ग्रेटर लुम्बिनीले देखाएको इतिहास
छरिएका प्रमाणदेखि जीवित ऐतिहासिक भूगोलसम्म: ग्रेटर लुम्बिनीले देखाएको इतिहास अध्ययनको नयाँ दृष्टि
डा. नवराज सुब्बा
परिचय
इतिहास खोज्दा हामी प्रायः एउटा लिखत, एउटा अभिलेख, एउटा दरबार वा एउटा पुरातात्त्विक स्थलमा केन्द्रित हुन्छौँ। कुनै शिलालेख भेटियो भने त्यसैलाई इतिहासको मुख्य प्रमाण मान्छौँ। कुनै पुरानो बस्ती भेटियो भने त्यसलाई छुट्टै अध्ययन गर्छौँ। मौखिक परम्परा र धार्मिक स्मृतिलाई अर्को विषय ठान्छौँ। तर विगतको समाज यसरी छुट्टाछुट्टै खण्डमा बाँडिएको थिएन। मानिस, बस्ती, बाटो, नदी, धार्मिक स्थल, उत्पादन क्षेत्र र राजनीतिक केन्द्र आपसमा जोडिएका थिए।
International Conference
सेप्टेम्बर २०२६ मा सम्पन्न International Conference on the Greater Lumbini Area ले यही कुरा नयाँ ढंगले अगाडि ल्याएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले UNESCO, Lumbini Development Trust र World Bank सँग मिलेर १८ देखि २० सेप्टेम्बरसम्म सम्मेलन आयोजना गरेको थियो। यसमा स्थानीय समुदाय, बौद्ध संस्था, विज्ञ, नीति निर्माता, व्यवसायी र विकास साझेदारसहित १५० भन्दा बढी सहभागी थिए (UNESCO, 2026a)।
सम्मेलनको महत्त्व लुम्बिनीको विकास योजनामा मात्र सीमित छैन। यसले इतिहास, पुरातत्त्व र सांस्कृतिक अध्ययनमा एउटा उपयोगी प्रश्न उठाएको छ। के इतिहासलाई एउटा स्थल वा एउटा लिखतबाट मात्र बुझ्न सकिन्छ?
लुम्बिनी एउटा स्थल मात्र होइन
लुम्बिनी बुद्धको जन्मस्थलका रूपमा सन् १९९७ देखि UNESCO World Heritage List मा सूचीकृत छ। अशोक स्तम्भको अभिलेख तथा तेस्रो शताब्दी ईसापूर्वदेखि विकसित विहार र स्तूपका पुरातात्त्विक अवशेष यसको ऐतिहासिक महत्त्वका प्रमुख प्रमाण हुन् (UNESCO World Heritage Centre, n.d.)।
तर बुद्धको जीवन लुम्बिनीको वर्तमान सीमाभित्र मात्र सीमित थिएन। तिलौराकोट प्राचीन कपिलवस्तुसँग जोडिन्छ। देवदह मायादेवीको माइती क्षेत्रसँग सम्बन्धित छ। रामग्राम बुद्धको अवशेष रहेको स्तूपसँग जोडिएको छ। पण्डितपुरलगायतका पुरातात्त्विक स्थलले पनि यही फराकिलो ऐतिहासिक भूगोलसँग सम्बन्ध राख्छन्। त्यसैले UNESCO ले यी स्थललाई आपसमा सम्बन्धित livingsacredlandscape का रूपमा हेरेको छ (UNESCO, 2026b)।
यस अवधारणाले इतिहासलाई स्थिर वस्तुबाट सम्बन्धको अध्ययनतर्फ लैजान्छ।
अर्थात् प्रश्न अब “यो पुरातात्त्विक वस्तु कति पुरानो हो?” मात्र रहँदैन। त्यससँगै “यो स्थल अर्को स्थलसँग कसरी जोडिएको थियो?”, “मानिस कुन बाटोबाट आवतजावत गर्थे?”, “धार्मिक स्मृति कसरी फैलियो?”, “स्थानीय समुदायले यी स्थललाई कसरी सम्झन्छ?” र “आजसम्म कुन परम्परा जीवित छ?” भन्ने प्रश्न पनि उठ्छन्।
Living sacred landscape भनेको के हो?
