ने बाहुन, क्षेत्री, मगर, राई, लिम्बू, तामाङ, दनुवार, दलित आदि सबैका इतिहास र संस्कृतिसम्बन्धी महत्वपूर्ण सन्दर्भ प्रसस्त छन् ।
‘खस जातिको इतिहास’ शोधग्रन्थले बालकृष्ण पोखरेललाई एक मानवशास्त्रीको रुपमा स्थापित गरिदिएको छ । उहाँले नेपालका विभिन्न जातिका सांस्कृतिक विकासक्रम र व्यवहारको अध्ययन गर्नुभएको छ । उहाँले ग्रन्थको सारमा संसारका कुनै पनि जाति रक्तमिश्रणबाट अछूता छैनन् भनेर ठोकुवा नै गर्नुभएको छ । किरात र खसको रक्त अनन्यताको बारेमा उहाँले किरगिस पहाडलाई साक्षीको रूपमा उभ्याउनु भएको छ । किरातसित ब्राम्हण र दलितसित कसरी सम्बन्ध स्थापित (रक्तअनन्या) रहेको भन्ने तथ्य लाङ्गाराज (नागराज)को दृष्टान्तद्वारा बताउनु भएको छ । उहिले मानसरोवरमा लामो अवधिसम्म लाङ्गाराज (नागराज)को साहचार्य गरी शक्तिलाभ गरेका कुलु (कुनु/सुनु)वंश थिए । किरातमा गनिने सुनुवार त्यही वंशमध्येका हुन् । भारत हिमाञ्चल प्रदेशको कुल्लु उपत्यकाले अझै कुलवंशको नाम उच्चारण गरिरहेको छ । कुलु (कुनु)बाट शुनु भएर पनि कुल (गुल) वंशले आफ्नो अस्मिता कुकुर (कात्तिके÷काठो) ढाक्न सकेन । शकगण र कपिलले सत्ता खोसेपछि कत्युरी र कुलिन्दले ठूलो चोट सहनु पर्यो । तब एकथरी उत्तर भागी गेलाल (ब्राम्हण) भए, अर्कातिर शुनु (कुकुर)का रुपमा पुहुनीको काम गर्ने दास (दलित) भए र तेस्राथरी चाहिँ प्रतिष्ठा बचाउन सुनुवार नामक किरात सुनुवार वंशको संस्थापक भएर किरातमा मिसिए (पोखरेल, २०५५) । यसरी प्राध्यापक पोखरेलले खस र आर्यसित किरातको रक्तअनन्या रहेको दर्शाउनु भएको छ । त्यसैले नेपालमा आर्य, खस, किरातबिच रक्तमिश्रण सिद्धान्तलाई पुष्टि गर्ने अनगिन्ति दृष्टान्त शोधग्रन्थमा उहाँले पस्कनु भएको छ । मानवशास्त्र र समाजशास्त्रले उहाँका तथ्य र दृष्टिकोणलाई सारमा समर्थन गरेका देखिन्छन् (थुलुङ, २०४२; चेमाजोङ, २०६०; विष्ट, २०५५; Bista, 1972) ।

छलफल
प्राध्यापक बालकृष्ण पोखरलले ‘खस जातिको इतिहास’मा अघि किरातका पुर्खा सुमेर, कुर्म र कश्यपका पुर्खा काशी तथा गोथबिच मेसोपोटेमियामा रक्तमिश्रण भएको टड्कारो जनाउ दिनुभएको छ । उहाँको यो भनाइलाई अर्का इतिहासकार नारदमुनि थुलुङ र इमानसिंह चेमजोङद्वारा प्रस्तुत तथ्यहरूले पनि समर्थन गरिदिएका छन् (चेमजोंङ, २०६०क,२०६०ख; थुलुङ, २०४२) । रक्तमिश्रणका क्रममा सुमेर प्रभावित किरात र काशी प्रभावित खस, आर्य भए भन्ने पोखरेलको सिद्धान्तलाई किरात लिम्बू इतिहासले थप बल र ब्याख्या गरिदिएको छ । आज किरातका अग्रज लहर खाम्बोङ्बा जाति आफूलाई काशीगोत्र (कश्यप) भएको दावी गर्दछन् । यसबाट थाहा हुन्छ काशीगोत्र आर्य, खस जातिमा मात्र नभएर किरात जातिमा अझ टड्कारो देखिन्छ । अघि काशीले मानेको छाग धर्मको टोटेम हाल आर्य र खसमा हराएर गए तापनि किरातमा छागभक्षण तथा बाख्राको मासु बार्ना ९त्बदयय० अघिको पूर्वजाभासको रूपमा रहेको भाषाशास्त्री पोखरेलको ठहर छ । किरात लिम्बू आफूलाई सुमेर र काशी प्रभावित मान्दछन् । काशी प्रभावका किरात लिम्बू जाति हाल खस र आर्य निकट देखिनु त्यसैले स्वभाविक मानिन्छ । किरात पुर्खा आर्य पुर्खापूर्व नै शिवलाई कुलगुरु मान्ने गर्दथे (Danielou & Gabin, 2003) । त्यसैले शिवलाई किरातेश्वर पनि भनिन्छ ।

