शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी
असोज २३, २०६७ विराटनगर । मोतीराम साहित्य प्रतिष्ठान विराटनगर र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा बडादशैं, दीपावली, छट्पर्वको पूर्वसन्ध्यामा विराटनगरमा शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठीको आयोजना गरियो ।
सभासद मोती दुगडले उद्घाटन गर्नुभएको समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, प्राज्ञहरू कृष्णभूषण बल, अनिरुद्र तिम्सिना, दधिराज सुबेदी र उद्योगी किशोर प्रधान, श्याम पौडेल र मुकेश उपाध्यायले शुभकामना मन्तव्य दिनुभयो । प्रतिष्ठानकी अध्यक्ष ज्योती जंगलको अध्यक्षतामा भएको कविगोष्ठीमा बरिष्ठ कवि कृष्णभूषण बल, विवश पोखरेल, नवराज सुब्बा, मनु मञ्जिल, मधु पोखरेल, खेम नेपाली, मीनकुमार नवोदिन, सविता गौतम दाहाल, दीपक सञ्चु लगायत डेढ दर्जन स्रष्टाहरूले रचनावाचन गर्नुभयो ।
विराटनगरमा हाल भइरहेको साहित्यिक गतिविधिलाई थप उर्जा दिन उद्योग संगठनबाट आवश्यक सहयोग हुने जानकारी गराइयो । कार्यक्रम तथा कविगोष्ठी कवि गण्डकीपुत्रले सञ्चालन गर्नुभएको थियो ।