बौलाहाको बकबक

देख्दादेख्दै
यो देशमा
जब बहुदल आयो

नेता भकाभक बहुलाए
एकदिन गणतन्त्र पनि आयो
कोही आत्तिए जनता एकाएक मात्तिए
खै के
भन्नु
सबैले मलाई पागल देख्छन्
हा…हा…हा…
म बौलाहा
बाटोको छेऊमा उभिएर
एक्लै कत्ति कराउँ
कामका हैन नामका हामी बहादुर
दुस्मन छाडेर आ-आफुलाई सिद्याइरहेछौं
र ठड्याइरहेछौं सगरमाथा भन्दा अग्लो दरिद्रता
अनि खोतलिरहेछौं केचनाभन्दा होचो बेइमानी
सायद हरियो वन निथ्रेर होला
हरियो डलरतिर
भेडीगोंठझैं ओइरिए बहादुरहरु विदेशमा
यता अन्न उब्जाउने मेरो जमिन कब्जा गर्दै
रेमिटेन्स र दलालखेती खूब हौसेको छ
छिया-छिया प्लटिङ बनेको छ छाती
रातारात हाउजिङ त उम्रिएको छ
तर मेरो गुनासो के मात्र भने
छत र छहारी जतिसुकै थपिए पनि
म सधैं छानाबाहिरै छु
बेलको बोटमा
काग बसेको छु
सुकुम्बासीको पीडामा
फगत “काग” “काग” कराउँछु

गोली चल्छ जङ्गलमा
गाउँ शहरमा चल्छ
गोली दिउँसै सडकमा पनि चल्छ
तर किन लाग्दैन
यो छातीमा
हा…हा…हा…
तर याद गर
जब गोली हान्छौ
मेरो मुटुबाट निस्कने
रगतका एक एक थोपाबाट
प्रकट हुनेछन् असंख्य मेरा सन्तान
अनि सडकको कुनाकुनासम्म ती फैलनेछन्
र भोकको झोंकमा तिमीहरूको निद्रा चपाइदिनेछन्
जसरी तिमीहरूले मेरो बिपना निर्ममतापूर्वक निल्यौ
शूर्पणखाको नाकले सास फेर्‍यौ
ए मलाई घृणा गर्नेहरू !
फेरि म तिमीहरूलाई सोध्दैछु
भन कहाँ छ नेपाल ?
कहाँ छ मेरो नेपाल ?
हा…हा…हा…

 

Similar Posts

  • श्रद्धाञ्जलि !

    हिमाल हेर्दै तिमी कति खुसी हुन्थ्यौ तस्बिर टागेर भित्तामा कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी सायद सोच्दथ्यौ होला म पनि हिमालजस्तै अग्लो हुन पाउँ

  • आत्महत्या गर्न अघि

    दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र !

  • साहित्यमा साइबर

    डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई । मलाई यो साइबर युग र सरस्वती जोड्न मन लागेको छ । ती हाम्रो मनोजगत्मा बिराजमान भावनात्मक सरस्वतीले यो साइबर युगमा कस्तो स्थान ग्रहण गर्दै…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

Leave a Reply