यसलाई सामान्य भाषामा जीवित पवित्र सांस्कृतिक भूगोल भन्न सकिन्छ।
यसमा भूमि केवल घटना भएको ठाउँ होइन। त्यो इतिहासको सक्रिय अङ्ग हुन्छ। नदी, बाटो, बस्ती, धार्मिक स्थल, समाधि, पुरातात्त्विक अवशेष, स्थाननाम, अनुष्ठान र सामुदायिक स्मृतिले मिलेर ऐतिहासिक भूगोल बनाउँछन्।
यसैले कुनै स्थलको अर्थ त्यहाँ भेटिएको पुरानो इँटा वा शिलालेखले मात्र निर्धारण गर्दैन। त्यस स्थलसँग मानिसको सम्बन्ध र त्यस सम्बन्धको निरन्तरता पनि महत्त्वपूर्ण हुन्छ।
UNESCO को २०२६ को World Heritage सम्बन्धी निर्णयले समेत लुम्बिनीको व्यवस्थापनमा पुरातात्त्विक अवशेषसँगै जीवित बौद्ध पूजा, श्रद्धा र अमूर्त परम्परालाई Integrated Management Framework मा समावेश गर्नुपर्ने आवश्यकता औँल्याएको छ (UNESCO World Heritage Committee, 2026)।
यसले materialevidence र livingtradition लाई एकअर्काका प्रतिस्पर्धी नभई फरक प्रकारका प्रमाण का रूपमा हेर्ने बाटो खोल्छ।
इतिहासको प्रमाण अब एउटा लिखतमा सीमित रहँदैन
यस दृष्टिकोणको सबैभन्दा ठूलो महत्त्व अनुसन्धान विधिमा छ।
मानौँ कुनै पुरानो अभिलेखमा एउटा गाउँको नाम आयो। परम्परागत इतिहासलेखनले अभिलेखको मिति, लेखक र विषय पहिचान गरेर निष्कर्ष निकाल्न सक्छ। तर historical landscape दृष्टिले त्यहीँ अनुसन्धान रोक्दैन।
त्यसपछि त्यो स्थान कहाँ थियो भनेर खोजिन्छ। पुरानो बाटो कहाँबाट जान्थ्यो हेरिन्छ। आसपासका पुरातात्त्विक अवशेष खोजिन्छन्। पुरानो बस्तीको संरचना हेरिन्छ। स्थानीय स्थाननाम अध्ययन गरिन्छ। धार्मिक वा अनुष्ठानिक स्थल खोजिन्छन्। समाधिस्थल हेरिन्छन्। समुदायको मौखिक स्मृति संकलन गरिन्छ। अनि यी सबै प्रमाणलाई समयक्रममा राखेर तुलना गरिन्छ।
यसलाई एउटा सरल सूत्रमा यसरी बुझ्न सकिन्छ:
अभिलेख + पुरातत्त्व + भूगोल + स्थाननाम + भौतिक संस्कृति + मौखिक स्मृति + जीवित परम्परा = ऐतिहासिक भूगोल
यसको अर्थ सबै प्रमाण बराबर हुन् भन्ने होइन। शिलालेख, मौखिक स्मृति र पछिल्लो वंशावलीको प्रमाणिक भार एउटै हुँदैन। प्रत्येक स्रोतको समय, उत्पत्ति, उद्देश्य र प्रसारण प्रक्रिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ। तर एउटा स्रोतले अर्को स्रोततर्फ जाने बाटो देखाउन सक्छ।
पूर्वी नेपालको इतिहासमा यसको उपयोग
ग्रेटर लुम्बिनीको यो दृष्टिकोण पूर्वी नेपालको इतिहास अनुसन्धानमा अझ रोचक ढंगले प्रयोग गर्न सकिन्छ।
उदाहरणका लागि चाँगेको इतिहासलाई केवल त्यहाँ भेटिएको एउटा स्याहामोहर वा रुक्काबाट बुझ्न खोजियो भने अध्ययन अपूरो हुन सक्छ। चाँगेलाई आठराई, फेदाप, मेवाखोला, तमोर क्षेत्र र आसपासका पुराना राजनीतिक तथा सांस्कृतिक केन्द्रसँग जोडेर हेर्न सकिन्छ।
त्यसका लागि सेनकालीन र शाहकालीन लिखत एउटा प्रमाण हुन्छन्। तर तिनीसँगै पुराना बस्ती, किपट भूमि, समाधिस्थल, माङ्गेना यक, पुराना बाटा, नदी प्रणाली, स्थाननाम, मुन्धुम, वंशस्मृति र अनुष्ठानिक स्थल पनि अध्ययन गर्न सकिन्छ।
