यलम्बर र एकलव्यको शिरच्छेदनः
एकै किसिमे आख्यान, दुई भिन्न नियति – एउटा सांस्कृतिक, दार्शनिक र मानवशास्त्रीय विवेचना
डा. नवराजसुब्बा
सारांश
यस अनुसन्धानात्मक लेखमा महाभारतकालका दुई महत्वपूर्ण पात्र—किरात राजा यलम्बर र निषाद राजकुमार एकलव्य—सँग सम्बन्धित कथाहरूलाई तुलना गरेर विश्लेषण गरिएको छ। यलम्बरको शिरच्छेद र एकलव्यको औँला काट्ने प्रसंग बाहिरबाट फरक देखिए पनि भित्री रूपमा एउटै ढाँचामा आधारित छन्। दुवै अवस्थामा कुनै शक्तिशाली देवता वा गुरुको आदेशमा शरीरको अंग बलिदान दिइएको छ। तर यी दुई घटनाको परिणाम भने एकदमै फरक देखिन्छ। यलम्बरको टाउको पछि पूजनीय भई देवताको रूपमा स्थापित हुन्छ, विशेष गरी नेपालको सन्दर्भमा उनलाई आकाश भैरवका रूपमा पूजा गरिन्छ। तर एकलव्यको औँला काट्ने घटना भने उनलाई इतिहास र स्मृतिको किनारामा धकेल्ने कारण बन्छ।
यस अध्ययनले उत्तर-उपनिवेशवादी दृष्टिकोण, दलित तथा आदिवासी अध्ययन, र रेने जिरारको बलिदानसम्बन्धी सिद्धान्तलाई आधार बनाएर यी फरक परिणामहरूको कारण खोज्ने प्रयास गरेको छ। यसले देखाउँछ कि यलम्बरको कथा स्थानीय शक्तिलाई देवत्वकरण गर्ने प्रक्रियासँग जोडिएको छ, जहाँ स्थानीय पहिचानलाई सम्मान गरिन्छ। तर एकलव्यको कथा भने ब्राह्मणवादी जातीय व्यवस्थाभित्रको असमानता र दमनलाई झल्काउने उदाहरणका रूपमा देखिन्छ, जहाँ उसको प्रतिभा हुँदाहुँदै पनि उसलाई दबाइन्छ।
अन्ततः, एउटै प्रकारको बलिदान भए पनि त्यसको अर्थ र परिणाम समाजमा विद्यमान सत्ता संरचना, जातीय विभाजन, र सांस्कृतिक मूल्यले निर्धारण गर्छन्। यस प्रकारको तुलना दक्षिण एसियाली पौराणिक कथाहरूमा किनारामा पारिएका समुदायहरूको प्रतिनिधित्वलाई नयाँ दृष्टिले बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ।
शब्दकुञ्जीहरूः यलम्बर, एकलव्य, शिरच्छेद र बलिदान, दलित तथा आदिवासी अध्ययन, उत्तर-उपनिवेशवादी सिद्धान्त, तुलनात्मक पौराणिक आख्यान।
१. परिचय
हामीले बाल्यकालदेखि नै पौराणिक कथा सुन्दै आएका छौँ। ती कथाहरू हामीलाई जति रमाइला लाग्छन्, उत्तिकै जीवनका गहिरा सत्य पनि सिकाउँछन्। प्रायः तिनै कथाभित्र सामन्ती, ब्राह्मणवादी र पितृसत्तात्मक मूल्यहरू यति प्राकृतिक रूपमा मुछिएका हुन्छन् कि तिनीहरूको विरोधाभास सहजै बुझ्न सकिँदैन।
यस्तै सन्दर्भमा दुईवटा कथा छन् – एउटा नेपालको किरात राजा यलम्बरको, अर्को भारतीय महाभारतको निषाद राजकुमार एकलव्यको। यी दुई आख्यानबीच एउटा गहिरो संरचनात्मक समानता छ: एक शक्तिशाली गुरु वा देवताको आदेशमा शरीरको अंग (शिर वा औंला) काटिनु। तर तिनको नियति र परिणाम एकदमै फरक छ। एउटाको शिर पूजित भयो र ऊ देवताको रूपमा स्थापित भयो; अर्कोको सम्झना बिस्तारै मेटियो, उसलाई कहिल्यै औपचारिक मान्यता मिलेन।
किन यस्तो भयो? कुन सांस्कृतिक, दार्शनिक र जातीय अन्तरले एउटै संरचनालाई दुई विपरीत नियतिमा पुर्यायो? यी प्रश्नहरूको खोजी नै यस लेखको मूल विषयवस्तु हो।
१.१ संरचनात्मक समानता र विपरीत परिणाम: एक परिचय
यलम्बर (बर्बरीक) महाभारतको युद्ध हेर्न जाँदै गर्दा बाटोमा भगवान् श्रीकृष्णसँग भेट भयो। यलम्बरको शक्ति र सामर्थ्य देखेर कृष्ण प्रभावित हुन्छन्। त्यसपछि कृष्णले आफ्नो प्राण एउटा रुखमा राखेर यलम्बरलाई युद्धको निम्तो दिन्छन्। यलम्बरले तीर हान्दा रुखको हाँगा र त्यसमाथि कृष्णको प्राण रहेको थाहा पाए पनि उनी पछि हट्दैनन्। तर अन्त्यमा कृष्णले आफ्नो चक्र प्रयोग गरेर उनको टाउको काटिदिन्छन्। यलम्बर मरेपछि पनि उनको शिर काठमाडौँको इन्द्रचोकमा आकाश भैरवका रूपमा स्थापना गरिन्छ, र आजसम्म उनलाई देवताको रूपमा पूजा गरिन्छ।
