जदौ ! मगर्नी मैया (नवराज सुब्बा)

कृतित्व तथा व्यक्तित्वउपर समीक्षा र समालोचना समय समयमा पत्रपत्रिकामा प्रकाशित हुने गर्छन । पाएसम्म आफूसंग सम्बन्धित ती पत्रपत्रिकाहरू संग्रहित गरेर राख्ने गरेको छु । ‘मनको मझेरी’ निबन्धसङ्ग्रहउपर विराटनगरका समालोचक तथा साहित्यकार हरि प्रसाद बरालज्यूले एउटा समीक्षा गर्नुभएको थियो । केही वर्षअघि म बिदामा झापाबाट विराटनगर फर्कदा उहाँले नै मलाई त्यो पत्रिका उपहारस्वरुप दिनुभएको पनि थियो । यसपालिको दशैं विदामा उक्त लेख खोजेर टाइप गरेर वेभसाइटमा राख्ने विचारले पत्रपत्रिकाको रासमाथि खनिएँ । धुलोमुलोले एलर्जी भयो रुघामर्गी लाग्यो तर त्यो सामग्री फेला पार्न सकिन । रुघामर्गी अलि कम भएकाले आज शनिबार बिहान फेरि बाँकी प्याकेटहरू खोल्दै थिएँ, बरु पहिले निकै खोज्दाखोज्दा नभेटेको तर अहिले भने नखोजेको एउटा सामग्री पो भेट्टाएँ- दाहाल यज्ञनिधिको ‘ढिकुरोको गीत’ भन्ने गीतको कटिङ । २०५९ सालमा म संखुवासभा जिल्लामा सेवारत रहँदाको घटनासँग गाँसिएको छ यो रचना ।

यो रचनाको बारेमा मैले मेरो ‘मनको मझेरी’ निबन्धसङ्ग्रहमा ‘जदौ दाहाल यज्ञनिधि’ शिर्षमा पनि उल्लेख गरेको थिएँ । उक्त निबन्ध एकदिन स्वयम् दाहालजीले पढेपछि ‘हैन हौ त्यो गीत त मैले पनि पो हराएँ, तपाईसँग भए पाउँ न’ भन्नुभो । मैले पनि तत्काल ‘हुन्छ नी’ भनें । तर घरमा आएर खोज्छु अहँ भेट्दिन । कता पर्‍यो होला भन्दाभन्दै केही वर्षपनि बिते मैले पनि खोज्न छाडें उहाँले पनि कुरा गर्न छाड्नुभो । एकदिन मित्र अनिल पौडेलजीसँग यस्तै साहित्यिक भित्तेक्यालेण्डरको चर्चा हुँदा मैले उनै दाहाल यज्ञनिधिको रचनाको कुरा उप्काएँ । ‘हैन हौ त्यसको सम्पादक त मै हुँ नि यार’ भन्नु भो । अब भने मलाई त्यो सामग्री घरमा मुसाले खायो कि धमिराले खायो भन्दै चिन्ताले झन सतायो, तर अब भेट्दिन होला भनेर एकप्रकारले मनमनै माया पनि मारेको थिएँ । तर अचम्म, आज नचिताएको सामग्री अर्थात् उही सामग्री पो फेला पारें त । यसबेला मलाई जुन खोजेको कुरा नभेट्दा जति खल्लो लाग्दैथ्यो, नखोजेको कुरा भेट्दा त्यो सबै विस्वाद बिर्सिदिएँ । यो सामग्री अर्थात् कटिङले दुइचार प्याराग्राफ नकोरी बस्न सुखै दिएन त्यसैले केही कुरा कोर्न बसें ।

बरिष्ठ कवि विक्रम सुब्बाले एकदिन फेसबुक अनलाइनमा एउटा सन्देश प्रवाह गर्नुभयो । ‘कुनै काव्य वा कविता पढेर लागेको अनुभव अब आदानप्रदान गरौं ।’ वहाँको यो सन्देश मलाई यत्ति सकारात्मक लाग्यो कि मैले तत्कालै ‘हुन्छ’ भनेर प्रतिक्रिया दिएँ, सम्भवत पहिलो व्यक्तिको रुपमा । दिन त दिएँ जवाफ तर अब कुन रचनाको प्रतिक्रिया के दिने हो बडो सोंचमा परें । सम्झे मेरो हातमा अहिले बरिष्ठ गीतकार प्रेमविनोदनन्दनको ‘ऐनाभित्रको आकाश’ गीतसंग्रह छ, यस्तै अर्का एकजना प्रचारप्रसारबाट टाढा रहेका प्रतिभाशाली गीतकार विश्वरमण न्यौपानेको गीतसंग्रह ‘तिमी कहिल्यै नरुनु है’ मेरो हातमा छ । यिनका बारेमा केही अनुभूति लेख्ने टुङ्गोमा म पुगेको छु । दिमागमा एकप्रकारको ढाँचा पनि तयार गरिसकेको छु । तर आज अचानक दाहाल यज्ञनिधिको यो रचनाले उछिन्यो र मलाई हतारमा केही लेख्न बाध्य तुल्यायो ।

आज म मेरो अतीत सम्झन्छु । मेरो साहित्यिक यात्रामा अध्ययन, चिन्तन, मनन, र एकप्रकारको साहित्यिक निराशा, सुस्तताले थिचिएर बसेको कालखण्डमा मेरो सुस्ताइ र सुसाइलाई एकाएक लहर र स्वरमा रुपान्तरण गर्न उर्जा दिने केही स्रष्टाहरू मध्येका एक हुन दाहाल यज्ञनिधि र उनको यो रचना पनि । जसको मर्म मेरो मुटुमा गढेर बास बसेको छ । र यसले मलाई बेलाबेला शक्ति दिन्छ यस्तै रचना गर्नलाई । यो ‘ढिकुरोका गीत’ कस्तो छ, मैले बताउनै पर्दैन, आफै बोल्छ । सायद पाठकको मन जित्छ होला भन्ने आशाका साथ आज बाँड्दैछु । यसरी हाम्रै समाजकी एउटी सीमांन्तकृत मगर्नीको मर्म बुझेर आँशु बहाउने मर्मज्ञ र्सजकको दीर्घायुको कामना पनि गर्दछु ।

२०६७।७।६ विराटनगर

Similar Posts

  • मेरो निजी अनुभूति र विचार

    गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • आफ्नै गीतमा…

    नवराज सुब्बा एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा…

  • समयको स्वाद

    ‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

Leave a Reply