यसबाट अर्को महत्त्वपूर्ण कुरा खुल्न सक्छ। आज फरक गाउँ, थर वा वंशका रूपमा देखिएका समुदाय विगतमा एउटै फराकिलो सामाजिक तथा राजनीतिक भूगोलभित्र जोडिएका हुन सक्छन्। उल्टो, आज एउटै वंश भनेर गरिएको दाबी पुरानो भूगोल र अभिलेखसँग नमिल्न पनि सक्छ।
त्यसैले historical landscape दृष्टिकोण कुनै वंशदाबी प्रमाणित गर्ने साधन होइन। यो दाबी परीक्षण गर्ने पद्धति हो।
माङ्गेना यकलाई नयाँ ढंगले पढ्न सकिन्छ
यही दृष्टिले किरात लिम्बू समाजको माङ्गेना यकलाई पनि नयाँ ढंगले हेर्न सकिन्छ।
माङ्गेना यकलाई केवल धार्मिक स्थल वा वंशले आफ्नो उत्पत्तिसँग जोडेको ठाउँका रूपमा मात्र हेर्नु पर्याप्त नहुन सक्छ। त्यसलाई वंश, भूमि र सामूहिक स्मृति जोडिने historical node का रूपमा अध्ययन गर्न सकिन्छ।
त्यहाँबाट धेरै प्रश्न जन्मिन्छन्। त्यो स्थानसँग कुन वंशको स्मृति जोडिएको छ? त्यो स्मृति कति पुरानो छ? वरिपरिका स्थाननामले के भन्छन्? पुराना लिखतमा त्यस भूगोलको उल्लेख छ कि छैन? त्यहाँ पुराना चिहान वा अन्य भौतिक अवशेष छन् कि छैनन्? अनुष्ठानमा पुर्खा र भूगोलको सम्बन्ध कसरी व्यक्त हुन्छ?
यसरी हेर्दा माङ्गेना यक आफैँमा अन्तिम ऐतिहासिक प्रमाण हुँदैन। तर वंशस्मृति, भूगोल, भौतिक संस्कृति र अभिलेख जोड्ने अनुसन्धान बिन्दु बन्न सक्छ।
मौखिक स्मृतिको स्थान
लिखित इतिहासले मौखिक परम्परालाई कहिलेकाहीँ कमजोर प्रमाण मान्छ। अर्कोतर्फ समुदायभित्र मौखिक परम्परालाई नै अन्तिम सत्य मान्ने प्रवृत्ति पनि हुन सक्छ। दुवै अवस्थामा समस्या आउन सक्छ।
Historical landscape approach ले यी दुईबीच अर्को बाटो दिन्छ।
मौखिक स्मृतिले “कहाँ खोज्ने?” भन्ने संकेत दिन सक्छ। कुनै समुदायले आफ्ना पुर्खा कुनै निश्चित स्थानबाट आएको बताउँछ भने त्यो कथालाई तुरुन्त ऐतिहासिक तथ्य मान्नुपर्दैन। तर त्यो स्थानमा गएर स्थाननाम, पुरातत्त्व, समाधिस्थल, पुराना अभिलेख र अर्को समुदायको स्मृति जाँच्न सकिन्छ।
यसरी oral tradition न प्रमाणविहीन कथा मात्र रहन्छ, न स्वतः ऐतिहासिक तथ्य बन्छ। त्यो परीक्षण गर्न सकिने ऐतिहासिक संकेत बन्छ।
विकास र संरक्षणबीच अर्को प्रश्न
Greater Lumbini अवधारणा इतिहास अनुसन्धानमा मात्र सीमित छैन। यसमा विकासको जटिल प्रश्न पनि जोडिएको छ।
World Bank समर्थित Greater Lumbini Area Development Project ले पर्यटन पूर्वाधार, स्थानीय रोजगारी र आर्थिक अवसर विस्तार गर्दै लुम्बिनीको धार्मिक तथा सांस्कृतिक मूल्य जोगाउने उद्देश्य राखेको छ (World Bank, 2026)।
तर यही ठाउँमा सावधानी आवश्यक छ। पुरातात्त्विक स्थललाई पर्यटन गन्तव्य बनाउने क्रममा त्यही स्थलको ऐतिहासिक चरित्र बिग्रन सक्छ। UNESCO World Heritage Committee ले २०२६ मा लुम्बिनीका विकास योजनामा archaeological risk map प्रयोग गर्न, Heritage Impact Assessment गर्न र अपरिवर्तनीय निर्णय लिनुअघि प्रस्तावित योजनाहरू UNESCO को समीक्षाका लागि पठाउन आग्रह गरेको छ (UNESCO World Heritage Committee, 2026)।
