डा. नवराज सुब्बा
वंशावली भनेको विभिन्न क्षेत्रमा रहेका परिवारका सदस्यहरूका नामावलीको संग्रह वा पुस्ताक्रमको पुलिन्दा मात्र होइन। वंशावली एक मानवशास्त्रीय औजार भएकाले यो जातीय इतिहास तथा ज्ञानको भरपर्दो स्रोत पनि हो। यसले कतिपय अहम् सवालहरूलाई चिरेर तथ्यपरक ढंगले ब्याख्या र पुनःब्याख्या (डिकोड) गरिदिने काम पर्दछ। वंशावलीले परिवारका सदस्यबीच जोड्ने काम मात्र गर्दैन यसले देभभित्र र बाहिर बसेका कुनै पनि जातीय इतिहास र पहिचानलाई देशको इतिहाससित जोड्ने काम पनि गर्दछ। त्यसैले वंशावलीमा देशको इतिहास र पहिचान पाइन्छ। यस्ता ज्ञानद्वारा नै इतिहास निर्माण भएर देश बन्दछन्।
प्रस्तुत वंशावलीको परिकल्पना र पुस्तकाकार कृतिको सिर्जना कहिले कसरी भयो? यसमा क-कसले के के योगदान गरे? के कति श्रम, समय, साधनको उपयोग यसमा भयो? अर्थात् फयङ साँबा वंशावली २०८१ लेखन तथा प्रकाशन कसरी भयो भन्ने मोटामोटी जानकारी यहाँ दिँदैछु। वंशावलीलाई अद्यावधिक गर्ने काम कसरी भइराखेको छ त्यो पनि बताइने छ। वंशावली लेखन तथा प्रकाशन कार्यमा लेखकले भोगेका केही तीतामीठा अनुभव पनि राख्दैछु।
फयङ साँबा वंशावली २०८१ कुन संस्करण हो?
औँला भाँचेर भन्नुपर्दा फयङ साँबा वंशावलीसम्बन्धी यो चौथो प्रकाशन हो। २०५६ सालमा पहिलो वंशावलीको रूपरेखा ‘फयङ साँबा वंशावली २०५६’ प्रकाशित भएको थियो। त्यसैका आधारमा अध्ययन पश्चात २०७७ सालमा वृहद वंशावली ‘किरात लिम्बू संस्कृति-मानवशास्त्रीय विवेचना’ मा प्रकाशित भयो। सोही अध्ययनका आधारमा वंशावली केन्द्रित ‘फयङ साँबा वंशावली २०८०’ ई-बुक संस्करणमा प्रकाशित भइसकेको छ। उक्त वंशावलीलाई अध्यावधिक गरेर यो वंशावली छापाखानामा छापिएर पुस्तकका रूपमा आएको छ। त्यसकारण यो वंशावली स्वरूपका हिसाबले चौथो संस्करण हो।
फयङ साँबा वंशावली २०८१ किन?
२०८१ साल जेठ २६ मा धरानमा फयङ साँबा समाजले ‘किरात लिम्बू संस्कृतिः मानवशास्त्रीय विवेचना’ ग्रन्थलाई स्वागत गर्यो। अब वंशावली केन्द्रित ‘फयङ साँबा वंशावली’ प्रकाशित गर्ने भेलाले निर्णय भयो। बैठकमा फयङ साँबा वंशावलीलाई किरात लिम्बूका सगोत्रीय वंशावलीसित तुलनीय बनाउने माग उठ्यो। लेखकले वंशावलीसम्बन्धी धारणा राखेपछि बैठक एक निष्कर्षमा पुग्यो। सेन वंशबाट उद्विकसित साँबा तथा अन्य थरका किरात लिम्बू वंशावलीसित फयङ साँबाको वंशावलीलाई तुलनीय बनाउने सुझाव बैठकमा प्राप्त भयो। अतः फयङ साँबा परिवारको सेन वंशदेखि हालसम्मको वंशावली तयार गर्ने जनचाहना ब्यक्त भयो। साथै, वंशावलीको लेखनकार्य र पुस्तक छपाइको जिम्मेवारी डा. नवराज सुब्बालाई बैठकमा दिइयो।