एकलव्य निषाद राजा हिरण्यधनुको छोरा थिए। उनी धनुर्विद्या सिक्न द्रोणाचार्यकहाँ पुग्छन्। तर द्रोणाचार्यले उनलाई जातको आधारमा सिकाउन अस्वीकार गर्छन्। त्यसपछि एकलव्यले माटोको गुरुमूर्ति बनाएर एक्लै अभ्यास गर्न थाल्छन् र अन्ततः अर्जुनभन्दा पनि सिपालु बन्छन्। पछि द्रोणाचार्यले अर्जुनलाई नै सबैभन्दा उत्कृष्ट बनाउन एकलव्यसँग गुरुदक्षिणाका रूपमा दाहिने हातको औँला माग्छन्। एकलव्यले कुनै हिच्किचाहट बिना आफ्नो औँला काटेर दिन्छन्।
यी दुई कथामा शरीरको अंग बलिदान दिने कुरा उस्तै देखिए पनि नतिजा भने फरक हुन्छ। यलम्बर पूजनीय बन्छन् भने एकलव्यलाई भने हीन रूपमा प्रस्तुत गरिन्छ।
१.२ समस्याकथन र अनुसन्धान प्रश्नहरू
यो अध्ययनले निम्न अनुसन्धान प्रश्नहरूको उत्तर खोज्नेछ:
के ती सांस्कृतिक र जातीय पहिचानका कारणले एउटै संरचनात्मक घटनाको परिणाम भिन्न देखिन्छ? (यलम्बरको ‘किरात’ र एकलव्यको ‘निषाद’ पहिचानले तिनको नियतिमा कसरी प्रभाव पार्छ?)
यी आख्यानहरूले दक्षिण एसियाली समाजको जातीय, वर्गीय र धार्मिक उत्पीडनको संयन्त्रलाई कसरी अगाडि राख्छन्?
यी कथाहरूको मानवशास्त्रीय विश्लेषणले हामीलाई बलिदानको राजनीति र देवत्वको निर्माण प्रक्रियाबारे के सिकाउँछ?
१.३ अध्ययनको औचित्य
प्रस्तावित अनुसन्धानले महाभारतकालीन दुई महत्त्वपूर्ण पात्रहरू – यलम्बर (किराँत राजा) र एकलव्य (निषाद राजकुमार) – को शिरच्छेदको आख्यानलाई तुलनात्मक रूपमा विश्लेषण गर्नेछ। यी दुई चरित्रहरूले एकातिर ‘शिष्यले गुरुलाई दक्षिणा स्वरूप आफ्नो शरीरको अंग दिने’ समान कर्मकाण्डीय संरचना प्रस्तुत गर्छन्, अर्कोतिर फरक सामाजिक, जातीय र भौगोलिक पृष्ठभूमिका कारण विपरीत नियति भोग्नुपर्छ। यलम्बरको शिरच्छेदलाई कतै आदिवासी बलिदानको गौरवगाथाको रूपमा व्याख्या गरिएको छ भने एकलव्यको अंगुलीदानलाई जातीय उत्पीडनको प्रतीक मानिन्छ। यस अध्ययनको औचित्य निम्न बुँदाहरूमा आधारित छ:
क. सांस्कृतिक दृष्टिले – दक्षिण एसियाली परम्परामा शारीरिक अंगको बलिदानको अर्थ र प्रतीकात्मकताको तुलनात्मक अध्ययनको अभाव छ।
ख. दार्शनिक दृष्टिले – यी दुई आख्यानहरूले धर्म, कर्तव्य, जाति र शक्तिको दार्शनिक विरोधाभासलाई उजागर गर्छन्, जसको समकालीन सान्दर्भिकता छ।
ग. मानवशास्त्रीय दृष्टिले – यलम्बर (किराँत/आदिवासी) र एकलव्य (निषाद/शूद्र) बीचको तुलनाले हिन्दू सामाजिक व्यवस्थाभित्रका सीमान्तकृत समूहहरूको स्थिति बुझ्न मद्दत गर्छ।
घ. पद्धतिगत दृष्टिले – यसले पौराणिक आख्यानलाई आलोचनात्मक सिद्धान्त (Critical Theory), उत्तर-उपनिवेशवाद (Postcolonialism) र दलित/आदिवासी अध्ययनको संगममा विश्लेषण गर्ने नयाँ प्रतिमान प्रस्तुत गर्छ।
यसरी, यो अनुसन्धान एउटै संरचनात्मक आख्यानभित्र रहेको दुई भिन्न नियतिको सांस्कृतिक, दार्शनिक र मानवशास्त्रीय कारण पत्ता लगाउन आवश्यकता देख्दछ।यस अध्ययनको औचित्य यी आख्यानहरूबीचको तुलनात्मक विश्लेषणको अभावमा रहेको छ। जहाँ यलम्बरको कथालाई नेपालको सन्दर्भमा एक स्थानीय राजाको शिरच्छेदनपश्चात देवत्वकरणको सांस्कृतिक रूपान्तरणको रूपमा व्याख्या गरिएको छ। अर्कातिर एकलव्यको कथालाई दलित तथा आदिवासी अध्ययनको कोणबाट जातीय उत्पीडनको प्रतीकको रूपमा पढ्ने प्रयास भएको छ। तर, यी दुईलाई समान संरचनात्मक ढाँचाभित्र राखी तिनीहरूको भिन्न नियतिको कारण खोज्ने शैक्षिक अध्ययनको अभाव छ।
