मोरङ जिल्ला पूर्वी तराइमा रहेको एक ऐतिहासिक जिल्ला हो । यस जिल्लामा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्छन् । सदरमुकाम विराटनगरमा मात्र २ लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । यो जिल्लामा ६५ गाविस र एक उपमहानगरपालिका छन् । ग्रामीणस्तरमा ३७ उपस्वास्थ्य चौकी, २२ स्वास्थ्यचौकी र ७ प्राथमिक स्वास्थ्यकेन्द्र रहेका छन् । यिनीहरूले ग्रामीण जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिरहेका छन् । यसैगरि सरकारी स्तरमा कोशी अंचल अस्पताल र रंगेली अस्पतालहरूले पनि सेवा प्रदान गरिरहेका छन् । हाल कोशी अंचल अस्पतालमा एच आइ भी संक्रमितहरूलाई पनि सेवा प्रदान गरिन्छ । नीजिक्षेत्रबाट विराटनगरमा संचालित शिक्षण अस्पताल, नर्सिङ होमहरूले पनि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । गैरसरकारी क्षेत्रमा नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीहरूलाई र एन.एल.आर. संस्थाले कुष्ठरोगीहरूलाई सेवा प्रदान गरिरहेका छन् ।

जिल्लाभरका स्वास्थ्यसंस्थाहरूबाट जिल्ला जनस्वास्थ्य कार्यालयमा नियमित रूपमा मासिक प्रगति प्रतिवेदन प्राप्त हुन्छ । अर्थात् जिल्लाभित्र समुदायका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा देखि लिएर उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र लगायत अंचल अस्पताल तथा नीजि अस्पतालबाट प्रदान गरिने स्वास्थोपचारहरूको तथ्यांक राखिने प्रणाली रहेको छ । यसैले अब हामी जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको स्वास्थ्य ब्यवस्थापन प्रणालीको आर्थिक वर्ष २०६७÷६८ को लक्ष्य प्रगति तथा तथ्यांकबारे संक्षिप्त चर्चा गरौं ।

गत आर्थिक वर्ष अर्थात आव २०६७÷६८ मा २५,८९३ जना एक वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाउनु पर्ने लक्ष्य रहेकोमा जम्मा ९३ प्रतिशतलाई बिसिजी खोप, ८६ प्रतिशतलाई डिपीटि ३ खोप र ७८ प्रतिशतलाई दादुराको खोप लगाइयो । यसैगरि ८२ प्रतिशत गर्भवति महिलाहरूले टिटि–२ खोप लगाएका थिए । यसैगरि ७९ प्रतिशत महिलाले पहिलोपटक गर्भवती परीक्षण गराए र ३९ प्रतिशतले चारपटक स्वास्थ्य परीक्षण पूरा गरे । जिल्लामा ५० प्रतिशत प्रसूती स्वास्थ्यकर्मीबाट गरिएको छ । यस जिल्लामा परिवार नियोजन साधन प्रयोग दर ६४ प्रतिशत रहेको छ । माथिका सूचकाङ्कहरू नेपालको सरदर स्तर भन्दा राम्रो अवस्थामा रहेको छ ।
क्षयरोगतर्फ नयाँ क्षयरोगी पत्ता लगाउने दर ६० प्रतिशत छ । यसमा टिबी एक्सेस कार्यक्रमको सहयोगमा विदेशबाट स्वदेश छिर्ने नाकामा बसेर आवतजावत गर्नेहरू मध्ये शंकास्पदमा क्षयरोगको सक्रिय खोजपडताल गर्ने गरिएको छ । कुष्ठरोगतर्फ प्रति १० हजार जनसंख्यामा प्रिभलेन्स दर १.६९ रहेको छ । औलोरोगतर्फ यस सन् २०१० मा १०७ जना विरामी पत्ता लगाई निःशुल्क उपचार गरियो । कालाज्वर रोगका १०७ जना विरामीहरूलाई पनि निःशुल्क उपचार गरेर निको पारिएको तथ्यांकले देखाउँछ । तर मोरङ जिल्लामा विगत वर्षहरूमा घट्दै गएको कालाज्वर रोगले भने यो वर्ष शीर उठाएको छ र यस रोगको विरामी संख्या यो वर्ष विगत वर्षभन्दा केही बढेको छ । यो रोग खासगरि फुस्को घरमा बस्ने विपन्नहरूलाई लाग्ने भएकाले उपचार गर्न राहत मिलोस् भनेर नेपाल सरकारले औषधी पूरा गरेपछि रू. १००० दिने ब्यवस्था गरेको छ । यसरी विरामीलाई आर्थिक राहत दिने काम समेत जिल्ला जनस्वास्थ्य कार्यालयबाट भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपचारको लागि कूल जनसंख्याको ५३ प्रतिशत स्वास्थ्य संस्थामा आएर सेवा लिएका छन् । ती मध्ये ५५ प्रतिशत महिला रहेका छन् । जिल्लाबाट क्यान्सररोगी, मृगौलारोगीहरूलाई केन्द्रीयस्तरको अस्पतालमा उपचारमा छूटको लागि ५० जनाभन्दा बढीलाई सिफारिस गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०६७÷६८ मा बिभिन्न कार्यक्रमहरूमा जम्मा रू. १३ करोड ७९ लाख ७४ हजार १६० खर्च गरेको छ ।
मोरङ तराई जिल्ला भनिएता पनि ८ वटा गाविस पहाडी क्षेत्रका छन् । दक्षिण सीमावर्ति गाविसहरूमा कतिपय समुदायहरूको सामाजिक–आर्थिकस्तर न्यून भएकाले स्वास्थ्य सेवा पहुँचमा समस्या र चुनौति छन् । जिल्लामा गत आर्थिक वर्षमा महामारीतर्फ १ जनाको इन्सेफलाइटिसबाट मृत्यु भएको छ । यसैगरि १५ जनाको मातृमृत्यु र १३१ जना नवजातशिशुको मृत्यु भएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सूचना प्रणालीमा संग्रहित छ ।
जनतालाई प्राथमिक स्वास्थ्यसेवाको समता र पहुँचको लागि पनि जिल्ला जनस्वास्थ्य कार्यालयले आँटेको होस्टेमा सबैको हैंसे मिलेको छ । किनभने जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने र गराउने महान अभियान जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको एक्लो प्रयासले मात्र सफल हुँदैन । अन्य सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसंग गरिएका सहकार्य र समन्वयले नै मोरङ जिल्ला आज यो अवस्थामा आइपुगेको हो । यसमा महिला स्वास्थ्य स्वयसेविका, स्थानीय गाविस, नगरपालिकाहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा राखिन्छ ।

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)
मुक्तक

Discussion

  • Commenter's Avatar
    Binod Khanal — 2012-09-09 at 4:05 am

    Sir, thank you for providing all health related information of Morang District. The article ought to be a helpful material for Public Health students like us.

Leave a Comment