सोही पृष्ठभूमिमा यो फयङ साँबा वंशावली तयार भएको छ। यद्यपि, यो कार्य लेखकको एक्लो प्रयासले मात्र संभव भएको होइन। स्मरण रहोस्, यो वंशावली तयार गर्नमा चार पुस्ताको योगदान रहेको छ। करिव सात दशकसम्मको लामो कालखण्डले फयङ साँबा वंशावली परीक्षण गरिसकेको छ। यति लामो अवधिमा अर्जित ज्ञान हामी सबैको साझा सम्पत्ति हो। यसलाई संरक्षण र संबर्द्धन गर्नु हामी सबैको दायित्व पनि हो।
मेवाखोलामा किपटले खोतल्यो फयङ साँबा वंशावली
वंशावलीअनुसार किरात-सेन-राई-लिम्बू वंशावलीअनुसार फयङ साँबाका एक हाँगा वि.स. १८०० तिर मेवाखोलाबाट छुट्टिए। उनीहरू आठराई हाङपाङ चुँवाखोलामा खुर्पेठ्याक गरी बसे। (Phyang TB, 2019) उक्त हाँगाका परिवारको वंशावली लेखनको श्रीगणेश आठराई हाङपाङ निवासी ऐतराज फयङ (लेखकका पिता पुस्ताक्रम २९) र सेरबहादुर फयङ (चारक्याम्बा/ पुस्ताक्रम २८) बाट संयोगवस भएको थियो। उनीहरू आफ्ना जिजुबाजेले चर्चेको जग्गाको किपट अधिकार खोजी गरी लिन चाहन्थे। सोही क्रममा उनीहरूले वि.स. २०१६ सालमा मेवाखोला ताप्लेजुङ गएर फयङ साँबा दाजुभाइलाई भेटे। (Phyang AR, 2056)
मेवाखोलामा त्यहाँका दाजुभाइसित बसेर उनीहरूले छलफल गरे। सम्बन्धित पञ्चभलाद्मी अग्रजजन बसेर पुराना कागजपत्र र वंशावलीको गहन अध्ययन गरियो। सोही क्रममा हाङपाङबाट मेवाखोलामा प्रतिनिधिका रूपमा गएका ऐतराज र सेरबहादुरले तुम्याङ त्या (पुस्ताक्रम २२) बाट चनुवा (पुस्ताक्रम २३), चनुवाबाट पंचकन्दा (पुस्ताक्रम २४) उद्विकास भएको तथ्य पत्ता लाग्यो। पुराना लिखत समेतका आधारमा उनीहरूले त्यसबेला फयङ साँबाका दुई सन्तान तुम्याङ त्या र तुम्याङ हिरी भएको पत्ता लगाए। जसलाई वंशावलीभित्र पुस्ताक्रम २२ मा मिलान गरिएको छ। तुम्याङ त्या तर्फका चनुवा (पुस्ताक्रम २३) का नाति, पन्चकन्दा (पुस्ताक्रम २४) का छोरा धनकर्ण (पुस्ताक्रम २५) र चासमुखी (पुस्ताक्रम २५) एवं तुम्याङ हिरी तर्फका सन्तान युबन्दा (पुस्ताक्रम २३) का नाति शाहीवाल (पुस्ताक्रम २४) का कान्छा छोरा इरूहाङ (पुस्ताक्रम २५) मेवाखोलाबाट आठराई हाङपाङमा छुट्टिएर गएको तथ्य प्रमाणबाट देखियो। (Phyang AR, 2056)
उनीरूले २०१६ सालमा ल्याएका वंशावली हाङपाङ आउने फयङ साँबा हाँगाको मात्र थियो। मेवाखोलामा बस्ने दाजुभाइको वंशावली त्यसबेला उनीहरूले टिपेर ल्याएनन्। किनभने उनीहरूले तिनै मेवाखोला दाजुभाइबाट हाङपाङ छुट्टिएका हाँगाका दाजुभाइले पाउने किपट अधिकार लिनु थियो। अर्थात् किपट विभाजन पछि मेवाखोलाका दाजुभाइको वंशावली हाङपाङलाई आवश्यक थिएन। त्यसकारण ऐतराज र सेरबहादुरले किपट प्रयोजनका निमित्त मेवाखोलाबाट हाङपाङ छुट्टिएकाहरूको वंशावली मात्र टिपेर ल्याएका हुन्। जेहोस्, त्यही अभिलेखलाई आधार मानेर थपिएका पुस्ताक्रम अद्यावधिक गरी फयङ साँबा वंशावली २०५६ प्रकाशित गरिएको हो। (Phyang AR, 2056)
फयङ साँबा वंशावली २०५६ को आधिकारिकता
