प्रकाशक साझा प्रकाशन, संस्करण (पहिलो) एधार सय प्रति (२०६७ मा), मूल्य रु. १३५।- मुद्रक साझा प्रकाशनको छापाखाना समेत उल्लेख भएको गीत संग्रह “शहिदलाई सलाम” हेर्न पाएँ । यसमा रहेका अन्ठाउन्न वटा कृतिहरुलाई देशभक्ति र मानवतावादी गीत, बाल गीत, लोकलयमा आधारित गीत “लुङाज्यू” भाका, हास्य गीत र आधुनिक गीत खण्डहरुमा फरक फरक संख्यामा सजाइएको छ ।
संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो- नवराज सुब्बा ।
साहित्यकार नवराज सुब्बा विचारको आँधी भएर साहित्यिक संसारमा बेजोड गतिमा अघि बढ्दैछन्, आशाका केन्द्रविन्दु बनेर निराशाको परखाल भत्काइरहेछन् । जातीय अहमलाई डाँडापारी छाडेर डाँडावारि आएका छन् । उनी काव्यमा सरल छन्, सरस छन्, न कुनै विचारले डामिएका नै छन्, न कुनै आग्रहले उनलाई छोएको छ ।