|

Jokhanama Vartaman

Anthology of Poems

बगरको सुसेली

रूझिरहेछु झरीमा
डुबिरहेछु जीवन
प्रिय,
नबगाउ भो आँशु
बगिरहने ए नदी रोक
पिउन चाहन्छु म तिमीलाई
एक अञ्‍जुली
नछाड मलाई बगरमा
एक्लो एक्लो ।

पहरा थिएँ म हिजो
आज बालुवा भएको छु
नदी थिएँ म हिजो
आज म प्यासी बनेको छु
हिजो मेरो गतिलाई
छेक्न सक्दैनथे हावाले
आज म बतासले जताततै
उडाउने धुलो बनेको छु
कसैको आँखाको कसिंगर बनेको छु
बहिरहने ए वायु रोक !
म लामो स्वास फेर्न चाहन्छु
नपार अलपत्र यो बगरमा
एक्लो एक्लो ।

मर्नेको लर्को छ यो बगरमा
आत्महत्या खोज्‍नेको आँखा छ नदीको गहिराइमा
मैले ममाथि नाच्दै खुशी हुने प्रेमील जोडी पनि देखें
मलाई बटुलेर दुई छाक टार्नेको पेट पनि देखें
यदि म पनि यही नदीमैं हाम्फालेर गएँ भने
कठै के खालान् ती मजदुरले
जसले दिनभरी मलाई चालेर
बेलुकाको छाक टार्दछन्
मेरै छातीमा टेकेर
जीवनको अन्त्येष्टि गर्दछन्
मलाई उडाएर लान खोज्‍ने
ए बतास रोक !
म एकपटक भेटेर आउँछु शान्तिलाई
अब ऊ कहिल्यै नआवोस् यो बगरमा
म जस्तै एक्लै एक्लै ।

Similar Posts