भाषाशास्त्री पोखरेलले समेत किरात लिम्बूको मुन्धुम (वेद)को लहरो आर्य, खस भन्दा पर ग्रिसेली संस्कृतिसम्म नियाल्नु भएको छ । किरात मुन्धुमको पुराकथा र ग्रिसेली पुराकथाको सादृष्यताले अघि किरात जाति र ग्रिसेली निकटवर्ति भ्राता थिए भन्ने जनाउ दिन्छ । पुराकथाको तुलनात्मक अध्ययनद्वारा उनीहरूबिच अघि भातृत्व सामिप्यता रहेको सङ्केत मिल्छ । पुराकथा भनेको सृष्टिकथा हो । यो दर्शन पनि हो । यसर्थ पुराकथाबारे संक्षेपमा चर्चा गरौं ।

ग्रिसेली मिथकमा सृष्टिकर्ता क्रोनोसको निर्देशनमा तितानहरुले सुनको मानिस बनाए परन्तु तिनले मानवको खाँचो टार्न सकेनन् । उनले त्यसपछि चाँदीको मान्छे बनाए । ती चाँदीका मानिस अति दुष्ट भएर निस्किए, तिनले सर्जक वा देउताकै अनादार गरे । चाँदीको मान्छे पनि काम नलागेपछि जेउसले काँसको मानिस बनाए । ती कासका मानिस भयङ्कर मात्र नभै झगडालु भएर निस्किए । जब काँसको मान्छे पनि काम लागेन । उनले फेरि कुन्नि के को मान्छे बनाए (‘Ages of Man -Greek Mythology’, 2019) । क्रोनोसले चौथो खाले मानिस बनाए तर केबाट बनाए त्यो हेसिओडले बताएनन् । ती मान्छे ट्रोय र थेबेस युद्धमा मरेर वीरगति प्राप्त गर्ने अर्धदेवहरु त्यसै जातका थिए भनी होसिओडले भनेका छन् । ग्रिसेली पुराकथाअनुसार हालको मानिस फलामको मानिस हो (पोखरेल, २०५५) । यहाँ फलामको मानिस भन्नाले फलामयुगीन मानिस भनेर बुझ्नुपर्दछ ।

मुन्धुमको रचनाकाल ईशापूर्व ३००० देखि ईशापूर्व ४००० अर्थात् आजभन्दा लगभग ५–६ हजारपूर्व देखि ईश्वी सन् बाह्रौँ, तेर्हौं शताब्दीसम्म मानिएको छ (कन्दङ्वा, २०७५)। किरात लिम्बू मुन्धुममा तागेरा निङ्वाफूमाङ परमात्माले मान्छे सृष्टि गर्ने क्रममा सर्वप्रथम सुनको मान्छेको मूर्ति बनाए र बोलाउँदा मूर्ति बोलेन । त्यसपछि चाँदीको मानिस बनाए त्यो पनि बोलेन । त्यसपछि काँसको मान्छे बनाए तर त्यो पनि बोलेन । उनी दिक्क भए र नजिकै रहेको खरानी र सुलीबाट मानिसको मूर्ति बनाएर बोलाउँदा अचम्म! त्यो मान्छे ‘हजुर’ भनेर बोल्यो । सृष्टिकर्ता माङले अचम्म र खिन्नता मान्दै त्यत्रो सुन, चाँदी, काँसले बनाएर बोलाउँदा नबोल्ने, जाबो खरानी, सुलीले बनाएर बोलाउँदा भने बोल्ने भनेर ‘थुक्क’ भनीदिँदा मान्छेको शिर तत्काल ढल्यो र मयो । तब उनले हतारहतार मानिसको शिर उठाएर मान्छेलाई बचाए । त्यसरी तागेरा निङ्वाफूमाङले मानिस सृष्टिगरी जीवनभोग गर्न अह्राएका थिए भन्ने मुन्धुमी पुराकथाको भनाइ छ (चेमजोङ, २०६०क,२०६०ख)।

