प्राचीन नेपालमा किरात सत्ता, जनसाङ्ख्यिक निरन्तरता र विस्थापनको भाष्य:
गोपालराज वंशावली र हड्सनका विवरणहरूको पाठतात्विक पुनरावलोकन
Research Note by Dr. Nawa Raj Subba.
सार (Abstract)
नेपालको प्राचीन इतिहासमा किरात काल राजनीतिक, सामाजिक र भाषिक संरचनाको जग मानिन्छ। यस अनुसन्धान पत्रमा नेपालको सबैभन्दा पुरानो प्रामाणिक इतिहास ग्रन्थ मानिएको गोपालराज वंशावली र उन्नाइसौँ शताब्दीका अध्येता ब्रायन हफटन हड्सनका सामग्रीलाई मुख्य आधार बनाएर किरात शासनको प्रकृति, भौगोलिक अवस्थिति र विस्थापनसम्बन्धी प्रचलित भाष्यको चिरफार गरिएको छ। विशेष गरी गोपालराज वंशावलीको मूल संस्कृत वाक्यांश “तामर्ज्जणकोशकीटटाद्भवा येः” को व्याकरणिक तथा पाठतात्विक विश्लेषण गर्दै आधुनिक अनुवादहरूमा थपिएको “अहिले” भन्ने कालवाचक शब्द र त्यसले जन्माएको अर्थगत विचलनलाई स्पष्ट पारिएको छ। साथै, लिच्छविहरूद्वारा किरात राजा मात्र पराजित भएको तर किरात रैती वा जनता काठमाडौँ उपत्यकामै निरन्तर रहेको यथार्थलाई लिच्छविकालीन अभिलेखहरूमा पाइने गैर-संस्कृत स्थाननामहरूको प्रमाणमार्फत पुष्टि गरिएको छ। हड्सनले संकलन गरेको मौखिक जनश्रुतिमा चौधौँ शताब्दीका मल्लहरूले किरातलाई उपत्यकाबाट निष्कासन गरेको भनी उल्लेख हुनु ऐतिहासिक कालभ्रम (anachronism) मात्र रहेको तथ्य उजागर गर्दै प्राचीन किरात जनता कालान्तरमा नेवार समाजको कृषक तथा श्रमजीवी वर्गमा घुलमिल भएको निष्कर्ष यहाँ प्रस्तुत गरिएको छ।
मुख्य शब्दहरू: प्राचीन नेपाल, किराँत शासन, गोपालराज वंशावली, हड्सनका विवरणहरू, पाठ्य विश्लेषण।
१. विषय प्रवेश र समस्याको उठान
नेपाल उपत्यका (काठमाडौँ उपत्यका) को लिखित इतिहासको प्रारम्भ प्रायः गोपाल, महिषपाल र किरात राजाहरूको शासन परम्पराबाट जोडिन्छ। चौधौँ शताब्दीको उत्तरार्द्ध (इ.सं. १३८० को दशक) मा राजा जयस्थितिमल्लको समयमा संकलित गोपालराज वंशावली यस विषयको सबैभन्दा पुरानो देशीय ऐतिहासिक स्रोत हो (Vajracarya & Malla, 1985)। अर्कातर्फ, उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा नेपालमा ब्रिटिस आवासीय प्रतिनिधिको रूपमा रहेका ब्रायन हड्सनले हिमाली जातिहरू, विशेष गरी किरात र अन्य गैर-आर्य समुदायको भाषा, समाज र मौखिक परम्परालाई पहिलो पटक पश्चिमा प्राज्ञिक जगतमा व्यवस्थित रूपले अभिलेखीकरण गरे (Hodgson, 1880)।
यी दुई भिन्न कालखण्डका स्रोतहरूले किरात जातिको प्राचीनता, शासन र भौगोलिक उपस्थितिबारे महत्वपूर्ण जानकारी दिन्छन्। यद्यपि, नेपाली इतिहास लेखनमा लामो समयदेखि एउटा सरलीकृत धारणा स्थापित गर्न खोजियो, जसअनुसार लिच्छविहरूले उपत्यकामा आक्रमण गरेपछि वा मल्लकालमा किरातहरूलाई काठमाडौँबाट पूर्णतया लखेटियो र उनीहरू सबै पूर्वतर्फ लागे। यस्तो धारणा बनाइनुमा गोपालराज वंशावलीका मूल संस्कृत श्लोकहरूको असावधानीपूर्ण अनुवाद र हड्सनले उल्लेख गरेका स्थानीय जनश्रुतिलाई विनाआलोचना ऐतिहासिक तथ्य मान्नु मुख्य कारण थियो। यस अनुसन्धान पत्रले मूल पाठहरूको पुनर्वाचन गर्दै शासक वर्गको पराजय र सामान्य जनताको निरन्तरताबीचको ऐतिहासिक सीमारेखा स्पष्ट पार्ने प्रयास गरेको छ।