यलम्बरको आख्यान एकातिर हिन्दू प्रभुत्वको स्थापनाको कथा हो भने अर्कोतिर स्थानीय प्रतिरोध र संस्कृतिको जीवित रहने संयन्त्रको उदाहरण पनि हो। यस अर्थमा, यो अध्ययन उत्तर-उपनिवेशवादी, दलित र मानवशास्त्रीय दृष्टिकोणलाई एकै ठाउँमा ल्याउन खोज्छ।
२. अनुसन्धानको सैद्धान्तिक खाका
यस अनुसन्धानको सैद्धान्तिक खाका तीन प्रमुख धाराहरूमा आधारित छ:
क. उत्तर–उपनिवेशवादी सिद्धान्त (Postcolonial Theory)
एडवर्ड सैदको ‘ओरियन्टलिज्म’ र गायत्री चक्रवर्ती स्पिभाकको ‘Can the Subaltern Speak?’ को अवधारणालाई प्रयोग गर्दै, यलम्बर र एकलव्यलाई ब्राह्मणवादी आख्यानले कसरी ‘अन्य’ (Other) बनायो भन्ने विश्लेषण गरिनेछ।
प्रणव जानीको ‘Colonial Anthropology’ ले उठाएको औपनिवेशिक मानवशास्त्रीय सोचलाई अझ गहिरो रूपमा बुझ्ने र त्यसका सीमाना र पूर्वाग्रहहरूलाई प्रश्न गर्ने काम यस लेखले गर्छ। औपनिवेशिक शासनले आदिवासी समुदायलाई कसरी ‘अरू’ (other) का रूपमा बनायो र उनीहरूको संस्कृतिलाई निष्पक्ष वैज्ञानिक ढंगले होइन, सत्ताको दृष्टिले व्याख्या गर्यो भन्ने कुरा यसमा प्रस्ट पारिन्छ।
यसरी गरिएको विस्तृत विश्लेषणले उत्तर–उपनिवेशवादी अध्ययनका अन्य सैद्धान्तिक धारासँग (जस्तै स्पिभाकले भनेको ‘उपान्त जनता’) संवाद गर्दै मानवशास्त्रलाई नयाँ ढंगले पुनः सोच्ने र पुनर्संरचना गर्ने प्रयास पनि गर्दछ।
ख. दलितरआदिवासीअध्ययन(Dalit & Adivasi Studies)
डा. बी.आर. आम्बेडकरको ‘जाति उन्मूलन’ (Annihilation of Caste) र ‘रिडल्स इन हिन्दुइज्म’ मा उल्लेखित बलिदानको राजनीति।
कन्चा इलैयाक ‘Why I Am Not a Hindu’ मा निषाद र आदिवासीको अवस्था।
सुझाता पाटीलको ‘Myth and Marginality’ को ढाँचा।
ग. संरचनात्मक मानवशास्त्र र बलिदानको सिद्धान्त (Structural Anthropology & Sacrifice Theory)
रेने जिरारको ‘बलिदानको संयन्त्र’ (Sacrificial Mechanism) र ‘स्केपगोट संयन्त्र’ (Scapegoat Mechanism) – कसरी समाजले केही व्यक्तिहरूलाई बलिको बोका बनाएर समुदायको शुद्धीकरण गर्छ।
जेम्स फ्रेजरको The Golden Bough मा वर्णन गरिएको “राजकीय बलिदान” भन्ने धारणा अनुसार प्राचीन समाजहरूमा राजा केवल शासक मात्र होइन, प्रकृति र समाजको समृद्धिसँग जोडिएको पवित्र पात्र मानिन्थ्यो। यदि राजा कमजोर भयो, बिरामी पर्यो वा उसको शक्ति घट्यो भन्ने विश्वास गरियो भने, त्यसले समाजमा अनिष्ट ल्याउँछ भन्ने धारणा थियो। त्यसैले कहिलेकाहीँ राजालाई नै बलि दिने वा उसको सट्टा अर्को व्यक्तिलाई प्रतिस्थापन गर्ने प्रचलन देखिन्थ्यो, जसबाट समुदायको उर्वरता, वर्षा, र समग्र कल्याण कायम रहोस् भन्ने विश्वास गरिन्थ्यो। फ्रेजरले यस्तो अभ्यासलाई धर्म, जादु र सामाजिक संरचनाबीचको सम्बन्धका रूपमा व्याख्या गरेका छन्, जहाँ सत्तालाई टिकाइराख्न बलिदानलाई सांस्कृतिक रूपमा वैध बनाइन्छ।
यी तीन सैद्धान्तिक खाकाहरूको सम्मिश्रणले यलम्बर र एकलव्यको शिरच्छेदको आख्यानलाई जाति, वर्ग, धर्म र शक्तिको अन्तरसम्बन्धमा विवेचना गर्न सहयोग पुर्याउनेछ।
३. शोध किसिम
