मैवाखोलाले बगाएको दासीको प्रेमकथा

डा. नवराज सुब्बा

परिचयः यो सत्य घटनामा आधारित एक कथा हो । यसलाई नेपालको सामाजिक इतिहास भने पनि हुन्छ । नेपालको सुदूर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको चाँगे मैवादोभानमा करिव एक शय वर्षअघि यो घटना भएको थियो । तम्बरखोला र मैवाखोलाको दोभान याङमानेमा बसोवास गर्ने एक नेवार परिवारमा घटेको घटना हो यो ।

संस्मरणात्मक लेखको रुपमा घटनालाई प्रस्तुत गर्दैछु । परिघटनाको विश्वसनीयता र आधिकारिकता कायम रहोस् भनी यसका पात्रहरुको परिचय, सन्दर्भ, परिवेश जानकारी दिएको छु। यो लेख सामाजिक अध्ययनार्थ कुनै शिर्षकबाट साभार गरिएको रचना होइन । यद्यपि सामाजिक अध्ययनका विद्यार्थी, अनुसन्धातालाई सघाउने विषयवस्तु हो ।

पृष्ठभूमिः कुनै साहित्यकारका लागि यो घटनाक्रम एउटा प्रेमकथा बनाउन सकिने राम्रो प्लट नै हो । यसमा काल्पनिकता मिसाएर, बिम्व थपेर, अलङ्कारले एक सुन्दर प्रेमकथा बनाउन सकिन्छ । तर मभित्रको अनुसन्धान चेतनाले मलाई त्यसो गर्न दिएन । स्थानीय भूगोल, प्रकृतिक अवस्था, समुदायको अस्तित्व जीवन्त बनाइराख्न घटनाक्रमलाई जस्ताको तस्तै राख्न उचित सम्झें । हुन त यसमा मैले मुख्य पात्रको बिम्व कल्पना गार्दागर्दै केही मात्रामा भावना मिसिन गएको छ । यसमा सचेत हुँदाहुँदै पनि मैले घटनालाई प्रभावकारी बनाउन पाठकलाई साहित्यिक स्वाद पस्केको छु।

कथाका मुख्य पात्रसित यो लेखकको भेट भएको होइन अर्थात् आफैले देखेको पनि होइन । उनको परिवारसित सम्बन्धित व्यक्तिसित मात्र यो कलमको साक्षात्कार भएको हो । पारिवारिक सन्दर्भमा कुरा चल्दा घटना चाल पाएको हो । यो कुरा मनका कुनामा गाँठो परेर बसेको रहेछ । त्यो घटनासंग जोडिएका परिवार जीवितै छन् । घटना घटेको स्थल पनि उस्तै छ तर कथा हराएको छ ।

भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको मानवशास्त्रीय दृष्टिकोण

डा. नवराज सुब्बा ।

पृष्ठभूमि
नेपाली बाङ्मयमा भाषा अध्येताका लहरमा छुटाउनै नमिल्ने नाम हो भाषाशास्त्री बालकृण्ण पोखरेल । एकथरी भाषाविद् नेपाली भाषालाई पहाडी हिन्दी मानेर भारोपेली परिवारभित्रको एक भाषाको रुपमा चिन्दछन् । अर्काथरी भाषाविद् नेपाली भाषालाई संस्कृत र हिन्दीको एक भाषिकाको रुपमा समेत देख्दछन् । वि.स. २०१३ सालमा संखुवासभाबाट ‘नौलो पाइलो’ पत्रिकाबाट बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, तारानाथ शर्मा र चुडामणि रेग्मीले संयुक्त रुपमा नेपाली झर्रोवादी भाषिक अभियान आरम्भ गर्नुभयो (न्यौपाने, २०७५)। वि.स. २०६३ सालमा आन्दोलनको स्वर्णजयन्ति विशेषाङ्क प्रकाशित भइसकेको छ । उहाँहरुले नेपाली भाषालाई संस्कृतबाट प्रभावित तर भिन्न प्रजातीय मौलिक खस भाषालाई नेपालको राष्ट्रभाषा दावी गर्नुभएको छ । नेपाली भाषामा नेपाली माटोको सुवास आउने झर्रा लवज मिलाएर नेपाली भाषामा मौलिकता थप्ने काममा भाषाशास्त्री पोखरेलको समेत बलियो हात छ ।