मनको मझेरी कृतीको अध्ययन

३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन
लेखक : गीता ढकाल
विधा : अनुसन्धान
प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक
६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली । Preview/Download
सुब्बाका प्रकाशित निबन्धहरूको समीक्षा र निष्कर्ष
निबन्धकार नवराज सुब्बाको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ सालमा प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहमा जम्मा बीसवटा निबन्ध सङ्गृहीत छन् जसमा सबै निबन्ध एकै प्रकारका रचना मानिएका छन् । प्रस्तुत सङ्ग्रहका सम्पूर्ण पाठलाई शोधमा ग्रहण गरिएको छ ।
शोधनायकको प्रथम निबन्ध ‘नयाँ नेपालको चित्र’ भन्ने पाठ हो । प्रस्तुत निबन्धमा विराटनगर जेसिजले आयोजना गरेको कार्यक्रमलाई केन्द्रबिन्दु बनाई नयाँ नेपालको चित्रण गरिएको छ । निबन्धमा अपाङ्ग बालबालिकाहरूलाई विभिन्न संघ संस्थाले प्रोत्साहित गरी आफ्नो कला प्रदर्शन गर्न लगाउने र उनीहरूको आन्तरिक क्षमतालाई सार्वजनिक गर्न लगाउने बाल, वृद्ध, उद्योगी व्यवसायीहरूले शुभकामना दिने तर पनि अपाङ्गहरूको समस्याचाहिँ ज्यूँका त्यूँ रहने कुराप्रति निबन्धमा असन्तोष व्यक्त गरिएको छ । यस निबन्धमा निबन्धकार सुब्बाले नवीन नेपालको परिकल्पना र अपाङ्गको शान्तिप्रति ऐक्यबद्धता रहेको देखाएका छन् । तिनको चाहना अनुरूपको सुन्दर राज्य नै नयाँ नेपाल हो भन्ने विचार पनि निबन्धमा व्यक्त गरेका छन् । अशक्त अपाङ्गहरूले पनि स्वाभिमानका साथ बाँच्न पाउनुपर्छ र उनीहरूलाई माया र स्नेहभन्दा पनि अधिकार दिनुपर्छ भन्ने सुब्बाको दृष्टिकोण यस निबन्धमा व्यक्त भएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक नियात्रामूलक मान्न सकिन्छ । यस निबन्धमा समृद्धशाली मान्छेहरू भन्दा यी विकलाङ्ग केटाकेटीहरू राष्ट्रप्रति चिन्तित भएको कुरा यिनका चित्रकलाले देखाएका छन् । यो निबन्ध तीन पृष्ठसम्म विस्तारित छ ।