मुन्धुमी पुराकथा अनुसार मान्छेको शिर उठाएर सृष्टिकर्ताले जवानी हालिदिएपछि सृष्टिले निरन्तरता पायो । सृष्टिकालमा मान्छेमा जवानी आएपनि एकअर्कामा लाज लागेकाले सृष्टि नचल्ने देखेर सृष्टिकर्ताले मर्चाको सृष्टि गरी जाँड बनाएर खुवाइदिएपछि मानिसमा लाज हट्यो । तब सृष्टिले विस्तारित रूप पायो । मुन्धुममा फेरि हाडनातामा मान्छे बिग्रेका कथा आउँछ । त्यसपछि सृष्टिकर्ताले हाडनातामा बिग्रिए चट्याङ लागेर अकालमा मरिने सजायको त्रासमय बन्दोवस्त गरिदिए । त्यसरी सृष्टिकर्ताले जीवन र जगत आरम्भ र व्यवस्थित गर्न पुराकथामार्फत लाक्षणिक शब्दशक्तियुक्त सन्दर्भ, सन्देश र शिक्षा दिएका छन् ।
ग्रिसेली मिथक र मुन्धुमी मिथक तुलनीय देखिने अर्को बलियो आधार पनि छ । ती दुवै पुराकथामा सृष्टिकर्तासित उनका सन्तानले झगडा गरेको घटनाक्रम आउँछन् । किरात मुन्धुममा पनि माथि ग्रिसेली मिथकमा झैं सृष्टिकर्तासित उनका सन्तानले झगडा गरेको सन्दर्भ आउँछ (चेमजोङ, २०६०क, २०६०ख) । मुन्धुममा आँधी हुरीबिच जन्मेका उनका सन्तानले सृष्टिकर्तासित झगडा गरेका थिए । सृष्टिकर्तासित झगडा गरेको प्रसङ्ग किरात मुन्धुमको पुराकथामा मात्र नभएर ग्रिसेली पुराकथामा पनि आउँछ । आफ्ना सृष्टिकर्तासित सन्तानले विद्रोह गरेको परिदृश्य ग्रिसेली मिथक र मुन्धुमी मिथकमा देखिनाले ती घटनाक्रम तुलनीय छन् ।
कतिपय कुरामा मुन्धुम ग्रिसेली मिथकभन्दा टड्कारो देखिन्छ । मानिसको सृष्टि सम्बन्धमा ग्रिसेली पुराकथामा मानिस के के बाट बनेको भनिएको छ । किरात लिम्बू मुन्धुममा वर्णित सृष्टिकथाको मानिस खरानी र सुलीबाट सृष्टि भएको बताउँछ (चेमजोङ, २०६०क)। ग्रिसेली मिथकको के केबाट बनेको वा मुन्धुमको खरानी र सुलीबाट बनेको मानिस चौथो जाति को हुन सक्छन्? यस सम्बन्धमा यो जाति त्यहाँ चलेको भयङ्कर युद्धमा मारिएका अर्धदेव जाति थिए भनी प्राध्यापक पोखरेलद्वारा विश्लेषण गरिएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख भएको देवासुर सङग्राम तथा आदिवासीको बोन धर्मको प्राथमिक कालको दर्शनमा वर्णित संसारमा ईश्वरीय र दानवीय शक्ति (पक्ष) विद्यामन रहेको र तिनैबाट मानवजातिको सृष्टि भएको भन्ने मिथकले पनि लाक्षणिक रुपमा देवासुर सङ्ग्रामतिरै सङ्केत गर्दछ । वोन दर्शनले पनि त्यही प्रसङ्लाई सङ्केत गर्दछ (Bon, 2016) । त्यसरी पश्चिम एशियामा भएको भनिएको देवासुर महासङ्ग्रामपश्चात किरात जाति ग्रिसेलीजातिबाट छुट्टिएर पश्चिम एशियाबाट पूर्व तथा उत्तरपूर्वतर्फ लागेको विश्लेषण गरिन्छ । किनभने भाषाशास्त्री बालकृष्ण पोखरेलको भनाइ छ– “पुराकथालाई वाच्यार्थमा लिने हो भने हामी भुमरीमा पर्दछौँ, त्यसैले तिनका व्यङ्ग्यार्थ र लक्षार्थबाट नै पुराकथाको सही अर्थ निकाल्न सकिन्छ” (पोखरेल, २०५५)।

उपसंहार
संक्षेपमा, ग्रिसेली पुराकथा र मुन्धुमी पुराकथा तुलनीय छन् । किरात साहित्यमा लोकप्रिय रहेको सृष्टिकथा र ग्रिसेली मिथकको पुराकथाका पात्रबिच रूपमा केही फरक परेता पनि घटनाक्रमका सारमा समान छन् । यसरी किरात साहित्य र दर्शनलाई पाश्चात्य दर्शनसित नाता गाँस्ने काममा ईमानसिंह चेमजोङ, नारदमुनि थुलुङ तथा बालकृष्ण पोखरेलका अध्ययन अनुसन्धानले सहज तुल्याएदिएका छन् । अतः नेपाली वाङ्मयका एक दरिला खम्बा बालकृष्ण पोखरेलले आफ्नो अध्ययनमा खस लगायत किरात, आर्यका सांस्कृतिक चिन्हलाई मिहिन ढङ्गले विश्लेषण गरी मानवशास्त्रलाई लगाउनु भएको गुन उल्लेख्य छ ।