यसले एउटा सामान्य सिद्धान्त स्थापित गर्छ। सम्पदाको विकास भनेको नयाँ संरचना थप्नु मात्र होइन। पुरानो अर्थ जोगाउनु पनि हो।
यो सिद्धान्त पूर्वी नेपालका ऐतिहासिक स्थलमा पनि उत्तिकै लागू हुन्छ।
फरक प्रमाणहरू एकअर्कासँग यहाँ जोडिन्छन्
ग्रेटर लुम्बिनीको अवधारणाले यही प्रश्नको एउटा व्यावहारिक नमुना प्रस्तुत गरेको छ। यही दृष्टिलाई पूर्वी नेपालको किरात इतिहासमा प्रयोग गर्दा चाँगे, आठराई, फेदाप, मेवाखोला, मैवाखोला, तम्बरखोला र आसपासका क्षेत्रलाई छुट्टाछुट्टै ऐतिहासिक स्थलका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। अभिलेख, वंश, भूमि, मुन्धुम, माङ्गेना यक, पुराना बाटा, भौतिक अवशेष र सामूहिक स्मृतिले यी क्षेत्रलाई एकअर्कासँग जोडेको हुन सक्छ। त्यसैले यसलाई एउटा फराकिलो जीवित ऐतिहासिक भूगोल का रूपमा अध्ययन गर्न सकिन्छ।
“श्रृंग्या” र “सिरिङ्ग्या” “सिरिङ” वा “सेरेङ”
यसका लागि शाहकालीन लिखतले महत्त्वपूर्ण प्रवेशद्वार खोल्छन्। पृथ्वीनारायण शाहकालीन पत्रहरूमा सेरेङसँग सम्बन्धित नाम “श्रृंग्या” र “सिरिङ्ग्या” जस्ता रूपमा आउँछन्। रणबहादुर शाहकालीन लिखतमा साँबा र सिरिङले फेदापबाट सहायता मागेको प्रसङ्ग भेटिन्छ। अर्को लालमोहरमा रैनसिंह राय लगायत पूर्वका स्थानीय प्रमुखसँग राजकीय सम्बन्ध स्थापित गर्ने प्रयास देखिन्छ। रैनसिंहलाई काठमाडौं बोलाएर ठूलो परिमाणमा खुँडा, बन्दुक र धनुकाँड जिम्मा लगाइएको विवरण पनि पाइन्छ। यस्ता लिखतले सिरिङ वा सेरेङलाई केवल वंशसूचक नामका रूपमा होइन, तत्कालीन राजनीतिक, सैनिक र भूक्षेत्रीय सम्बन्धभित्र सक्रिय स्थानीय शक्तिका रूपमा अध्ययन गर्नुपर्ने संकेत गर्छन्।
अझ महत्त्वपूर्ण कुरा, सेरेङ, सिरेङ वा सिरिङसँग सम्बन्धित उल्लेख एउटै स्थानमा सीमित देखिँदैन। ती नाम फेदाप, मेवाखोला, तम्बरखोला, आठराई र आसपासको राजनीतिक भूगोलसँग विभिन्न प्रसङ्गमा जोडिन्छन्। यसले दुई सम्भावना खोल्छ। पहिलो, एउटै वंशीय वा राजनीतिक सञ्जालका विभिन्न शाखा फरक भूभागमा फैलिएका हुन सक्छन्। दोस्रो, “सिरिङ” वा “सेरेङ” नामले आज बुझिने थरभन्दा फराकिलो पुरानो राजनीतिक वा वंशीय पहिचान जनाएको हुन सक्छ। यी सम्भावनालाई प्रमाणित तथ्य मान्न भने मिल्दैन। कुन व्यक्ति कुन वंशसँग सम्बन्धित थियो र एउटै नामका विभिन्न अभिलेखीय रूप वास्तवमै एउटै वंशलाई जनाउँछन् कि जनाउँदैनन् भन्ने कुरा कालक्रम, भूगोल र वंशसम्बन्धबाट छुट्टै परीक्षण गर्नुपर्छ।
आठराई, फेदाप, मेवाखोला, तम्बरखोला
यहाँ प्रमाणहरूको वास्तविक शक्ति तिनको संख्यामा होइन, समय र भूगोलमा तिनीहरू कसरी एकअर्कासँग जोडिन्छन् भन्ने कुरामा हुन्छ। उदाहरणका लागि, कुनै शाहकालीन पत्रमा सिरिङ वा सेरेङ नाम फेदापसँग जोडिन्छ भने अर्को लिखतमा त्यही नाम मेवाखोला वा तम्बरखोलाको सैनिक तथा प्रशासनिक प्रसङ्गमा आउँछ कि आउँदैन भनेर हेर्नुपर्छ। त्यसपछि ती क्षेत्रका माङ्गेना यक, वंशस्मृति, मुन्धुम, समाधिस्थल, पुराना बस्ती र स्थाननामसँग तुलना गर्नुपर्छ। यदि फरक समयका स्वतन्त्र स्रोतले एउटै वंशीय सञ्जाल र जोडिएको भूगोलतर्फ संकेत गर्छन् भने त्यसले ऐतिहासिक सम्बन्धको सम्भावना बलियो बनाउँछ।