२. गोपालराज वंशावलीमा किरात शासनको अभिलेख
गोपालराज वंशावलीको पहिलो खण्ड (जसलाई सेसिल बेन्डलले ‘V1’ नामाकरण गरेका थिए, पत्र १७ देखि ३० क सम्म) मा नेपालका प्राचीन राजवंशहरूको तालिका र संक्षिप्त घटना विवरण पाइन्छ (Bendall, 1903)। यस खण्डको पत्र १८ क देखि १९ क सम्म ३२ किरात राजाहरूको नामावली सुरक्षित छ।
वंशावलीका अनुसार गोपाल र महिषपाल (आभीर) राजाहरूलाई जितेर किरातहरू सत्तामा आएका थिए। पहिलो किरात राजा श्री एलम् ले ९० वर्ष शासन गरेको र अन्तिम राजा श्री खिगु ले ८५ वर्ष शासन गरेको उल्लेख गर्दै ग्रन्थकारले किरात वंशको कुल शासन अवधि १,७०१ वर्ष देखाएका छन् (Vajracarya & Malla, 1985, p. 26)। यद्यपि १,७०१ वर्षको अवधि पौराणिक समयगणनासँग जोडिएको अतिशयोक्तिपूर्ण आँकडा हो, तर नामावलीमा समावेश गरिएका ३२ वटै राजाहरूका नामहरू ऐतिहासिक दृष्टिले निकै गम्भीर छन्।
ती नामहरूमा पेलम्, मेलम्, र्चामे, धस्क, वलुंच, हुति, हरमा, तस्के, प्रसफु, पावा, दास्ती, चम्ब, कंक, स्वनन्द, फुकों, शिंघु, जुलम्, लुकम्, थोरम्, थुको, वर्म्म, गुंजं, पुस्क, त्यपमि, मुगमं, ससरु, गंनं, खिम्बुं, गिरिजं, खुरांज र खिगु रहेका छन् (Vajracarya & Malla, 1985, pp. 25-26)।
संस्कृत भाषामा लेख्न खोजिएको तर व्याकरणगत दृष्टिले अपरिपक्व रहेको यस वंशावलीमा ३२ वटै राजाका नामहरू पूर्णतया गैर-संस्कृत र तिब्बती-बर्मेली मूलका छन्। प्रा. कमल प्रकाश मल्लले आफ्नो भूमिकामा औँल्याएझैँ, यदि वंशावलीकारले काल्पनिक रूपमा राजाहरूको नाम भर्नुपरेको भए उनले संस्कृतका प्रचलित नामहरू राख्ने थिए (Vajracarya & Malla, 1985, p. vi)। गैर-संस्कृत ध्वनिका यी नामहरू वंशावली संकलन हुनुभन्दा निकै अघिदेखि स्थानीय मौखिक वा लिखित स्मृतिमा जीवित परम्पराकै उपज थिए।
३. मूल संस्कृत पाठको पाठतात्विक विश्लेषण: अनुवादगत विचलन
किरात राजाहरूको नामावली समाप्त भएपछि गोपालराज वंशावलीको पत्र १८ ख र १९ क को सन्धिमा एउटा महत्वपूर्ण वाक्य आउँछ:
“एते द्वात्रिंस किरातराजाः तामर्ज्जणकोशकीटटाद्भवा येः । ।” (Vajracarya & Malla, 1985, p. 26)