माथि उल्लिखित घटनाक्रमबाट के थाहा हुन्छ भने २०१६ सालमा आठराई हाङपाङबाट दुई प्रतिनिधि मेवाखोला गएर सम्पन्न गरेको अध्ययन तथा छलफलमा मेवाखोलाबाट अघि हाङपाङ छुट्टिएका हाँगाका दाजुभाइहरूको वंशावली र उनीहरूको पुर्ख्यौली जग्गाको किपट एकीन गरिएको थियो। सोही बमोजिम हाङपाङका फयङ साँबाले मेवाखोलामा रहेको पैत्रिक जग्गाको राजश्व बुझ्ने अधिकार मेवाखोलाका दाजुभाइबाट आफ्नो हातमा लिए। यसरी हाङपाङ छुट्टिएर आएका फयङ साँबाले मेवाखोलाको तिरो हाङपाङमै बुझ्न थाले। २०५० सालको दशकमा ताप्लेजुङ जिल्लामा जग्गा नापी कार्य सम्पन्न भयो। मेवाखोलामा नापी सम्पन्न भएपछि हाङपाङमा तिरो बुझ्ने बुझाउने क्रम टुट्यो। जेहोस्, २०१० सालको दशकदेखि २०५० सालको दशकसम्म हाङपाङ र मेवाखोलाबीच तिरो बुझ्नेबुझाउने कार्य सम्पन्न भएको थियो।
किपटको तिरोसम्बन्धी आर्थिक कार्य सम्पन्न गर्दै जाँदा वंशावलीसम्बन्धी ज्ञान पनि आवश्यक पर्दथ्यो। तसर्थ वंशालीसम्बन्धी थप ज्ञान र अभिलेखलाई २०१६ सालपछि पनि सुदृढ तुल्याइयो। तुम्याङ त्या, चनुवा तर्फका दरसन्तान धर्मध्वज (मुदेन पुस्ताक्रम २६) तिब्बतबाट तम्बरखोला, मेवाखोला, आठराईसम्म नुन ब्यापार गर्ने गर्दथे। त्यस क्रममा ओलाङचुङ गोलादेखि मैवा दोभानमा चौरी, खच्चडद्वारा नुन ढुवानी गर्दा पैदलमार्गमा बिसौनीका रूपमा उनले बनाएका पाटीपौवाहरू थिए। ओलाङचुङ गोलामा तत्कालीन श्री ५ को सरकारले भन्सार र प्रहरी पोष्ट राख्ने भएपछि प्रयोगविहीन रहेका उक्त पाटीपौवाहरूको धनी खोज्न थालियो। उक्त पाटीपौवाको धनी खोज्दै नेपाल सरकारका प्रतिनिधि आठराई हाङपाङ पुगेर ऐतराज फयङलाई भेटे। त्यसपछि उक्त पाटीपौवा र जग्गाको स्वामित्व ऐतराज फयङले नेपाल सरकारका प्रतिनिधिलाई लिखित रूपमा हस्तान्तरण गरिदिए। (Phyang AR, 2056) उल्लिखित घटनाक्रमले मेवाखोलाबाट हाङपाङ छुटेका फयङहरूको तत्कालीन मेवाखोला र उत्तरक्षेत्रमा रहेको भूस्वामित्व र आधिकारिकतालाई पुष्टि गर्दछ।
मेवाखोलामा वि.स. २०१६ मा टिपिएको वंशावली आधार
२०१६ सालमा हाङपाङबाट मेवाखोला गएर त्यहाँ दाजुभाइ सबै बसेर दाजुभाइको भूसम्पत्ति अंशवण्डा गर्दा पूर्वजको वंशावली एकीन गरेर मात्र सहमतिमा पुगेको हुनुपर्दछ। कसैले भोगचलन गर्दै गरेको जग्गाको हक अरू दाजुभाइलाई सजिलै हस्तान्तरण गर्न जोकोही मञ्जुर हुँदैनन्। २०१६ सालमा ऐतराज र सेरबहादुरको ऐतिहासिक मेवाखोला यात्राक्रममा वंशावलीका मद्दतले किपटको बाँडफाँड गरियो। त्यसबेला टिपिएको वंशावली नै मेवाखोलाको किपट बाँडफाँडको प्रमुख आधार थियो।
तसर्थ, फयङ साँबा वंशावली २०५६ विश्वसनीय छ। यो आधिकारिक र सर्वस्वीकार्य पनि छ। अनुसूचीमा दिइएको फयङ साँबा वंशावली २०५६ मा सरन्दा र यरन्दा मेवाखोलावासी भएकाले उनीहरू हाङपाङ वंशावलीभित्र नपरेका हुन्। (अध्याय ५.३.२ र अनुसूची २)