सिक्किमसँगको युद्ध र सीमासम्बन्धी गतिविधिमा सिरिङ वा सेरेङसँग सम्बन्धित व्यक्तिलाई हतियार र सैनिक जिम्मेवारी दिइएको प्रमाणलाई पनि यही सन्दर्भमा पढ्न सकिन्छ। राजाबाट सयौँ खुँडा, बन्दुक र धनुकाँड जिम्मा पाउनु सामान्य व्यक्तिगत सम्मान मात्र थियो कि स्थानीय सैनिक परिचालनको जिम्मेवारी थियो भन्ने प्रश्न उठ्छ। यदि त्यो जिम्मेवारी निश्चित भूभाग र त्यहाँका मानिस परिचालनसँग सम्बन्धित थियो भने सिरिङ वा सेरेङ वंशको ऐतिहासिक उपस्थिति केवल पारिवारिक वंशावलीको विषय रहँदैन। त्यो पूर्वी नेपालको राज्य, सीमा, स्थानीय सत्ता र सैनिक संगठनको इतिहाससँग पनि जोडिन्छ।
सेनकालीन श्रीजुङको हात्तीसार र चाँगेको घोडा तबेला
यस दृष्टिले श्रीजुङमा रहेको भनिएको हात्तीसार, चाँगेको घोडा तबेला र हिटी, मेवाखोलामा सुरक्षित सेनकालीन मानिएका राजदण्ड र त्रिशूल तथा फेदाप, आठराई, मेवाखोला र तम्बरखोला क्षेत्रमा रहेका पुराना शिवालयहरू थप अर्थपूर्ण अनुसन्धान सामग्री बन्छन्। यदि लिखित अभिलेखले यही भूगोलमा स्थानीय राजनीतिक वा सैनिक नेतृत्वको उपस्थिति देखाउँछ, स्थानीय स्मृतिले हात्ती, घोडा, राजदण्ड वा अन्य राजकीय चिह्नसँग कुनै वंश वा सत्तालाई जोड्छ, र भौतिक अवशेष पनि त्यही स्थानमा पाइन्छन् भने तीन फरक प्रकारका प्रमाणबीच सम्बन्ध परीक्षण गर्न सकिन्छ।
उदाहरणका लागि, मेवाखोलाको राजदण्ड र त्रिशूललाई स्थानीय परम्पराले सेनकालीन सत्ता वा कुनै निश्चित वंशसँग जोड्छ भने त्यस दाबीलाई वस्तुको बनावट, धातु, उमेर, संरक्षण इतिहास र सेनकालीन तथा शाहकालीन अभिलेखसँग तुलना गर्नुपर्छ। त्यसैगरी श्रीजुङको हात्तीसार वा चाँगेको घोडा तबेलालाई स्थानीय स्मृतिले कुनै पुरानो राजनीतिक केन्द्रसँग जोड्छ भने अभिलेखमा त्यहाँ हात्ती, घोडा, सैनिक गतिविधि, कर संकलन वा स्थानीय प्रशासकको उपस्थितिको संकेत छ कि छैन भनेर खोज्न सकिन्छ। यसरी वस्तु र स्थलले लिखतलाई पुष्टि गर्ने मात्र होइन, लिखतले नबताएको अर्को ऐतिहासिक प्रश्न पनि जन्माउन सक्छन्।
अनुसन्धान शृङ्खला र भूगोल
पुराना शिवालयहरूको फैलावट पनि यही भूगोलको अर्को तह हुन सक्छ। यदि तिनको वितरण पुराना राजनीतिक केन्द्र, बाटा, बस्ती वा अभिलेखमा आएका स्थानसँग मेल खान्छ भने धार्मिक संरचना र तत्कालीन सत्ता तथा आवागमनबीच सम्बन्ध खोज्न सकिन्छ। तर शिवालय रहेको तथ्यले मात्र सेनकालीन सत्ता वा कुनै निश्चित वंश प्रमाणित गर्दैन। तिनको निर्माणकाल, स्थापत्य, मूर्ति, अभिलेख र स्थानीय परम्परा अलग अलग परीक्षण गर्नुपर्छ।
यसरी प्रमाणहरूको सम्भावित सम्बन्धलाई एउटा अनुसन्धान शृङ्खलामा राख्न सकिन्छ:
शाह तथा सेनकालीन अभिलेखमा आएको व्यक्ति वा वंश → त्यससँग जोडिएको थुम र भूक्षेत्र → सैनिक वा प्रशासनिक जिम्मेवारी → भूमि र स्थानीय सत्ता → माङ्गेना यक र पुर्खागत भूगोल → मुन्धुम तथा वंशस्मृति → हात्तीसार, घोडा तबेला, हिटी, राजदण्ड, त्रिशूल, शिवालय र समाधिस्थलजस्ता भौतिक संकेत → पछिल्ला अभिलेखमा देखिने नाम र वंशको निरन्तरता वा परिवर्तन।
ध्यान दिनु पर्ने कुरा
यस क्रममा एउटा महत्त्वपूर्ण सावधानी चाहिन्छ। “सिरिङ”, “सिरेङ”, “सेरेङ”, “श्रृंग्या” वा यस्तै लेख्यरूप देखिँदैमा ती सबैलाई एउटै व्यक्ति वा वंश मानेर जोड्नु हुँदैन। पुरानो लिखतको लिपि, स्थानीय उच्चारण, प्रतिलिपिको शुद्धता, व्यक्ति, समय र स्थान सबै जाँच्नुपर्छ। नामको समानता अनुसन्धान सुरु गर्ने संकेत हो, निष्कर्ष होइन।
तर फरक कालका राजकीय लिखतमा समान वा नजिकका नामहरू बारम्बार देखिनु, ती नाम फेदाप, मेवाखोला, तम्बरखोला र आठराईजस्ता आपसमा सम्बन्धित भूभागसँग जोडिनु, र तिनै क्षेत्रमा वंशस्मृति तथा भौतिक सांस्कृतिक संकेत पनि रहनु संयोग मात्र हो भनेर पहिले नै पन्छाउन पनि मिल्दैन। यही पुनरावृत्ति र भौगोलिक फैलावट स्वयं अनुसन्धान गर्नुपर्ने ऐतिहासिक pattern हो।
इतिहास एउटा पुरानो लालमोहर वा वंशावलीको व्याख्यामा मात्र सीमित रहँदैन
त्यसैले जीवित ऐतिहासिक भूगोल को उद्देश्य यी सबै प्रमाणलाई एउटै वंशदाबी पुष्टि गर्न जबर्जस्ती जोड्नु होइन। यसको उद्देश्य अभिलेखले भूगोलतर्फ, भूगोलले वंशस्मृतितर्फ, वंशस्मृतिले भौतिक अवशेषतर्फ र ती अवशेषले फेरि अभिलेखतर्फ लैजाने परीक्षणयोग्य अनुसन्धान चक्र बनाउनु हो।
यसरी इतिहास एउटा पुरानो लालमोहर वा वंशावलीको व्याख्यामा मात्र सीमित रहँदैन। त्यो मानिस, वंश, राज्य, भूमि, युद्ध, वस्तु, मुन्धुम, स्मृति र अभिलेखबीच समयसँगै बनेका, टुटेका र पुनर्गठित भएका सम्बन्धहरूको अध्ययन बन्छ। यही दृष्टिले पूर्वी नेपालको किरात इतिहासलाई केही पृथक थुम वा वंशको इतिहासभन्दा फराकिलो, गतिशील र परीक्षणयोग्य ऐतिहासिक भूगोलका रूपमा पुनर्निर्माण गर्ने सम्भावना खोल्छ।
उपसंहार
ग्रेटर लुम्बिनीको सबैभन्दा ठूलो सन्देश पाँचवटा ऐतिहासिक स्थललाई एउटै पर्यटन क्षेत्रमा जोड्नु मात्र होइन। यसको गहिरो अर्थ इतिहासलाई हेर्ने दृष्टिमा छ। कुनै ऐतिहासिक स्थल आफैँमा अलग टापु हुँदैन। त्यसलाई मानिस, बस्ती, बाटो, सत्ता, संस्कृति र स्मृतिले वरिपरिको भूगोलसँग जोडेको हुन्छ।
विगत एउटा कागजमा मात्र बाँचेको हुँदैन। त्यो भूगोलमा बाँच्छ। स्थाननाममा बाँच्छ। पुरानो बाटो र बस्तीमा बाँच्छ। समाधिस्थल र माङ्गेना यकमा बाँच्छ। धार्मिक अभ्यास, वस्तु र मानिसको सामूहिक स्मृतिमा पनि बाँच्छ। कहिलेकाहीँ समुदायले सामान्य ठानेर दैनिक जीवनमा प्रयोग गरिरहेको ठाउँ वा पुस्तौँदेखि जोगाएर राखेको वस्तुभित्र इतिहासको महत्त्वपूर्ण तह लुकेको हुन सक्छ।
त्यसैले इतिहास अनुसन्धानमा अब “प्रमाण कहाँ छ?” भनेर मात्र सोध्नु पर्याप्त हुँदैन। अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ:
यी फरक प्रमाणहरू समय, स्थान र सामाजिक सम्बन्धमा एकअर्कासँग कहाँ र कसरी जोडिन्छन्?
