मलाई कविता मनपर्छ

कविता सुन्नु पर्ला
समय बेकार जाला भनेर
भागी भागी हिड्ने मान्छे म होइन
म त जता जता कविता छ
उता उता सोध्दै खोज्दै
सुन्न जाने मान्छे
सायद
तपाइ मलाई चिन्नुहुन्न होला
कविता सुनेर म तीन पटक हाँस्छु
यसैले म कविता खोजी खोजी सुन्छु

पहिलो पटक
अरुले ताली पिट्दै हाँसेको देखेर
म पनि ताली पिट्छु
र वाह वाह गर्दै हाँस्छु
दोस्रोपटक बल्ल बुझेर हाँस्छु
अनि तेस्रो पटक
अघि आफूले नबुझिकनै
बुझेको अभिनय गर्दै हाँसेकोमा
एकान्तमा एक्लै हाँस्छु

ए कविज्यू !
म राम्ररी चिन्दिन तपाईलाई
त्यसैले तपाईको कविता मनपर्छ
माफ गर्नुस्
अलि बुझदिन कविता
यसैले मलाई कविता मनपर्छ
कविता मलाई मनपर्छ ।

Similar Posts

  • बिर्खेको दशैं

    यो दुनियाँमा दुःख दिनेबाहेक अरू थोक नै के छ र भोक भन या गरीबी बन्द भन या हडताल सत्ता भन या प्रतिपक्ष सबैसबै दुःखै दिने चीज मात्र त हुन् नि मेरा निम्ति मलाई खुसी बाँड्ने सेतो हिमाल छ जो मलाई उभिन सिकाउँछ कहिल्यै नरिसाई सधैं हाँस्न सिकाउँछ मलाई

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

Leave a Reply