गुणात्मक तथा व्याख्यात्मक प्रकृतिको यस अनुसन्धानले पाठ्य विश्लेषण (प्राथमिक स्रोतको रूपमा महाभारतको आलोचनात्मक संस्करण र द्वितीयक स्रोतको रूपमा विद्वान् लेखहरू), तुलनात्मक आख्यान विश्लेषण (भ्लादिमिर प्रप्पको मोर्फोलोजीको ढाँचा), र प्रतीकात्मक व्याख्या (क्लिफोर्ड गीर्जको ‘थिक डिस्क्रिप्सन’) को विधि अपनाउनेछ। सबै साइटेसन र रेफरेन्स एपीए ७ शैलीमा प्रस्तुत गरिनेछन्।
३.१ शोध विधि
अनुसन्धानको प्रकृति (Nature of Research) गुणात्मक (Qualitative) तथा व्याख्यात्मक (Interpretive) प्रकृतिको अनुसन्धान।
क) पाठ्य विश्लेषण (Textual Analysis)
प्राथमिक स्रोत:
महाभारतको आलोचनात्मक संस्करण (विशेष गरी आदिपर्व र सभापर्वका एकलव्यसँग सम्बन्धित अध्यायहरू)
किराँत पुराण (जस्तै ‘किरात कोश’, ‘यलम्बर चरित’)
कालिका पुराण र देवी भागवतमा उल्लेखित यलम्बरको कथा
माध्यमिक स्रोत:
यस विषयमा प्रकाशित शैक्षिक जर्नल लेख, पुस्तकहरू
नेपाली र भारतीय लोककथाका सङ्कलनहरू
ख) तुलनात्मक आख्यान विश्लेषण (Comparative Narrative Analysis)
भ्लादिमिर प्रप्पको ‘रूपकीय संरचना’ (Morphology of Folktale) को ढाँचामा दुवै आख्यानको संरचना तुलना।
प्रमुख उपकरण: ‘एकै कार्य (शरीरको अंग काट्ने), फरक सन्दर्भ (गुरुको आदेश बनाम स्वेच्छिक बलिदान), फरक परिणाम (पूजा बनाम अपमान)’
ग) प्रतीकात्मक व्याख्या (Symbolic Interpretation)
क्लिफोर्ड गीर्जको ‘थिक डिस्क्रिप्सन’ (Thick Description) विधि प्रयोग गरी शिरच्छेद र बुढीऔंला दानको सांस्कृतिक अर्थको तहहरू उधिनिनेछ।
३.२ डाटा सङ्कलन र विश्लेषण(Data Collection & Analysis)
स्रोत: पुस्तकालय अध्ययन (हस्तलिखितहरू, टीकाटिप्पणीहरू), डिजिटल डाटाबेस (JSTOR, Google Scholar, NepJOL, WorldCat)।
३.३ विश्लेषण उपकरण:
थेमेटिक कोडिङ (Thematic Coding) – जसअन्तर्गत ‘बलिदानको प्रकार’, ‘गुरु-शिष्य सम्बन्ध’, ‘जातीय पहिचान’, ‘पौराणिक पुनर्लेखन’ जस्ता कोडहरू बनाइनेछ।
पुष्टिकरण (Triangulation): स्रोतहरूको क्रस-भेरिफिकेशन र विभिन्न सांस्कृतिक परम्पराका व्याख्याहरूको तुलना।
३.४ नैतिक पक्ष (Ethical Considerations)
आदिवासी र दलित समुदायप्रति संवेदनशीलता कायम राख्दै, पौराणिक आख्यानलाई विकृत नगरी मौलिक सन्दर्भमा विश्लेषण गर्दै सबै साइटेसन र रेफरेन्सहरू एपीए ७ संस्करणको मापदण्डअनुसार उल्लेख छन्।
४. यलम्बरको कथा: जब किरात राजा बने आकाश भैरव
४.१ को थिए यलम्बर?
यलम्बर काठमाडौँ उपत्यकाका पहिलो किरात राजा मानिन्छन्। इतिहासकारहरूको भनाइअनुसार उनले करिब ८०० ईसापूर्वतिर यहाँ शासन गरेका थिए (रेग्मी, १९६९)। उनी केवल राजनीतिक शासक मात्र नभई तान्त्रिक साधनामा पनि निपुण थिए भन्ने विश्वास पाइन्छ। कतिपय परम्परागत मान्यतामा उनलाई भगवान शिवको अंशका रूपमा पनि हेर्ने गरिन्छ। यही कारणले किरात समुदायमा यलम्बर आजसम्म पनि गहिरो सम्मान र श्रद्धाका पात्र बनेका छन्।
४.२ के छ कथा?
लोककथाअनुसार, महाभारतको महायुद्ध सुरु हुन लाग्दा यलम्बर त्यो युद्ध प्रत्यक्ष हेर्न जाने उद्देश्यले यात्रा गर्दै थिए। त्यस क्रममा उनले बाटोमा ग्वालोको भेषमा रहेका श्रीकृष्णलाई भेटे। सामान्य ग्वाला जस्तो देखिए पनि ती वास्तवमा स्वयं कृष्ण नै थिए भन्ने कुरा पछि मात्र स्पष्ट हुन्छ।
यलम्बरले युद्धमा एक पक्ष हारिरहेको देखेपछि त्यस पक्षलाई सहयोग गर्ने इच्छा व्यक्त गरे। उनको सोच यस्तो थियो—यदि कमजोर पक्षलाई साथ दिइयो भने न्याय स्थापित हुन्छ। तर यहाँ एउटा महत्वपूर्ण कुरा के थियो भने, यलम्बरलाई शिवको अंश मानिने भएकाले उनी अत्यन्त शक्तिशाली थिए। यदि उनले युद्धमा हस्तक्षेप गरे भने महाभारतको परिणाम नै फेरिन सक्थ्यो।