ग्रेटर लुम्बिनीको अवधारणाले यही प्रश्नको एउटा व्यावहारिक नमुना प्रस्तुत गरेको छ। यही दृष्टिलाई पूर्वी नेपालको किरात इतिहासमा पनि प्रयोग गर्न सकिन्छ। चाँगे, आठराई, फेदाप, मेवाखोला, तम्बरखोला र आसपासका क्षेत्रलाई छुट्टाछुट्टै स्थानका रूपमा मात्र नहेरी अभिलेख, वंश, भूमि, राजनीतिक सत्ता, मुन्धुम, माङ्गेना यक, बसाइँसराइ र सामूहिक स्मृतिले जोडिएको जीवित ऐतिहासिक भूगोल का रूपमा अध्ययन गर्न सकिन्छ।
यस सम्भावनालाई शाहकालीन लिखतहरूले अझ रोचक बनाउँछन्। पृथ्वीनारायण शाह र रणबहादुर शाहका समयका पत्र तथा लालमोहरमा सिरिङ, सिरेङ, सेरेङ वा तिनसँग नजिक देखिने नामहरू आउनु, ती नाम फेदाप, मेवाखोला, आठराई र तम्बरखोलाको भूगोलसँग जोडिनु तथा सिक्किमसँगको युद्ध र सीमा सुरक्षाको प्रसङ्गमा सिरिङसँग सम्बन्धित व्यक्तिलाई हतियार र सैनिक जिम्मेवारी दिइएको विवरण भेटिनु महत्त्वपूर्ण छ। यी लिखतले एउटै वंशीय निरन्तरता स्वतः प्रमाणित गर्दैनन्। तर समान वा नजिकका नामहरू फरक समयमा आपसमा सम्बन्धित भूगोल, स्थानीय सत्ता र सैनिक गतिविधिसँग बारम्बार जोडिनुले एउटा ऐतिहासिक सञ्जालको सम्भावनातर्फ संकेत गर्छ। त्यसैले यो पुनरावृत्ति स्वयं अनुसन्धान गर्नुपर्ने विषय हो।
यही लिखित प्रमाणलाई स्थानीय भूगोल र भौतिक संस्कृतिसँग तुलना गर्दा अनुसन्धानको अर्को तह खुल्छ। श्रीजुङमा रहेको भनिएको हात्तीसार, चाँगेको घोडा तबेला र हिटी, मेवाखोलामा सुरक्षित सेनकालीन मानिएका राजदण्ड र त्रिशूल, पुराना शिवालय, समाधिस्थल तथा माङ्गेना यकलाई अलग अलग वस्तु वा स्थलका रूपमा मात्र हेर्नु आवश्यक छैन। यदि राजकीय लिखतले त्यही भूगोलमा राजनीतिक, प्रशासनिक वा सैनिक गतिविधि देखाउँछ र स्थानीय वंशस्मृति तथा मुन्धुमले पनि त्यस भूगोलसँग पुर्खागत सम्बन्ध सम्झन्छ भने यी भौतिक अवशेष तिनै सम्बन्धलाई परीक्षण गर्ने अर्को तहका स्रोत बन्न सक्छन्।
तर यहाँ सावधानी चाहिन्छ
राजदण्डलाई सेनकालीन भनिँदैमा त्यो सेनकालीन प्रमाणित हुँदैन। हात्तीसार वा घोडा तबेलाको स्थानीय स्मृति हुँदैमा त्यसको काल निर्धारण हुँदैन। त्यस्तै “सिरिङ”, “सिरेङ”, “सेरेङ” वा मिल्दोजुल्दो लेख्यरूप देखिँदैमा ती सबै एउटै व्यक्ति वा वंश हुन् भन्न मिल्दैन। वस्तुको उमेर र संरक्षण इतिहास, लिखतको लिपि र मिति, नामको भाषिक रूप, स्थानको निरन्तरता तथा वंशस्मृतिको विकासलाई स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्छ।