नेपाली इतिहास लेखनमा यस वाक्यको अनुवाद गर्दा निकै ठूलो अर्थगत फेरबदल भएको देखिन्छ। इतिहासशिरोमणि बाबुराम आचार्य, धनवज्र बज्राचार्य तथा प्रा. कमल प्रकाश मल्लले यसको अनुवाद गर्दा तत्कालीन वर्तमान स्थिति (आधुनिक काल) लाई जोडेर व्याख्या गरे। बज्राचार्यले नेपाली अनुवादमा लेखे: “यी बत्तीस किरात राजा भए। ती किरातहरू अहिले तामाकोशी र अरुणकोशीको बीचको देशमा बस्छन्” (Vajracarya & Malla, 1985, p. 76)। त्यसैगरी मल्लले अङ्ग्रेजी अनुवादमा लेखे: “These were the thirty-two Kirata kings. These Kiratas now live in the land between the rivers Tamakosi and Aruna” (Vajracarya & Malla, 1985, p. 123)।
तर मूल संस्कृत पाठको शब्दशः संरचनालाई हेर्दा त्यहाँ अर्थ अर्कै निस्कन्छ:
• एते (यी)
• द्वात्रिंस किरातराजाः (बत्तीस किरात राजाहरू)
• तामर्ज्जणकोशकीटटाद्भवा [ताम्र + अर्जुन/अरुण + कोशिकी + तट + उद्भवाः] (तामाकोशी र अरुणकोशीको तटबाट उद्भव भएका वा उत्पन्न भएका)
• येः [ये] (जो हुन्)
यहाँ मूल पाठमा न त ‘अहिले’ भन्ने कुनै कालवाचक शब्द (जस्तै: इदानीम्, अधुना, सम्प्रति) छ, न त ‘बस्छन्’ भन्ने वर्तमानकालीन क्रियापद (जस्तै: निवसन्ति वा तिष्ठन्ति) नै छ। त्यहाँ प्रयुक्त मुख्य शब्द ‘उद्भवाः’ (उद्भव भएका) हो। संस्कृत व्याकरण अनुसार ‘उद्भव’ शब्दले स्रोत, उत्पत्ति वा निकासलाई बुझाउँछ।
यसको व्याकरणसम्मत अर्थ हुन्छ: “यी बत्तीस किरात राजाहरू हुन्, जो तामाकोशी र अरुणकोशीको तटबाट उद्भव भएका/आएका हुन्।”
ग्रन्थकारले किरात राजाहरूको उत्पत्तिको भौगोलिक क्षेत्र पूर्वको तामा-अरुण तट देखाएका हुन्। तर आधुनिक अनुवादकहरूले उन्नाइसौँ र बीसौँ शताब्दीमा राई-लिम्बूहरू तामाकोशी र अरुणको बीचमा बसोबास गरिरहेको यथार्थलाई ध्यानमा राखी मूल ग्रन्थमा हुँदै नभएको ‘अहिले’ र ‘बस्छन्’ शब्द थपेर व्याख्यात्मक अनुवाद गरिदिए। यसले गर्दा मूल पाठले किरात राजाहरूको ऐतिहासिक उद्भवस्थल वा आगमनको दिशा संकेत गरेको विषय ओझेलमा पर्न गयो।
४. “किरात राजा निर्ज्जित्य”: राजाको पराजय बनाम जनताको विस्थापन
गोपालराज वंशावलीको पत्र १९ ख मा किरात शासनको अन्त्य र लिच्छविवंशको उदयबारे यसरी लेखिएको छ:
“अथः सूर्यवम्सप्रभावात् नेपाले कि(रात) राजा निर्ज्जित्य । लिच्छवीवंस्स प्रवर्त्ततेः ।” (Vajracarya & Malla, 1985, p. 26)
यस वाक्यको सुस्पष्ट शब्दप्रयोग ध्यान दिन योग्य छ। ग्रन्थकारले ‘किरात राजा निर्ज्जित्य’ (किरात राजालाई जितेर) भनेका छन्, किरात जाति वा किरात जनतालाई जितेर अथवा निष्कासन गरेर भनिएको छैन।
प्राचीन राजनीतिक संरचनामा जब कुनै नयाँ राजवंशले पुरानो वंशलाई विस्थापित गर्दथ्यो, पराजित हुने पक्ष राजकुल, उसका भारदार र मुख्य सेनापति मात्र हुन्थे। राज्यको उत्पादनको मुख्य आधार रहेका किसान, शिल्पकार र श्रमजीवी जनतालाई कुनै पनि नयाँ शासकले देश निकाला गर्दैनथ्यो। राज्य सञ्चालनका लागि कर तिर्ने र श्रम गर्ने रैतीको आवश्यकता नयाँ शासकलाई पनि उत्तिकै हुन्थ्यो।