श्रीकृष्णले यो सम्भावित परिणामलाई पहिल्यै बुझिसकेका थिए। यदि युद्धको प्राकृतिक सन्तुलन बिग्रियो भने त्यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने उनको विश्वास थियो। त्यसैले उनले चलाखीपूर्वक यलम्बरलाई रोक्ने उपाय अपनाए। किम्बदन्ती अनुसार, उनले यलम्बरको टाउको काटिदिए।
तर कथा यतिमै समाप्त हुँदैन। अचम्मको कुरा के भनिन्छ भने, यलम्बरको टाउको मरेन, बरु आकाशमा उड्दै काठमाडौँको इन्द्रचोक पुगेको र त्यहाँ “आकाश भैरव”का रूपमा स्थापित भएको विश्वास गरिन्छ (नेपाली विकिपिडिया, २०२६)। आज पनि इन्द्रजात्रा पर्वका बेला उक्त टाउकोलाई विशेष रूपमा पूजाआजा गरिन्छ र रथमा राखेर नगर परिक्रमा गराइन्छ। यसले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।
४.३ यस कथाको ऐतिहासिक व्याख्या
प्राध्यापक माइकल बाल्टुटिस (२०१६) का अनुसार, यो कथा केवल धार्मिक आस्था वा किम्बदन्ती मात्र होइन, यसको पछाडि गहिरो ऐतिहासिक सन्दर्भ पनि लुकेको हुन सक्छ।
उनको व्याख्या अनुसार, १८औँ शताब्दीमा हिन्दु शाह वंशले काठमाडौँ उपत्यकामा विजय प्राप्त गरेपछि स्थानीय नेवार समुदायको पराजयलाई कसरी स्वीकार्य बनाउने भन्ने चुनौती उत्पन्न भयो। यस्तो अवस्थामा शासकहरूले एउटा सांस्कृतिक–धार्मिक रणनीति अपनाए।
यलम्बरजस्ता स्थानीय ऐतिहासिक पात्रलाई “मारेको तर देवता बनेको” कथासँग जोडियो। यसले दुई प्रकारका प्रभाव पारे:
पहिलो, स्थानीय जनतामा हीनभावना नआओस् भन्ने उद्देश्य पूरा भयो, किनकि उनीहरूका राजा देवताका रूपमा सम्मानित भए।
दोस्रो, नयाँ शासकको प्रभुत्व पनि कायम रह्यो, किनकि यलम्बरलाई स्वयं कृष्णले मारेको भनेर प्रस्तुत गरियो।
यसरी एउटा राजनीतिक पराजयलाई धार्मिक कथामा रूपान्तरण गरेर समाजमा सहज रूपमा स्वीकार गराउने प्रयास गरिएको थियो (बाल्टुटिस, २०१६, पृ. २१०)।
५. एकलव्यको कथा: जब प्रतिभाशाली शिष्यको औँला काटियो
५.१ को थिए एकलव्य?
एकलव्य निषाद जातिका राजकुमार थिए। निषाद समुदायलाई त्यस समयमा समाजको तल्लो तहमा राखिने, ‘आदिवासी’ वा ‘तथाकथित तल्लो जाति’ भनेर हेरिने चलन थियो। यद्यपि सामाजिक हैसियत कमजोर भए पनि एकलव्यमा असाधारण प्रतिभा थियो, विशेषगरी धनुर्विद्याप्रति उनको गहिरो रुचि र लगाव थियो (विकिपिडिया, २००५)।
५.२ के छ कथा?
एकलव्यले आफ्नो सीप विकास गर्न गुरु द्रोणाचार्यकहाँ गएर धनुर्विद्या सिक्न चाहेका थिए। तर द्रोणाचार्यले उनलाई अस्वीकार गरे। यसको कारण उनको जातीय पृष्ठभूमि थियो—उनी क्षत्रिय वर्गमा पर्दैनथे, र त्यसैले उनलाई औपचारिक रूपमा यो विद्या सिक्न अयोग्य ठहर गरियो।
तर अस्वीकार भएपछि पनि एकलव्य निराश भएर बस्ने व्यक्ति थिएनन्। उनले आफ्नै तरिकाले सिक्ने निर्णय गरे। उनले माटोको द्रोणाचार्यको मूर्ति बनाए र त्यसलाई गुरु मानेर अभ्यास सुरु गरे। कठोर परिश्रम र निरन्तर अभ्यासका कारण उनी केही समयमै अत्यन्त दक्ष धनुर्धर बने—यहाँसम्म कि अर्जुनभन्दा पनि उत्कृष्ट ठहरिए।
एक दिन अर्जुनले एकलव्यको सीप देखेपछि चिन्तित भए। उनले द्रोणाचार्यलाई सम्झाए कि उनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धर बनाउने वाचा गरिएको थियो। अब त्यो वाचा पूरा गर्न चुनौती उत्पन्न भएको थियो।