यस अर्थमा एउटा प्रमाणले अर्को प्रमाणलाई स्वतः सिद्ध गर्दैन। बरु अभिलेखले भूगोलतर्फ संकेत गर्छ, भूगोलले पुरानो बस्ती र भौतिक अवशेषतर्फ लैजान्छ, भौतिक अवशेषले स्थानीय स्मृति र मुन्धुमसँग प्रश्न गर्छ, अनि ती स्मृतिले फेरि पुराना अभिलेख खोज्न प्रेरित गर्छन्। जब फरक प्रकृतिका स्वतन्त्र स्रोत समय, स्थान र सामाजिक सम्बन्धका आधारमा एउटै ऐतिहासिक प्रक्रियातर्फ संकेत गर्न थाल्छन्, तब प्रमाणहरूको अभिसरण देखिन सक्छ। नमिलेका प्रमाण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्, किनकि तिनले बसाइँसराइ, वंशीय शाखीकरण, स्थाननामको परिवर्तन वा पछि निर्मित स्मृतितर्फ संकेत गर्न सक्छन्।
इतिहासभन्दा फराकिलो, गतिशील र परीक्षणयोग्य जीवित ऐतिहासिक भूगोल
यसरी इतिहास एउटा पुरानो लालमोहर, स्याहामोहर वा वंशावलीको व्याख्यामा मात्र सीमित रहँदैन। त्यो मानिस, वंश, राज्य, भूमि, युद्ध, वस्तु, मुन्धुम, माङ्गेना यक, स्मृति र अभिलेखबीच समयसँगै बनेका, छुट्टिएका र पुनर्गठित भएका सम्बन्धहरूको अध्ययन बन्छ।
त्यसैले ग्रेटर लुम्बिनीबाट पूर्वी नेपालको इतिहासले लिन सक्ने मुख्य पाठ कुनै तयार निष्कर्ष होइन, एउटा अनुसन्धान दृष्टि हो। प्रमाणलाई एउटै दाबी प्रमाणित गर्न जबर्जस्ती जोड्ने होइन, फरक प्रमाणले एकअर्कालाई कहाँ समर्थन गर्छन्, कहाँ प्रश्न उठाउँछन् र कहाँ अस्वीकार गर्छन् भनेर खोज्ने हो। यही दृष्टिले चाँगे, फेदाप, आठराई, मेवाखोला र तम्बरखोलाको इतिहासलाई अलग अलग थुम वा वंशको इतिहासभन्दा फराकिलो, गतिशील र परीक्षणयोग्य जीवित ऐतिहासिक भूगोलका रूपमा पुनर्निर्माण गर्ने नयाँ ढोका खोल्न सक्छ।
सन्दर्भ
UNESCO. (2026a, September 21). InternationalconferenceontheGreaterLumbiniAreaconcludeswithactionplanforsustainableheritageanddevelopment. UNESCO.
UNESCO. (2026b, September 18). InternationalconferenceontheGreaterLumbiniArea. UNESCO.
UNESCO World Heritage Centre. (n.d.). Lumbini, thebirthplaceoftheLordBuddha. UNESCO.
UNESCO World Heritage Committee. (2026). Decision48COM7B.19: Lumbini, thebirthplaceoftheLordBuddha(Nepal). UNESCO World Heritage Centre.
World Bank. (2026, September 7). GreaterLumbiniAreaDevelopmentProject: Preservingheritage, unlockingpotential. World Bank Group.
Citation
Subba, N. R. (2026). छरिएका प्रमाणदेखि जीवित ऐतिहासिक भूगोलसम्म: ग्रेटर लुम्बिनीले देखाएको इतिहास अध्ययनको नयाँ दृष्टि. Zenodo. https://doi.org/10.5281/zenodo.22915103
