प्रिय सिथलिङजी
नमस्कार !
मेरो यो खुशी सर्वप्रथम म तपाईसँग बाँड्न चाहन्छु र धन्यवादको एउटा फूल सिउरिदिन चाहन्छु । तपाईले नै संगीत भरिदिनु भएको गीतमा आज शनिबार मैले रिभ्स डिजिटल स्टुडियो इटहरीमा गएर आफ्नो स्वरमा गीत रेकर्ड गरें । तपाईको यस कम्पोजमा धिरज श्रेष्ठले संगीत एरेञ्ज गर्नुभएको छ । तपाईलाई थाहै होला ३५/३६ सालतिर रेडियो नेपालमा गीत रेकर्ड गर्दा दुइतीनओटा टेक लिइन्थ्यो अनि त्यसमध्ये जुन राम्रो हुन्थ्यो त्यसलाई ओके गरिन्थ्यो । हेर्नोस् न आजकल प्रविधिले गर्दा गीत रेकर्ड गर्नलाई कति सजिलो भएको छ कति । कलाकारहरु तथा वाद्यवादक नभेटिकनै संगीत एरेञ्जरले सांगितिक ट्रयाकको निर्माण गरिदिन्छन् जसमा गायकले आफ्नो अनुकूल समयमा रेकर्ड गर्न सक्छ । कुनै हरफ गाउँदा अलि मिलेन भने फेरि त्यही अंश मात्र सुधार गर्दा मिल्छ आजकल पहिलेजस्तो पूरै गीत दोहोर्‍याउनै पर्दैन । यस अर्थमा सजिलो छ गीत रेकर्ड गर्न आजकल कलाकारलाई । सुविधायुक्त वातावरणमा यसरी गीत रेकर्ड गर्न पाउनुलाई मैले सुखद अवसर ठानेको छु ।

गमलाको छातीभरि फुल्यौ आहा जीवनभरि
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।

हेर्नुस् न मैले दोस्रो अन्तरा चाहिँ मैले मेरो उमेर अनुकूल हेरफेर गरेको छु । मैले पहिले दिएको अर्थात् देखाएको शव्दमा केही फेरबदल भएकोमा अन्यथा नमानिदिनु होला है कतै आफै गीतकार र गायक हुनुको फाइदा उठाएछ भनेर ।

बाबरीको वासनाले जवानी त्यो ब्यूँझाइदेऊ
ढल्कीजान लागेको बैंशलाई फर्काइदेऊ ।

मैले गीत पनि गाएको देखेर होला “हैन यो मान्छे के के गर्न भ्याउँछ हँ -” भनेर धेरैले प्रश्न गर्छन मलाई । कोही चाहिँ यो त पहिले पहिले गीत गाउने मान्छे हो, आजभोलि गीत गाउँछ कि गाउँदैन होला भनेर जिज्ञाशा राख्छन् । “मैले आजकल त गाउन छाडें नि !” भनेपछि खिन्न मान्छन् कतिपय मेरा पुराना साथीहरु । प्रकाशोन्मुख एउटा गीतसङ्ग्रहको लागि शुभकामना तथा भूमिका लेख्न गणेश रसिकदाईलाई अनुरोध गरेको थिएँ । उहाँले भूमिका लेख्ने क्रममा आजकल नवराज किन गीत गाउँदैन भनेर जिज्ञासा राख्नु भएको देखेर मलाई कताकता जाँगर जागेर आयो अनि अधुरा रहरहरू पूरा गर्ने हौसला पनि मिल्यो । त्यसबेलामा मेरो अन्तरआत्माले पनि भन्यो- “नवराज तँ गीत गाइदे कमसेकम् तेरो स्वर पछिसम्म श्रोताहरुले चिनोको रुपमा प्राप्त गर्ने छन् ।” सायद यही अन्तरआत्माको आवाजले होला यति लामो अन्तरालमा सकि नसकि गीत गाउने प्रयत्न गर्दैछु ।

आज नेपाली संगीत जगतमा व्यवसायिकता बढेको छ । गीतसंगीतमा विविधता र संगीतको स्तर पनि बढेको छ यो राम्रो संकेत हो । संगीतमा लोकगीत र आधुनिक गीत एवम् सुगम संगीतमा नयाँ र सुरिला स्वरभएका स्रष्टाहरु आज नेपाली सांगितिक जगतले पाएको छ । म चाहि केवल एउटा शौकिन गायक मात्र हुँ मलाई श्रोताहरुले यही रुपमा चिनुन् भन्ने म चाहन्छु । साथै यसबाट के सन्देश जाओस् भन्ने चाहन्छु भने गीत गाउनका लागि व्यवसायिक रुपमा स्वर माझिएका कलाकारले मात्र होइन शौकिन कलाकारहरुले पनि गाउनुपर्छ जसबाट लोकगीत र आधुनिक गीतको विकासमा सघाऊ पुग्नेछ । सुनेर मात्र हैन गाएर संगीतलाई माया गरौं । गीत गाएर, गीत लेखेर, लोकगीत संकलन गरेर, कुनै पनि नेपालीले धन कमाएको छ जस्तो मलाई लाग्दैन बरु अलिअलि कमाएको पनि गुमाएको छ । यद्यपि नेपाली गीतसंगीतको भण्डार धनि भएको छ । स्रष्टाहरुले दाम नकमाए पनि केही नाम कमाएका छन् यसैमा सन्तोष मान्नु पर्ने स्थिति छ ।

जेहोस् हामीले गरेको सांगितिक सिर्जनाका कुरा भालि कसैले थाहा पाउने छन् सायद भन्नेछन् यी र्सजक को को हुन् – त्यसबेला हाम्रो परिचय दिनलाई हामी नहुन पनि सक्छौ । यही सिर्जना हाम्रो प्रतिनिधि हुनेछ जसले हाम्रो परिचयको सानो झलक दिनेछ यही गीत संगीतले । आजलाई यत्ति । विदा ।

उही मित्र
नवराज सुब्बा
२०६६।१२।२१

राष्ट्रिय खोप दिवस बालअधिकार
साहित्यमा साइबर

Leave a Comment