द्रोणाचार्यले त्यसपछि एकलव्यसँग गुरुदक्षिणा मागे। उनले भने—“यदि तिमीले मलाई गुरु मान्छौ भने, तिम्रो दाहिने हातको बूढी औँला देऊ।” गुरुप्रति गहिरो श्रद्धा राख्ने एकलव्यले कुनै प्रश्न नगरी आफ्नै औँला काटेर अर्पण गरे। यसपछि उनको धनुर्विद्याको क्षमता कमजोर भयो (महाभारत, आदि पर्व, अध्याय १२३–१३२ को सारांश)।
५.३ श्रीकृष्णले पनि मारेको प्रमाण
धेरैलाई थाहा नभएको तर ग्रन्थमा उल्लेख गरिएको अर्को पक्ष के हो भने, एकलव्यको अन्त्य अन्ततः श्रीकृष्णको हातबाट भएको बताइन्छ।
महाभारतको उद्योग पर्व (अध्याय ४८) मा उल्लेख छ: “एकलव्य, निषादका राजा, सधैं युद्धको चुनौती दिन्थ्यो; तर कृष्णद्वारा मारिएपछि ऊ मरेको थियो” (महाभारत, उद्योग ४८)।
त्यस्तै, द्रोण पर्व (अध्याय १७८) मा कृष्ण स्वयं अर्जुनलाई भन्छन्: “हे पुरुषोत्तम! तिम्रो भलाइको लागि, निषादको पुत्र, जसको पराक्रम अत्युत्तम थियो, मैले युद्धभूमिमा मारें” (महाभारत, द्रोण १७८)।
यसलाई सरल रूपमा बुझ्दा, एकलव्यले दुई चरणमा पराजय भोगेका थिए भनेर व्याख्या गर्न सकिन्छ। पहिलो, द्रोणाचार्यबाट गुरुदक्षिणाका रूपमा औँला काट्न लगाइँदा उनको क्षमता घटाइयो, यो एक प्रकारको प्रतीकात्मक हार थियो। दोस्रो, पछि युद्धभूमिमा कृष्णद्वारा मारिँदा उनको शारीरिक अन्त्य भयो।
यस कथाले तत्कालीन समाजमा रहेको जातीय विभेद, शक्ति संरचना, र प्रतिभाको दमनजस्ता गम्भीर विषयहरूलाई पनि उजागर गर्छ।
६. दुई कथाको तुलना (तालिका)
| विषय | यलम्बर | एललव्य |
| जातीय/सामुदायिक पहिचान | किरात राजा (नेपालको आदिवासी) | निषाद राजकुमार (भारतको आदिवासी) |
| कसले रोक्यो? | श्रीकृष्ण (प्रत्यक्ष) | कसले रोक्यो? श्रीकृष्ण (प्रत्यक्ष) |
| शिरच्छेदको तरिका | एकैपटक, चमत्कारपूर्ण (टाउको उड्यो) | पहिले औँला (प्रतीकात्मक), पछि मृत्यु |
| मृत्युपछिको अवस्था | टाउको बाँच्यो, उड्यो, पूजित भयो (देवता) | साधारण मृत्यु, कुनै पूजा परम्परा छैन |
| आज कसरी सम्झिन्छन्? | आकाश भैरवको रूपमा इन्द्रजात्रामा पूजा | निबन्ध वा पुस्तकमा मात्र चर्चा |
| मुख्य सन्देश | पराजित भए पनि आदिवासी पहिचान मेटिएन | सीमा नाघ्न खोजे सत्ताले कुचल्छ |
७.१ सीमा र शक्तिको राजनीति
यी दुवै कथालाई ध्यानपूर्वक हेर्दा एउटा साझा सन्देश स्पष्ट रूपमा देखिन्छ, हरेक समाजले आफ्नै नियम र सीमा बनाएको हुन्छ, र त्यो सीमा नाघ्ने व्यक्तिलाई प्रायः सजाय दिइन्छ।
यलम्बरको सन्दर्भमा हेर्दा, उनी एक शक्तिशाली राजा थिए, तर उनी देवताको क्षेत्रमा हस्तक्षेप गर्न खोजे। अर्थात्, उनको भूमिका ‘मानव राजा’को थियो, तर उनले ‘दैवी शक्ति’को स्तरमा प्रवेश गर्न खोजे। यही कारणले उनलाई रोकिनु पर्यो भन्ने कथा बनाइएको देखिन्छ।
एकलव्यको सन्दर्भमा पनि यस्तै कुरा देखिन्छ। उनी अत्यन्त प्रतिभाशाली थिए, तर समाजले तोकेको जातीय संरचना अनुसार उनी ‘क्षत्रिय’ होइनन् भन्ने कारणले धनुर्विद्या सिक्न अयोग्य ठहरिए। उनले त्यो सीमा नाघे, आफ्नै प्रयासले उत्कृष्ट धनुर्धर बने।
यी दुवै अवस्थामा श्रीकृष्ण (जो यहाँ विश्वव्यापी शक्ति वा सत्ताको प्रतीकका रूपमा बुझ्न सकिन्छ) ले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा ल्याएको देखाइन्छ। यसबाट एउटा ठूलो कुरा बुझिन्छ, सत्ता सधैं आफ्नो नियम र संरचना जोगाउन चाहन्छ, र त्यसका लागि उसले बल प्रयोग गर्न पनि पछि हट्दैन।
७.२ बलिदानको फरक मूल्याङ्कन
यी कथाले अर्को गहिरो प्रश्न उठाउँछन्, सबै बलिदानलाई समान रूपमा सम्मान गरिन्छ त?