लिच्छविहरूले किरात राजालाई हराएपछि पराजित राजपरिवारका केही सदस्य वा विद्रोही समूह आफ्नो पुरानो उद्भवस्थल वा प्रभाव क्षेत्र (पूर्वको तामा-अरुण क्षेत्र) तर्फ फर्किएका हुन सक्छन्। तर उपत्यकाका आम किरात बासिन्दाहरूलाई उपत्यकाबाट लखेटिएको भन्ने कुरा न त गोपालराज वंशावलीले बताउँछ, न त अन्य कुनै समकालीन ऐतिहासिक प्रमाणले नै पुष्टि गर्छ।
५. लिच्छविकालमा किरातहरूको निरन्तरता: भाषिक पुरातत्वको प्रमाण
काठमाडौँ उपत्यकाबाट किरात जनता विस्थापित नभएको सबैभन्दा बलियो र अकाट्य प्रमाण लिच्छविकालीन अभिलेखहरूमा सुरक्षित रहेको छ। इ.सं. पाँचौँ शताब्दीदेखि आठौँ शताब्दीसम्मका लिच्छवि राजाहरू (मानदेव, अंशुवर्मा, जिष्णुगुप्त, नरेन्द्रदेव, शिवदेव आदि) ले संस्कृत भाषामा जारी गरेका १९० भन्दा बढी अभिलेखहरू फेला परेका छन् (Vajracarya, 1973)।
यद्यपि यी अभिलेखहरूको औपचारिक भाषा र राजप्रशस्ति शास्त्रीय संस्कृतमा छ, तर अभिलेखहरूमा उल्लिखित स्थाननाम, बस्ती, खोलानाला, डाँडाकाँडा, कुलो र प्रशासनिक कर कार्यालयका नामहरू केलाउँदा अचम्मको तथ्य सामुन्ने आउँछ। प्रा. कमल प्रकाश मल्लका अनुसार लिच्छविकालीन अभिलेखहरूमा प्रयुक्त स्थाननामहरूमध्ये ८० प्रतिशतभन्दा बढी नामहरू पूर्णतया गैर-संस्कृत र तिब्बती-बर्मेली (किराती) मूलका छन् (Malla, 1981, 1983)।
उदाहरणका लागि:
• कुलो र सिँचाइ प्रणाली: कुलोलाई संस्कृतमा ‘कुल्या’ भनिन्छ, तर लिच्छवि अभिलेखहरूमा यसका लागि निरन्तर स्थानीय शब्द ‘तिलमख’ (Tilamakha) प्रयोग गरिएको छ।
• बस्ती र गाउँका नामहरू: खोपाङ (Khopang), कुपिण्डो (Kupindo), तेङ्खु (Tenkhu), बुङ्मतीको प्राचीन रूप ‘बुगयुमी’ (Bugayumi), साङ्गा, जोङ्गन्दोङ, तेङ्लिङ आदि।
• कर र प्रशासनिक शब्दावली: लिच्छवि शासनमा लिइने कतिपय कर र कार्यालयका नामहरू जस्तै सिङ्कर, तेपुक, सिल्ल आदि पनि गैर-संस्कृत प्रकृतिका छन्।
भाषाविज्ञानको नियम अनुसार कुनै पनि भूगोलमा नदी, डाँडा र बस्तीका नामहरू त्यहाँका रैथाने जनताले दैनिक जीवनमा बोल्ने भाषाबाट निर्माण हुन्छन्। यदि लिच्छवि आगमनपछि किरात जनता काठमाडौँबाट पूर्णतया लखेटिएका हुन्थे भने उपत्यकाका सूक्ष्म भूगोल, गाउँ र कुलोका नामहरू किराती भाषामा रहिरहन सम्भव थिएन। ती स्थाननामहरू लिच्छविकालभरि मात्र होइन, मध्यकालसम्म जीवित रहे। यसले प्रमाणित गर्छ कि लिच्छवि शासकहरूको अधीनमा रहेर जमिन जोत्ने, उत्पादन गर्ने र गाउँमा बस्ने बहुसंख्यक जनता किरात भाषी नै थिए।
६. ब्रायन हड्सनको अध्ययन र विस्थापनसम्बन्धी कालभ्रम
ब्रायन हड्सनले उन्नाइसौँ शताब्दीको मध्यतिर किरात जाति, उनीहरूको भाषा र सामाजिक संरचनाबारे विस्तृत अध्ययन गरेका थिए। उनका अनुसन्धानात्मक लेखहरू पछि सन् १८८० मा Miscellaneous Essays relating to Indian Subjects नामक दुई खण्डको ग्रन्थमा संकलित भएर प्रकाशित भए (Hodgson, 1880)।
