DiaryPost2 मंगलग्रहमा उत्रेको दिन

मानव सपना मंगलग्रहमा उत्रेको दिन
डायरी २ डा. नवराज सुब्बा

Photograph: Reuters

मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् । अब यान मार्फत पुगेको रोबोटले त्यहाँको जमीन र जमीनभित्र ५ मीटरसम्मको अध्ययन गर्नेछ । मंगलग्रहमा जीवन रहे–नरहेको र भविष्यमा त्यहाँ मानववस्ती बसाउन सकिने–नसकिने सम्बन्धमा पनि अध्ययनले आधारभूमि निर्माण गर्नेछ । यो अध्ययनले पृथ्वीको उत्पत्तिको बारेमा नवीन तथ्य उजागर गर्ने संभावना छ । यो अभियानले मानवजातिको अस्तित्व र भविष्यको बारेमा नयाँ आयाम थप्नेछ । यस अवसरमा अमेरिकी सरकार, नासा र यसमा संलग्न वैज्ञानिकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
अमेरिकाको क्यालिफोर्नियामा हालै भीषण आगलागी भयो । जहाँ धेरै जनधनको क्षति भयो । यस प्राकृतिक विपदलाई जलवायु परिवर्तनसित गाँसेर पनि हेरिएको छ । यही जलवायु परिवर्तनको विषयमा हालै अमेरिकी सरकार र ३०० भन्दा बढी बैज्ञानिकहरुले तयार पारेका १६ सय पृष्ठको प्रतिवेदनलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका छन् । जलवायुसम्बन्धी बर्तमान अमेरिकी सरकारी नीतिको फलस्वरुप निकट भविष्यमा अमेरिका लगायत विश्वले ठूलो भौतिक र आर्थिक क्षति व्यहोर्नु पर्ने लगायतका सुझाव उक्त प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको हवाला दिएर सुझावलाई ठाडै अस्वीकार गरिदिएका छन् । यो विश्वका वातावरणप्रेमी जनताको लागि दुःखद समाचार हो । व्यापारिक पृष्ठभूमिका राष्ट्रपति ट्रम्पको वातावरणसम्बन्धी नीति र दृष्टिकोण केवल आर्थिक दृष्टिमा केन्द्रीत भएको र ‘पहिलो अमेरिका’ भन्ने नारा उराल्ने ट्रम्प नवराष्ट्रवादबाट पनि उद्वेलित छन् । यसरी उनको व्यापारिक पृष्ठभूमिले उनको वर्तमान पदको गरिमालाई धुमिल पारेको प्रतीत हुन्छ । एउटा सफल व्यापारीले आफूलाई नै स्वार्थकेन्द्रीत गर्ने भएकाले उसबाट जीवन र जगतप्रति रहनुपर्ने जुन दायित्वबोधको अपेक्षा हालका बेकार भएको प्रतीत भएता पनि निरन्तर आग्रह बाहेक अर्को बिकल्प पनि छैन ।

Diary Post1

डायरीलेखनको चार दशकपछि
डा. नवराज सुब्बा

दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो । डायरी लेख्ने बानीको महत्व मलाई बुझाउने क्रममा उहाँले डायरी भविश्यमा उपयोगी सामग्री हुने र यो लेख्ने राम्रो बानी भनेर बुझाउनु भएको थियो । उहाँले डायरी लेख्ने गरेको देखेपछि मैले पनि त्यसैबेलादेखि डायरीलेखन अनुकरण गरेको थिएँ ।
माद्यमिक विद्यालय पढ्दा सुरु गरेको यो बानीलाई मैले कलेज जीवन र जागिरे जीवनमा निरन्तरता दिएँ । तर जागिरको उत्तरार्धतिर भने डायरी लेखनले नियमितता पाउन सकेन । डायरी राख्ने ठाउँ पनि साँगुरो हुँदै गयो । पुराना डायरीको बिजोग देखेपछि मैले दैनिकीलाई टिपोटको रुपमा कम्प्यूटरमा लेख्न थालें । पहिले अलि बाक्लो दैनिकी लेखन हुन्थ्यो तर पछि महत्वपूर्ण घटना घटेका दिनमा मात्र डायरी लेख्न थालें । मलाई डायरी नलेखेको दिन केही काम अधुरो रहे जस्तो असजिलो लाग्ने गर्दथ्यो ।
हुन त लेखिसकेका कुरा पछि पल्टाएर त्यति नहेरिने रहेछ । उही आफ्नो सन्तोषको लागि टिपोट गरिएछ भन्ने लाग्न थाल्यो तर त्यसबेला त्यो गर्दा मनमा एकप्रकारको ढुक्क चाहिँ हुँदो रहेछ । यसबाट मलाई फायदा भनेको मानसिक सन्तुष्टि भयो । मैले डायरी हेरेर योजना बनाएको वा संस्मरण लेखेको पनि छैन । तर यत्ति हो यदि कुनै तिथिमिति वा नाम लेखनमा संशय भयो भने त्यो एकीन गर्नलाई डायरी एउटा भरपर्दो सन्दर्भ–सामग्री हुन्छ भन्नेमा भने मलाई विश्वास थियो र छ पनि । हस्तलिखित डायरी हेर्दा त्यस्तो कालमा लेखेको थिएँ भन्ने अतीत भावना उत्पन्न हुने  र कहिलेकाहीँ भावुक पनि बनाउँदो रहेछ । त्यही कुरा कम्प्यूटरमा लेखिएका कुरा हेर्दा त्यो आकर्षण नहुने रहेछ ।

नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

Personality of Nawa Raj Subba by ChudaMani Baraili

४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन
लेखक : चूडामणि बराईली
विधा : अनुसन्धान
प्रकाशन : २०६७
शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,
२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक
३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक
४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी
क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download

निष्कर्ष र उपसंहार

ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नं. ६ चुँवा गाउँमा २०१८ साल असोज १६ गते सोमबारका दिन जन्मेका नवराज सुब्बा बुबा ऐतराज र आमा नरमायाका जेठा सुपुत्र हुन् । उनको प्रारम्भिक र माध्यमिक शिक्षा हाङपाङकै सरस्वती मा.वि.बाट भयो । त्यहींबाट २०३३ सालमा एस.एल.सी.परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं गई चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी २०३७ सालमा आफ्नै गाउँ हाङपाङमा हेल्थपोष्टको इन्चार्ज भई खटिएर आए । त्यहाँ रहँदा उनले कार्यालय समयपछि आफू पढेको विद्यालयमा पढाउने काम पनि गरे । जागिरसँगै शिक्षाको क्रम पनि अघि बढाउँदै उनले नेपाली साहित्य तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे ।