|

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ ।

सामान्यतयाः मानसिक रोग चार प्रकारका वर्गीकरण गरिएको हुन्छ । १. साइकोसिस वा पागलपन २. डिप्रेसन वा उदासपन, ३. चिन्तारोग वा मानसिक तनाव र ४. अन्य अर्थात् छारेरोग, लागुपदार्थ मादकपदार्थका दुव्र्यसनी, सुस्त मनस्थिति आदि । मानसिक रोगका कारणहरूमा वंशानुगत, मानसिक तनाव तथा घटनाविशेष, पूर्व प्रसूती तथा उत्तर प्रसूती अवस्थामा पर्ने असर पर्दछन् । यस्तै संक्रमण जस्तै मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाउकोमा चोट, लामो समयसम्म मद्यपान, उपचार नगरिएको छारेरोग र स्नायु प्रणालीमा उत्पन्न परिवर्तन पनि मानसिक रोगका मुख्य कारणहरू हुन् ।

mental health status

नेपालमा गरिएको अध्ययन अनुसार समुदायमा १ देखि २ प्रतिशत मानिसमा कडा खालको मानसिक रोग, र कविरव ७ प्रतिशतमा कम कडा वा मध्यम खालको मानसिक रोगबाट मानिस पीडित हुन्छन् । स्वास्थ्य संस्थामा विरामी भएर जँचाउन आउने १०० जनामध्ये २० देखि ३० जना मानिस जानी नजानी मानसिक रोगसँग सम्बन्धित समस्या लिएर स्वास्थ्य संस्था पुगेका हुन्छन् ।

mental health

मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६९÷७० मा उदासपनाका ७५१७ जना, मानसिक असन्तुलनका ७३८ जना, चिन्तारोगका ८६८३ जना, सुस्त मनस्थितिका ५८८६ जना, विकृत तनावका ५२१७ जना, छारेरोगका ५१९६ जना र मद्यपान कुलतका १४६१ जनाको उपचार गरिएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको छ । उक्त संख्या विगत आर्थिक वर्ष २०६८÷६९ मा भन्दा बृद्धि भएको देखिन्छ । मोरङ जिल्लामा हाल लेटाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गैर सरकारी संस्था सि.एम.सी. नेपालको सहयोगमा विरामीलाई मानसिक स्वास्थ्य सेवा प्रदान गरिंदै आएको छ । त्यहाँ मानसिक रोगीहरूको संख्या बढी रहेको र आत्महत्या गर्नेको संख्या पनि अन्य क्षेत्र भन्दा बढी रहेको स्थिति छ ।

मानसिक रोगका लक्षणहरू विभिन्न प्रकारका हुन्छन् । शारीरिक दृष्टिकोणले यदी कुनै मानिसमा धेरै किसिमका रोगका लक्षणहरू तर असम्बन्धित देखा परेमा, निन्द्रा गडबड भएमा, खाना रूचीमा गडबड भएमा, शरीरको तौलमा गडबडी भएमा, यौनेच्छामा गडबडी भएमा, कसैलाई दिसा लाग्ने वा कब्जियत भएमा यस्ता शारीरिक लक्षणहरूलाई पनि मानसिक स्वास्थ्यसंग सम्बन्धित मानिन्छ । यसै गरि मानसिक दृष्टिकोणले हेर्दा मनमा नराम्रो लाग्ने, डर लाग्ने, मन चन्चल हुने, बिना कारण अति खुशी हुने मानसिक रोगका लक्षणहरू हुन् । यस्तै यथार्थ नभए पनि आफूलाई भाग्यमानी सोच्ने वा असाधारण रूपले आनन्दित हुने लक्षण मानसिक रोगीका भावनात्मक तरङ्गहरू हन् । कोही धेरै बोल्ने, कोही एकदम कम बोल्ने भएमा, नचाहिंदो कुरा जस्तो कसैले विष खुवाउन आँटेका छन् भने जस्ता मनगढन्ते कुरा भन्ने, एउटै कुरा मनमा आइरहने पनि मानसिक रोगका लक्षणहरू हुन् । अरूले नदेखेका, नसुनेका कुरा देखें वा सुनें भन्ने अरूले नदेशेको कुराले स्पर्श ग¥यो भनेर भन्ने पनि मानसिक रोगीका लक्षणहरू हुन् । कतिपयको त चेतनाको स्तर नै छर्लङ्गै छुटिने गरि घटेको हुन्छ, अर्धनिद्रा वा बेसुरका कुरा गर्ने सोधेको प्रश्नको जवाफ दिन नसक्ने मानसिक रोगका लक्षणहरू हुन् ।
प्रायःजसो विद्यालय जाने उमेरका किशोकिशोरीहरूलाई हुने मानसिक रोग हो— विकृत तनाव, जसलाई कन्भर्सन डिसअर्डर पनि भनिन्छ । जुनबेला किशोर किशोरीहरू बेहोस हुने, काम्ने, अदृश्य शक्तिले छोप्ने, हातखुट्टा झमझमाउने, घाँटिमा अड्केको जस्तो हुने, वाकवाकी, वान्ता हुने वा पेट दुख्ने, बोलि बन्द हुने, रूने कराउने चिच्याउने, कपडाहरू च्यात्ने, कुटपीट गर्ने, संझनाशक्ति हराउने, जता मन लाग्यो हिड्ने दौडने जस्ता लक्षणहरू विकृत तनावमा देखिन्छन् । यो विकृत तनावका कारणहरूमा वंशानुगत, व्यक्तित्वमा गडबडी जस्तै अपरिपक्व व्यक्तित्व, बिभिन्न खालको आघात वा सहन मुस्किल हुने तनाव जस्तै पढाईको तनाव, प्रियजनको मृत्यु, सम्पत्ति गुमाउनु आदि । मानसिक चिन्ता, डर, तनाव जब शारीरिक रूपमा देखा पर्दछ त्यसलाई विकृत तनाव वा कन्भर्सन डिसअर्डर वा हिस्टेरिया पनि भनिन्छ । ब्यक्त गर्न नसकिने माननिस तनाव यदि शारीरिक लक्षणको रूपमा परिवर्तन हुने हुनाले यसलाई कन्भर्सन डिसअर्डर भनिएको हो ।
यसको समाधानको उपायहरूमा प्रथमतः मनोवैज्ञानिक मनोविमर्श वा परामर्श दिनु पर्दछ । के कस्तो कारणले समस्या देखा परेको हो सो पत्ता लगाएर सकारात्मक ढंगले निराकरण गर्नुपर्दछ । आमाबाबु वा रोगीलाई यो कुनै कडा रोग होइन भनि सम्झाइ बुझाइ गर्नु पर्दछ । यसमा प्रायः कुनै औषधीको आवश्यकता पर्दैन । बिहे गरि दिएमा यो रोग आफै निको हुन्छ भन्ने रूढीबादी सोचले यो रोग वा समस्या थपिन सक्छ भन्ने कुराको पनि जानकारी गराउनु पर्दछ ।