(क) किरातहरूको स्व-पहिचान र संरचना
हड्सनले किरातहरूलाई हिमाली क्षेत्रका सबैभन्दा प्राचीन र विशिष्ट भाषा बोल्ने जाति मानेका छन्। उनले किरातहरू बाहिरी मानिसले प्रयोग गर्ने ‘किराँत’ नामभन्दा आफ्नो समुदायभित्र ‘ख्वोम्बो/खम्बो’ (Khwombo/Khombo) वा ‘किरावा’ (Kirawa) भन्न मन पराउने तथ्य उल्लेख गरेका छन् (Hodgson, 1880, p. 398)। हड्सनले यस ‘खम्बो’ शब्दलाई तिब्बतको ‘खाम’ (Kham) सँग तुलना गर्दै उनीहरू अति प्राचीन कालमा पूर्वी तिब्बत वा उत्तर-पूर्वी हिमाली मार्ग भएर नेपालतर्फ प्रवेश गरेको भाषावैज्ञानिक अनुमान अघि सारेका थिए।
हड्सनले किरात जातिको आन्तरिक सामाजिक र प्रशासनिक शब्दावली पनि संकलन गरेका छन्:
• राजा वा सर्वोच्च नेतालाई ‘हाङ’ वा ‘ह्वाङ’ (Hang/Hwang) भनिन्थ्यो।
• गाउँका मुखिया वा प्रशासकलाई ‘पासुङ’ (Pasung) भनिन्थ्यो, जसलाई खस भाषामा ‘राई’ भन्न थालियो।
• पुर्ख्यौली जग्गालाई ‘वालिखा’ (Walikha) र भूस्वामीलाई ‘थाङपुङ हाङपा’ (Thangpung hangpa – भूमिको मालिक) भनिन्थ्यो (Hodgson, 1880, p. 400)।
(ख) नौ लाख किरात र भौगोलिक सीमा
हड्सनले किरात भूगोललाई तीन भागमा विभाजन गरी विश्लेषण गरेका छन्: १. वल्लो किरात: सुनकोशीदेखि लिखु नदीसम्म। २. माझ किरात: लिखुदेखि अरुण नदीसम्म। ३. पल्लो किरात (लिम्बुवान): अरुण नदीदेखि मेची र सिङ्गलिला पर्वत शृङ्खलासम्म (Hodgson, 1880, p. 399)।
उनले किरात परम्परामा प्रचलित ‘नौ लाख किरात’ भन्ने उक्तिलाई प्रतिपरिवार दुई आनाका दरले कर उठाउँदा नौ लाख आना संकलन हुने व्यवस्थासँग जोडेका छन्। यस आधारमा पाँच जनाको औसत परिवार मान्दा प्राचीन समयमा किरातहरूको कुल जनसंख्या २२ लाख ५० हजार (२.२५ मिलियन) जति रहेको हुनसक्ने अनुमान उनले गरेका छन् (Hodgson, 1880, p. 399)।
(ग) चौधौँ शताब्दीमा मल्लहरूले निष्कासन गरेको भन्ने भनाइको खण्डन
हड्सनको लेखमा एउटा यस्तो प्रसंग आउँछ, जसले आधुनिक इतिहासकारहरूलाई लामो समयसम्म अन्योलमा पार्यो। हड्सनले लेखेका छन्:
“हामीलाई थाहा छैन कि किरातहरूलाई भारतको मैदानबाट कहिले निकालियो; यदि उनीहरूले त्यहाँ कहिल्यै स्थायी अधिकार जमाएका थिए भने। तर यो नेपाल उपत्यकाको मल्ल वंश थियो जसले लगभग चौधौँ शताब्दीको मध्यतिर उनीहरूलाई विशाल उपत्यकाबाट निष्कासन गर्यो…” (Hodgson, 1880, p. 397)।
यो भनाइ ऐतिहासिक तथ्य नभएर हड्सनले तत्कालीन समयमा पूर्वी नेपालका किरातहरूबाट संकलन गरेको मौखिक जनश्रुतिको गलत कालक्रम (anachronism) मात्र थियो। यसका मुख्य प्राविधिक र ऐतिहासिक कारणहरू यस प्रकार छन्:
