धरतीको बोली (नेपाली कविता) अन्तर्राष्ट्रिय मातृभाषा दिवस
डा. नवराज सुब्बा
किन आज सन्तानहरूले
जननीलाई मातृभाषामा बोलाउँदैनन्?
बिलाउँना गर्छिन र आँशु पुछ्दै आमा
*कहिले गाउँपाखामा हराउँछिन्
कहिले दार्जिलिङको चियाबारीमा अनि
कहिले सुखिमको अलैँचीघारीमा लुक्छिन्
अनि,
मेरा बाका आँखामा कुँदिएका लिपीहरू
पढ्न नसक्ने वर्तमान पिढी देखेर
बिरक्तिन्छन् बा र भाग्य खोज्दै
*कहिले मलाया, कहिले लाहौर त
कहिले बर्मामा कुद्छन्
कहिले जर्मनसित त कहिले
निर्दोस अर्जेन्टिनीलाई धपाउँछन्
यसरी मेरो भाषा र लिपी
आजकल गाउँ र शहरमा त्यत्ति देखिन्न
भेटिन्न भोटमा पनि पहिलेजस्तो
उनीहरू नयाँ पिढीसित
लाजले लुकेर बसेका छन्
पुराना किताबभित्र।
खबरदार इतिहास!
जब तिमोले बाइसी चौबिसी राज्यका माटो टेक्यौ
त्यहाँका भाषा र लिपी कच्याककुचुक पारिदियौ
जब तिमीले किरात मिलायौ र लिम्बुवान हातमा लियौ
पिठबाट छुरा घोपेर मुखबाट जिब्रा थुतेर भाषा लिपी झिकिदियौ
र अफालिदियौ तिनलाई उनीहरूकै माटामा छताछुल्ल पारेर
तिमीले झार भनेर फालेका विरुवा आज आवाज भएर उठेकाछन्
मातृभाषा र पितृलिपी भन्दै जुरुक्क जागेका छन्
भावना फक्रिदै छ नयाँ जुझारु हातमा अनि काँधमा
हेर उठेका ती,
गाउँ गाउँबाट
बस्ती बस्तीबाट
अब जुर्मुराउँदै छन्।
याद राख,
इतिहास र वर्तमा जोड्ने
वंशाणु र जीवनकथा हो
मातृभाषा र लिपी
यसलाई जातीय लौरोले नहान
नयाँ पिढीबाट खोसिन लागेको
पुर्खाका चिनोलाई हामी सबैले बचाउँनुपर्छ
नयाँ आधुनिक पिढीसँगै यसलाई अघि बढाउनुपर्छ
नदोहोर्याउ कालो इतिहास
त्यस्ता सत्ताधारी सोँच र आँखाबाट यसलाई जोगाउँनुपर्छ
मातृभाषा मेरी आमा, लिपी मेरा बा हुन्
म बाआमालाई कहिल्यै मर्न दिने छैन
किनभने,
मेरा धरती र आकास हुन् मातृभाषा र लिपी
इतिहास बिना आदिवासीको जीवन असम्भव छ।
—