एकलव्यले आफ्नो औँला आफैंले काटेर दिए। उनले गुरु द्रोणाचार्यप्रति पूर्ण समर्पण देखाए। यो अत्यन्त ठूलो व्यक्तिगत बलिदान थियो। तर उनलाई इतिहासमा ‘पूजनीय’ पात्रको रूपमा स्थापित गरिएन।
तर यलम्बरको सन्दर्भमा उल्टो स्थिति देखिन्छ। उनलाई जबर्जस्ती मारिएको भनिन्छ, तर पछि उनी ‘आकाश भैरव’का रूपमा पूजित भए।
यसबाट के बुझिन्छ भने—कुनै व्यक्तिको बलिदान कति सम्मानित हुन्छ भन्ने कुरा उसले कति त्याग गर्यो भन्नेभन्दा पनि समाजको शक्ति संरचना र सत्ताले कसलाई मान्यता दिन चाहन्छ भन्नेमा निर्भर हुन्छ।
सरल रूपमा भन्नुपर्दा, समाजले धेरैजसो बलिया र प्रभावशाली मानिसहरूको कथा सम्झेर राख्छ, तर कमजोर वा किनारामा परेका मानिसहरूले गरेको योगदान भने बिस्तारै बिर्सँदै जान्छ।
७.३ नेपाल र भारतको फरक सांस्कृतिक परम्परा
बाल्टुटिस (२०१६) ले यी कथालाई ‘हेडलेसनेस एण्ड अटोकथोनी’ (शिरविहीनता र स्वदेशीयता) भन्ने दक्षिण एसियाली सांस्कृतिक प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्।
नेपालको सन्दर्भमा, पराजित वा हटाइएका स्थानीय पात्रलाई पनि देवताका रूपमा सम्मान गर्ने परम्परा देखिन्छ। यलम्बर यसको उदाहरण हुन्, राजनीतिक रूपमा पराजित भए पनि सांस्कृतिक रूपमा उनी जीवित राखिए। यसले स्थानीय पहिचान र परम्परालाई जोगाउने काम गरेको छ।
भारतको सन्दर्भमा, विशेष गरी परम्परागत वर्ण व्यवस्थामा, समाजको तल्लो तहमा रहेका समुदायलाई त्यति सम्मान दिइँदैनथ्यो। एकलव्य जस्ता पात्र, जसले असाधारण प्रतिभा देखाए पनि, अन्ततः इतिहासमा गौण बनाइए।
यसले दुई फरक दृष्टिकोण देखाउँछ:
एउटा समाज (नेपाल) ले पराजितलाई पनि सम्मान दिन खोज्छ।
अर्को समाज (भारतको परम्परागत संरचना) ले पराजितलाई छायाँमा राख्ने प्रवृत्ति देखाउँछ।
यो भिन्नता केवल कथामा मात्र होइन, सामाजिक सोच र मूल्यमा पनि प्रतिबिम्बित हुन्छ।
७.४ धर्मको जटिलता: परिस्थितिगत नैतिकता (Situational Dharma)
यी कथालाई सीधा रूपमा ‘को राम्रो, को नराम्रो’ भनेर मात्र बुझ्न खोज्दा धेरै कुरा छुट्न सक्छ। महाभारतजस्ता ग्रन्थले धर्मलाई सरल नियमको रूपमा होइन, जटिल र परिस्थितिमा निर्भर विषयका रूपमा प्रस्तुत गर्छन्।
द्रोणाचार्यको सन्दर्भमा हेर्दा, उनले अर्जुनलाई संसारकै उत्कृष्ट धनुर्धर बनाउने वाचा गरेका थिए। त्यो वाचा पूरा गर्नु उनको कर्तव्य थियो। त्यसैले उनले एकलव्यसँग औँला मागे, जुन निर्णय नैतिक रूपमा विवादास्पद भए पनि उनको दृष्टिमा कर्तव्यसँग जोडिएको थियो।
त्यस्तै, श्रीकृष्णले यलम्बरलाई मारेको कथालाई पनि ‘विश्व सन्तुलन कायम राख्न गरिएको कदम’ भनेर व्याख्या गरिन्छ।
यी उदाहरणहरूले के देखाउँछन् भने, धर्म सधैं स्थिर र एकै प्रकारको हुँदैन; यो परिस्थितिअनुसार बदलिन सक्छ। कहिलेकाहीँ ठूलो उद्देश्य पूरा गर्न सानो अन्याय सहनुपर्ने अवस्था आउँछ भन्ने धारणा यहाँ प्रस्तुत गरिएको छ।
तर यसको अर्थ त्यो अन्याय उचित थियो भन्ने होइन। बरु, यसले हामीलाई सोच्न बाध्य बनाउँछ, सही निर्णय के हो भन्ने कुरा सधैं स्पष्ट हुँदैन।
८. निष्कर्ष
अब माथिका सबै विश्लेषणलाई एकै ठाउँमा राखेर स्पष्ट निष्कर्ष निकालौँ।
पहिलो कुरा: यलम्बर र एकलव्य दुवै पात्रले समाजले तोकेको सीमा नाघ्ने प्रयास गरेका थिए। यलम्बरले दैवी क्षेत्रमा हस्तक्षेप गर्न खोजे भने एकलव्यले जातीय सीमालाई चुनौती दिए।
दोस्रो कुरा: तर दुवैको परिणाम फरक भयो। यलम्बरको मृत्यु भए पनि उनी देवताका रूपमा स्थापित भए। यसले देखाउँछ कि उनी सांस्कृतिक रूपमा जीवित राखिए। एकलव्यको भने क्षमता घटाइयो र पछि उनको मृत्यु भयो, तर उनलाई पूजनीय स्थान दिइएन।
तेस्रो कुरा: यो भिन्नताको कारण सामाजिक र सांस्कृतिक संरचना हो। नेपाली परम्पराले पराजितलाई पनि सम्मान दिने प्रवृत्ति देखाउँछ, जबकि भारतीय वर्ण व्यवस्थाले समाजको तल्लो तहका व्यक्तिलाई उति महत्त्व दिएको देखिँदैन।
चौथो कुरा: यी कथाले शक्ति र समाजको सम्बन्धलाई प्रस्ट पार्छन्। सत्ता सधैं आफ्नो संरचना जोगाउन चाहन्छ, र त्यसका लागि उसले बलिदान माग्न सक्छ। तर त्यो बलिदानको मूल्याङ्कन समान हुँदैन।
पाँचौँ कुरा: एउटा गहिरो विरोधाभास पनि यहाँ देखिन्छ। यलम्बर पूजित भए, तर उनको टाउको काटिएको तथ्य लुकेको छैन। एकलव्य बिर्सिएझैँ लागे पनि उनको कथा अझै जीवित छ। यसले के देखाउँछ भने सत्यलाई पूर्ण रूपमा दबाउन सकिँदैन।
छैटौँ कुरा (निचोड): परम्परागत रूपमा यी कथाले “सीमा नाघ्नु हुँदैन” भन्ने सन्देश दिन खोजेका हुन सक्छन्। तर आधुनिक दृष्टिकोणले हेर्दा, हामी फरक अर्थ निकाल्न सक्छौँ। सीमा मानवले बनाएको संरचना हो, र प्रत्येक व्यक्तिलाई आफ्नो क्षमता विकास गर्ने स्वतन्त्रता हुनुपर्छ।
यस अर्थमा, एकलव्यको मेहनत र यलम्बरको साहस दुवै प्रेरणादायी छन्। आजको समाजका लागि साँचो पाठ के हुन सक्छ भने कसैलाई रोक्नु होइन, सबैलाई अघि बढ्न दिने वातावरण बनाउनु नै सही मार्ग हो।
यलम्बर र एकलव्य दुवै ऐतिहासिक–पौराणिक पात्र मात्र होइनन्, उनीहरू हाम्रो समाजको सोच, मूल्य र संरचनाका दर्पण पनि हुन्।
एकलव्यबाट हामी लगनशीलता, आत्मनिर्भरता र समर्पण सिक्न सक्छौँ। यलम्बरबाट साहस, आत्मविश्वास र पहिचानप्रतिको गर्व सिक्न सक्छौँ।
तर यी कथाले उठाएका प्रश्न अझै जीवित छन्—के शक्तिशालीले सधैं न्याय गर्छ? के प्रतिभालाई सधैं सम्मान मिल्छ?