१. ऐतिहासिक विसंगति: चौधौँ शताब्दीको मध्य (इ.सं. १३४० देखि १३८० को दशक) काठमाडौँ उपत्यकामा जयस्थितिमल्लको उदयको समय थियो। त्यसबेला उपत्यकामा कुनै किरात राजाको शासन थिएन। किरात शासन लिच्छविकाल सुरु हुनुभन्दा अघि (इ.सं. को प्रारम्भिक शताब्दीहरूतिरै) समाप्त भइसकेको थियो।
२. जनश्रुतिको संकुचन: मौखिक परम्परामा शताब्दीयौँ पुराना घटनाहरू एकै ठाउँमा खुम्चिने गर्दछन्। पूर्वी नेपालका किरातहरूमा “हाम्रा पुर्खाले काठमाडौँ उपत्यकामा शासन गरेका थिए र पछि शासकहरूले लखेटे” भन्ने ऐतिहासिक स्मृति जीवित थियो। अर्कातर्फ, चौधौँ शताब्दीमा राजा जयस्थितिमल्लले बाहिरबाट आएका विद्रोहीहरूलाई ठेगान लगाई उपत्यकामा कडा सामाजिक तथा जातभात व्यवस्था लागु गरेका थिए। स्थानीय किराँतीहरूले आफ्ना पुर्खा सत्ताबाट विमुख भएको प्राचीन घटनालाई मल्लकालीन राजनीतिक घटनासँग मिसाएर हड्सनलाई सुनाए र हड्सनले त्यसलाई विनाछानबिन “चौधौँ शताब्दीमा मल्लहरूले किरातलाई लखेटे” भनी लिपिबद्ध गरिदिए।
गोपालराज वंशावली स्वयं जयस्थितिमल्लकै समयमा लेखिएको ग्रन्थ हो। यदि जयस्थितिमल्ल वा उनका पूर्ववर्ती मल्लहरूले चौधौँ शताब्दीमा किरातहरूलाई उपत्यकाबाट लखेटेका हुन्थे भने वंशावलीको समकालीन खण्ड (V2) मा त्यसको सविस्तार वर्णन अवश्य हुन्थ्यो। तर वंशावलीले किरात शासनको समाप्ति लिच्छविहरूको उदयसँगै भएको स्पष्ट लेखेको छ र मल्लकालमा किरात निष्कासनको कुनै उल्लेख छैन।
७. उपत्यकाका किरात जनताको रूपान्तरण: नेवार समाजमा समाहितीकरण
इतिहास, मानवशास्त्र र भाषाविज्ञानका संयुक्त प्रमाणहरूले देखाउँछन् कि किरात राजाहरूको राजनीतिक पतनपछि आम किरात समुदाय उपत्यका छोडेर कतै भागेन। उनीहरू उपत्यकामै रहेर निरन्तर कृषिकर्ममा संलग्न रहे।
लिच्छविकालमा हिन्दु वर्णाश्रम व्यवस्था विस्तारै भित्रिए पनि स्थानीय उत्पादन प्रणाली किराती मूलकै किसानहरूको हातमा थियो। मल्लकालसम्म आइपुग्दा यी प्राचीन समुदायहरू उपत्यकाको विशिष्ट सहरी तथा ग्रामीण संस्कृतिमा ढालिँदै गए।
भाषावैज्ञानिक दृष्टिले आजको नेवारी (नेपाल भाषा) तिब्बती-बर्मेली परिवारकै भाषा हो, जसमा किरात भाषाहरूको ठूलो प्रभाव छ। समाजशास्त्रीय रूपमा, काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो भूमिपुत्र कृषक वर्ग ज्यापु समुदाय तथा अन्य शिल्पकार वर्गहरू प्राचीन किरात समुदायकै प्रत्यक्ष निरन्तरता र रूपान्तरण हुन् भन्ने निष्कर्षमा इतिहासकारहरू पुगेका छन् (Malla, 1981)।
लिच्छवि कालमा उनीहरू रैतीका रूपमा रहे, मल्लकालमा जयस्थितिमल्लको व्यावसायिक तथा सामाजिक संहिताभित्र कृषक र विभिन्न पेसागत जातिका रूपमा व्यवस्थित भए। यसरी प्राचीन किरात जनता बाहिर लखेटिएका होइनन्, बरु उनीहरू उपत्यकाको नेवार समाजभित्र भाषिक, सांस्कृतिक र सामाजिक रूपमा समाहित (assimilated) भएका हुन्।
निष्कर्ष
