बौलाहाको बकबक

देख्दादेख्दै
यो देशमा
जब बहुदल आयो

नेता भकाभक बहुलाए
एकदिन गणतन्त्र पनि आयो
कोही आत्तिए जनता एकाएक मात्तिए
खै के
भन्नु
सबैले मलाई पागल देख्छन्
हा…हा…हा…
म बौलाहा
बाटोको छेऊमा उभिएर
एक्लै कत्ति कराउँ
कामका हैन नामका हामी बहादुर
दुस्मन छाडेर आ-आफुलाई सिद्याइरहेछौं
र ठड्याइरहेछौं सगरमाथा भन्दा अग्लो दरिद्रता
अनि खोतलिरहेछौं केचनाभन्दा होचो बेइमानी
सायद हरियो वन निथ्रेर होला
हरियो डलरतिर
भेडीगोंठझैं ओइरिए बहादुरहरु विदेशमा
यता अन्न उब्जाउने मेरो जमिन कब्जा गर्दै
रेमिटेन्स र दलालखेती खूब हौसेको छ
छिया-छिया प्लटिङ बनेको छ छाती
रातारात हाउजिङ त उम्रिएको छ
तर मेरो गुनासो के मात्र भने
छत र छहारी जतिसुकै थपिए पनि
म सधैं छानाबाहिरै छु
बेलको बोटमा
काग बसेको छु
सुकुम्बासीको पीडामा
फगत “काग” “काग” कराउँछु

गोली चल्छ जङ्गलमा
गाउँ शहरमा चल्छ
गोली दिउँसै सडकमा पनि चल्छ
तर किन लाग्दैन
यो छातीमा
हा…हा…हा…
तर याद गर
जब गोली हान्छौ
मेरो मुटुबाट निस्कने
रगतका एक एक थोपाबाट
प्रकट हुनेछन् असंख्य मेरा सन्तान
अनि सडकको कुनाकुनासम्म ती फैलनेछन्
र भोकको झोंकमा तिमीहरूको निद्रा चपाइदिनेछन्
जसरी तिमीहरूले मेरो बिपना निर्ममतापूर्वक निल्यौ
शूर्पणखाको नाकले सास फेर्‍यौ
ए मलाई घृणा गर्नेहरू !
फेरि म तिमीहरूलाई सोध्दैछु
भन कहाँ छ नेपाल ?
कहाँ छ मेरो नेपाल ?
हा…हा…हा…

 

Similar Posts

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

Leave a Reply