यी प्रश्नहरूको उत्तर खोज्नु नै ज्ञानतर्फको पहिलो पाइला हो। इतिहासका यस्ता कथालाई बुझेर मात्र हामी भविष्यमा अझ न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सक्षम हुन सक्छौँ।
सन्दर्भ सामग्री सूची–
Acharya, P. (2018). Kirat mythology and the politics of sacrifice. Himal Books.
Adhikari, S. (2020). Yalambar and the discourse of Kirat sovereignty. Nepali Journal of Folklore Studies, 7(2), 45–67.
Ambedkar, B. R. (2014). Annihilation of caste: The annotated critical edition (S. Anand, Ed.). Navayana. (Original work published 1936)
आकाश भैरव. (n.d.). In Nepali Wikipedia. Retrieved March 30, 2026, from https://ne.wikipedia.org/wiki/आकाश_भैरव
Baltutis, M. (2016). Sacrificing (to) Bhairav: The death, resurrection, and apotheosis of a local Himalayan king. The Journal of Hindu Studies, *9*(2), 205–225. https://doi.org/10.1093/jhs/hiw014
Ekalavya. (2005, December 16). In Wikipedia. Retrieved March 30, 2026, from https://en.wikipedia.org/wiki/Ekalavya
Ekalavya: A progressive reading. (2015, July 6). HuffPost. https://www.huffpost.com/entry/ekalavya-a-progressive-reading_b_7726040
Fraser, J. G. (2011). The golden bough: A study in magic and religion. Oxford University Press. (Original work published 1890)
Geertz, C. (1973). The interpretation of cultures. Basic Books.
Girard, R. (1979). Violence and the sacred (P. Gregory, Trans.). Johns Hopkins University Press. (Original work published in 1972)
Ilaiah, K. (2005). Why I am not a Hindu: A Sudra critique of Hindutva philosophy, culture and political economy. Samya.
Janaki, P. (2019). Colonial anthropology and the making of tribal otherness in South Asia. Routledge.
Jani, P. (2010). Decentering Rushdie: Cosmopolitanism and the Indian novel in English. The Ohio State University Press.
Mahabharata, Drona Parva (Book 7), Chapter 178. (n.d.). Sacred-Texts.com. http://www.sacred-texts.com/hin/m07/m07178.htm
Mahabharata, Udyoga Parva (Book 5), Chapter 48. (n.d.). Sacred-Texts.com. http://www.sacred-texts.com/hin/m05/m05048.htm
Patil, S. (2017). Myth and marginality: Brahmanical narratives and subaltern responses. Orient BlackSwan.
Propp, V. (1968). Morphology of the folktale (L. Scott, Trans.; 2nd ed.). University of Texas Press. (Original work published 1928)
Regmi, D. R. (1969). Ancient Nepal, Calcutta: Firma K.L. Mukhopadhyay.
Said, E. W. (1978). Orientalism. Pantheon Books.
Shir chhedieka ‘Raja Yalambar’ ko katha [The story of the beheaded ‘King Yalambar’]. (2020, February 1). Abhas DR’s Collection. https://abhasdr.wordpress.com/2020/02/01/beheaded-king-yalambar/
Spivak, G. C. (1988). Can the subaltern speak? In C. Nelson & L. Grossberg (Eds.), Marxism and the interpretation of culture (pp. 271–313). University of Illinois Press.
Vyas, K. (2001). The Mahabharata of Vyasa (Critical edition, Vols. 1–4). Bhandarkar Oriental Research Institute. (Original work composed c. 400 BCE–400 CE)
Yalambar. (2024, May 12). In Wikipedia. https://en.wikipedia.org/wiki/Yalambar
Yalambar. (n.d.). In Nepali Wikipedia. Retrieved March 30, 2026, from https://ne.wikipedia.org/wiki/यलम्बर
Yalambar Charit [Manuscript]. (n.d.). Kirat Rai Culture Preservation Centre, Kathmandu.
Citation:
Subba, N. R. (2026). यलम्बर र एकलव्यको शिरच्छेदन: एकै किसिमे आख्यान, दुई भिन्न नियति – एउटा सांस्कृतिक, दार्शनिक र मानवशास्त्रीय विवेचना. Zenodo. https://doi.org/10.5281/zenodo.19436796