मानसिक रोगको उपचार संभव छ यसमा समय, स्रोत र धैर्यताको आवश्यकता पर्दछ । बिभिन्न उपचार पद्दतिद्वारा बिभिन्न मानसिक रोगको उपचार गरिन्छ । मानसिक अस्पतालमा वा मनोचिकित्सक वा मनोवैज्ञानिकद्वारा मानसिक स्वास्थ्य उपचार गरिन्छ । मनोपरामर्श उपचार प्रणालीको एक अभिन्न अंग हो । यसमा स्वास्थ्यकर्मीका अतिरिक्त परिवारका सदस्य, समाज र राज्यले पनि सहयोगी भूमिका खेल्न जरूरी छ । यस अगाडि मोरङ जिल्लामा अन्तराृष्ट्रिय गैरसरकारी संस्था यु.एम.एन. र त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानले जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरि जिल्लामा मानसिक स्वास्थ्य सेवा प्रदान गरि सकेका छन् । केही वर्ष अघि बि.एन.एम.टि. नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यमा सहयोग गरेको छ । हाल सि.एम.सी. नामक एक गैरसरकारी संस्थाले मोरङको लेटाङमा मानसिक स्वास्थ्य सेवामा प्राथमकि स्वास्थ्य केन्द्र मार्फत् सेवाप्रवाह गर्नमा सहयोग गरेको छ जसलाई यस वर्ष बाहुनी र झुर्किया स्वास्थ्य केन्द्रमा पनि विस्तार गरिदैछ ।

यति हुँदा हुँदै पनि आज मानसिक रोगको समस्या बढेको छ र सेवाको माग र आवश्यकता बढेको छ । मानसिक स्वास्थ्यलाई आज मानव अधिकारसंग गाँसेर हेरिएको अवस्था छ । यसर्थ, मानसिक रोग ब्यवस्थापनमा विद्यमान समस्या सम्बोधन गर्न मानसिक स्वास्थ्य सम्बन्धी नीति २०५३ मा परिमार्जन हुन आवश्यक भइ सकेको छ । नेपालको स्वास्थ्य नीति २०४८ ले मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई सम्बोधन गर्न आवश्यक कार्यक्रम सहित समुदायमा पुग्न अझै बाँकी देखिन्छ । मानसिक रोगमा प्रयोग गरिने औषधी निःशुल्क हुन नसक्नु पनि एउटा महत्वपूर्ण प्राविधिक बाधा महसुस भएको छ । स्वास्थ्यकर्मीको कमी हुनु, विशेषज्ञ तथा दक्ष चिकित्सक र मनोवैज्ञानिकको संख्या र सेवामा कमी हुनु पनि यसमा चुनौती हुन् । समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या करिव ३० प्रतिशत जनसंख्यामा भएको तर राष्ट्रले यो क्षेत्रमा एक प्रतिशत बजेट मात्र खर्च गरेको छ भनेर यस क्षेत्रमा लागेकाहरूको गुनासो छ जसलाई सोच्ने बेला भएको छ ।

Similar Posts

  • HIV and AIDS

    What is HIV/AIDS?

    The HIV stands for Human Immuno-deficiency Virus and AIDS stands for Acquired Immuno-deficiency Syndromes. So, HIV is a cause virus and AIDS is a state or disorder or complex of symptoms or a state of disease. The HIV/AIDS a virus induced pandemic is one of the most serious health concerns in the world today, because of its high case fatality rate and lack of a curative treatment or vaccine.

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • Surveillance of Avian Influenza

    22 January 2009, Jhapa Nepal, More than 27000 chickens, ducks and pigeons have been killed and culled by Rapid Response Team in Kakarvitta Jhapa Nepal.

    Surveillance of human bird flue has been started in the affected area. Households will be visited for suspected Influenza Like Illness (ILI) cases. Surveillance team has found a ILI case Gita Thapa from Dhulabari and kept under isolation and treatment in Mechi Zonal Hospital. Now her condition is normal.

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

Leave a Reply