गोपालराज वंशावली र ब्रायन हड्सनका सामग्रीहरूको सूक्ष्म अध्ययन गर्दा किरात इतिहासबारे विगतमा बनेका कतिपय सतही अवधारणाहरू खण्डित हुन्छन्:
पहिलो, गोपालराज वंशावलीको मूल पाठ “तामर्ज्जणकोशकीटटाद्भवा येः” ले किरात राजाहरूको उद्भवस्थल तामाकोशी र अरुणकोशीको तटलाई देखाएको हो। आधुनिक अनुवादहरूमा थपिएको “अहिले” र “बस्छन्” भन्ने शब्द अनुवादकहरूको व्याख्यात्मक प्रक्षेपण मात्र हो, जुन मूल ग्रन्थमा छैन।
दोस्रो, वंशावलीको “किरात राजा निर्ज्जित्य” ले स्पष्ट गरेझैँ लिच्छविहरूले किरात राज्यसत्ता र राजकुललाई मात्र पराजित गरेका थिए। किरात जनता उपत्यकाबाट विस्थापित भएका थिएनन्।
तेस्रो, लिच्छविकालका संस्कृत अभिलेखहरूमा ८० प्रतिशतभन्दा बढी स्थाननाम र सिँचाइ प्रणालीका प्राविधिक शब्दहरू (जस्तै तिलमख) गैर-संस्कृत र किराती हुनुले उपत्यकामा किरात बासिन्दाहरूको निरन्तर उपस्थितिलाई प्रामाणिक रूपमा पुष्टि गर्छ।
चौथो, हड्सनले उल्लेख गरेको “चौधौँ शताब्दीमा मल्लहरूले किरातलाई उपत्यकाबाट लखेटेको” भन्ने सन्दर्भ ऐतिहासिक तथ्य नभई जनश्रुतिमा आधारित कालभ्रम मात्र थियो। उपत्यकामा रहेका प्राचीन किरात समुदाय कालान्तरमा नेवार समाजको कृषक तथा श्रमजीवी वर्गमा घुलमिल भएर आधुनिक कालसम्म निरन्तर रहेका हुन्।
सन्दर्भ सामग्री (References)
Bendall, C. (1903). A history of Nepal (A.D. 1000-1600) chiefly from the newly discovered manuscripts. Journal of the Asiatic Society of Bengal, 72(2), 1-32.
Hodgson, B. H. (1880). Miscellaneous essays relating to Indian subjects (Vol. 1). Trübner & Co.
Malla, K. P. (1981). Linguistic archaeology of the Nepal Valley: A preliminary report. Kailash: A Journal of Himalayan Studies, 8(1-2), 5-23.
Malla, K. P. (1983). River-names of the Nepal Valley: A study in cultural annexation. Contributions to Nepalese Studies, 10(1-2), 57-68.
Vajracarya, D. (1973). Licchavikālakā abhilekha [Inscriptions of the Licchavi period]. Centre for Nepal and Asian Studies, Tribhuvan University.
Vajracarya, D., & Malla, K. P. (Eds. & Trans.). (1985). The Gopālarājavaṃśāvalī. Franz Steiner Verlag Wiesbaden GmbH.
Citation suggested:
Subba, N. R. (2026). Kirata Rule, Demographic Continuity, and the Narrative of Displacement in Ancient Nepal: A Textual Re-examination of the Gopalarajavamsavali and Hodgson’s Accounts. Figshare.
https://figshare.com/articles/preprint/Kirata_Rule_Demographic_Continuity_and_the_Narrative_of_Displacement_in_Ancient_Nepal_A_Textual_Re-examination_of_the_Gopalarajavamsavali_and_Hodgson_s_Accounts/34977313?file=71328682