सन्दर्भ–ग्रन्थ सूची
कन्दङ्वा, नन्द, २०७५, लिम्बू समुदायको विभाजन र विखण्डन, तान्छोप्पा मासिक, वर्ष २३, अंक ४।
चेमजोङ, ईमानसिंह, २०६०क, किरात मुन्धुम (किरातको वेद तेस्रो संस्करण, ललितपुर, किरात याक्थुङ चुम्लुङ ।
चेमजोङ, ईमानसिंह, २०६०ख, किरात दर्शनको सारंश, ललितपुर, किरात याक्थुङ चुम्लुङ ।
थुलुङ, नारदमुनि, २०४२, किरातको नालिबेलि, विराटनगर, अङ्गुर कन्दङ्वा ।
न्यौपाने, टङ्क, १२ फागुन २०७५, मेरो नजरमा स्वर्गीय बालकृष्ण पोखरलेल गुरु, प्रदेश पोर्टल अनलाइन पत्रिका ।
पोखरेल, बालकृष्ण, २०५५, खस जातिको इतिहास, विराटनगर, उदात्त अनुसन्धान ।
विष्ट, डोरबहादुर, २०५५, सबै जातको फूलबारी, ललितपुर, साझा प्रकाशन ।
“Ages of Man – Greek Mythology.” 2019, July 11. Retrieved from https://www.greekmythology.­com/Myths/The_Myths/Ages_of_Man/ages_of_man.html
Bista, D.B. 1972. People of Nepal, Kathmandu, Ratna Pustak Bhandar
Bon. 2016, October 28. Religion Facts.Com. Retrieved from www.religionfacts.com/bon
Danielou, Alain & Gabin, Jean-Louis. 2003. Shiva and the Primordial Tradition: From the Trans to the Science of Dream. Inner Traditions Rochester, Vermont 05767.

Similar Posts

  • किरात मुन्धुम सुन्दरतम् मानव चेतना

    डा. नवराज सुब्बा (क) पृष्ठभूमि मुन्धुमको मूल मौखिक परम्परा मुन्धुम मौखिक परम्परा हो । यो लोक साहित्य हो । यसलाई साम्बा, येबा, येमा, फेदाङबाको मुख–मुखमा झुण्डिदै आएको थतुनोमा विकसित थुतुरे वेद पनि भनिन्छ । लामो पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै जाँदा यसको मौलिकतामा केही फरक पर्न सक्दछ । यसैले विभिन्न पुस्तामा, भिन्न स्थानमा पाइने मुन्धुममा विविधता…

  • Senior-citizens

    Dr. Nawa Raj Subba Senior Citizens in Nepal: A Growing Concern and Call to Action Nepal’s senior-citizens are facing significant challenges, with their population increasing each year. These issues demand urgent attention as elderly individuals often struggle with inadequate nutrition, poor mental health, and insufficient care from existing systems. Despite efforts from the government and…

  • सुशासनको नयाँ किरण:

    सुशासनको नयाँ किरण: सरकारी सम्पत्ति र संस्कृतिको संरक्षणमा पलाएको आशा विचार विमर्श– डा. नवराज सुब्बा हाल नेपालको राजनीतिक र सामाजिक क्षितिजमा एउटा नयाँ हलचल देखिएको छ। राजनीतिक परिवर्तनका ठूला–ठूला लहरहरूले समाजको सतहलाई मात्र होइन, गहिराइलाई पनि झकझक्याएको छ। परिवर्तन आफैँमा एउटा आँधी हो, जसले पुराना र जीर्ण सोचहरूलाई उखेलेर नयाँ सम्भावनाका बिरुवाहरू रोप्ने गर्दछ। लामो…

  • |

    बौद्धिक सम्पत्ति

    डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी…

  • सूर्तीको स्वाद

    नवराज सुब्बा

    मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

  • मानव सभ्यताका चार खम्बाहरू: संस्कृति, धर्म, दर्शन र अध्यात्म

    (अध्ययन र अनुभवमा आधारित कार्यपत्रको सार)— डा. नवराज सुब्बा मानव जीवन र समाजलाई गहिरोसँग बुझ्न केवल भौतिक विज्ञान वा सतही समाजशास्त्र मात्र पर्याप्त हुँदैन। स्वास्थ्य मनोविज्ञान र चिकित्सा मानवशास्त्रमा तीन दशक लामो अनुभव र ५० भन्दा बढी पुस्तकहरूको लेखनपछि मैले के महसुस गरेको छु भने, कुनै पनि समाजलाई पूर्ण रूपमा बुझ्न संस्कृति, धर्म, दर्शन र…