आत्मासितको साक्षात्कार रहेछ कविता
डा. नवराज सुब्बा ।
जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति मात्र हुन् भनेर आफैसित तर्किएँ । तर आफूले चाहेर लेखिने र नचाहेर नलेखिने चीज होइन रहेछ कविता । जसरी नमरौं भनिन्छ मरिन्छ, अब त मरे हुन्थ्यो भन्यो बाँचिन्छ, त्यस्तै रहेछ कविता, जति दिन बाँचिन्छ लेखिन्छ । मैले मेरो धुकधुकी ठानेको छु कवितालाई । आत्मा ठानेको छु सिर्जनालाई । कसैले मलाई भेट्न खोजे, छाम्न खोजे म कवितामै भेटिन्छु, आत्माको तहमैं भेटिन्छु ।
विगत २०७२ साल वैशाखमा नेपालमा ठूलो भूकम्प आएताका कवितासङ्ग्रह आधाउधि लेखिसकेको रहेछु । २०७७ सालमा कोरोना कोभिड १९ महामारीको दोस्रो लहर चल्दा हाम्रो हालत निकै बिग्रियो । भूकम्पको चोट र महामारीको पीडा र बीचमा राजनीतिको रापले मान्छेको दोहोलो काड्दा रचनाको चापले सङ्ग्रहको आकार लियो । एक दशकको अनुभूतिलाई एउटा मालामा उन्दा उचित होला भन्ठानें ।