फयङ साँबा वंशावली लेखनमा निरन्तरता
२०४७ सालमा नेपालमा बहुदल आएपछि बोल्न लेख्न खुकुलो भयो। आफ्ना मनमा गुम्सेका जातीय कुरा बोल्न वा लेख्न जनताले आरम्भ गरे। सो क्रममा किरात लिम्बू जातिमा वंशावली निकाल्ने लहर चल्यो। आफ्नो इतिहासको जगेर्ना गर्नुपर्छ भन्ने चेतनाले मूर्तरूप लियो। मेवाखोलामा फयङ साँबा थर चलेर हाङपाङ छुट्टिएका फयङ साँबा हाँगाका परिवारले पनि आफ्नो वंशावली अद्यावधिक गर्ने कार्य गरे। आफ्नो किपट अधिकार प्राप्त गर्न हाङपाङबाट मेवाखोला जाँदा तयार भएको अभिलेख नै फयङ साँबा वंशावली तयार पार्ने पहिलो आधार बन्यो। जसको पहल ऐतराज फयङले गरेका थिए। उनले तयार पारेको वंशावली खाकालाई नवराज सुब्बाले सम्पादन गरी २०५६ सालमा ‘फयङ साँबा वंशावली २०५६’ प्रकाशित गरिएको थियो। प्रकाशित वंशावली सबै क्षेत्रका फयङ साँबालाई वितरण गरियो। निकै लामो अवधि ब्यतित भएर हालसम्म उक्त वंशावलीउपर अध्ययन, चिन्तन र मनन भयो। यसरी मेवाखोलाबाट हाङपाङ छुटेका फयङ साँबा हाँगाको वंशावली २०५६ स्थापित भयो।
फयङ साँबा वंशावलीको विस्तारित रूप २०७७ सालमा
करिव दुई दशक बितेपछि २०७५ साल वैशाखमा सुनसरी धरानमा मेवाखोलाबाट हाङपाङ छुट्टिएका हाँगाका फयङ साँबाका पहलमा समग्र फयङ साँबा समाजको वैठक बस्यो। उक्त बैठकले २०५६ सालमा प्रकाशित पहिलो वंशावलीलाई विस्तार र अद्यावधिक गरी पुस्तकका रूपमा वंशावली प्रकाशित गर्ने निर्णय गर्यो। देश विदेशमा छरिएका सम्पूर्ण फयङ साँबा दाजुभाइको नाम ठेगाना, पुस्ताक्रम तथा सांस्कृतिक सूचना संकलन गर्ने निर्णय गरियो। बैठकले वंशावली लेख्ने कामको जिम्मा डा. नवराज सुब्बालाई दियो। यस काममा सहयोगका लागि एक समिति गठन भयो। नामावली, सूचना संकलन तथा सहजीकरणका लागि उक्त समितिमा धीरेन्द्रराज फयङ, टेकबहादुर फयङ र चन्द्र प्रसाद फयङ रहेका थिए।
हाल धरान निवासी धीरेन्द्रराज फयङले फयङ साँबा वंशावली २०५६ लाई आधार मानेर वंशावली अद्यावधिक गर्ने क्रममा नामावली संकलन कार्यमा महत्वपूर्ण योगदान गरेका छन्। उनले नेपालका विभिन्न जिल्ला, भारतमा समेत भ्रमण गरेर अद्यावधिक सूचना संकलन गरी लेखकलाई उपलब्ध गराए। बेलायत हाँगाको सूचना टेकबहादुर फयङ, मानबहादुर फयङ, लालबहादुर फयङ लगायतले धरानबाटै तथ्यांक उपलब्ध गराए। भुटानका दाजुभाइको सूचना भुटान निवासी प्रेम साँबासित लेखक स्वयमले सम्पर्क गरी तथ्यांक प्राप्त गरेका थिए। यही क्रममा मेवाखोला, संखुवासभा, पाँचथर तथा सिक्किमबाट पनि सम्बन्धित प्रतिनिधिमार्फत सूचना संकलन गरियो।
अध्ययन क्रममा प्राप्त सूचना संकलन गरेपछि डाटा भेरिफिकेसन, स्क्रिनिङ, अपडेट, तालिकीकरण र विश्लेषण कार्य सम्पन्न गरियो। वैज्ञानिक विधिबाट कम्प्युटरको मद्दतले सूचना विश्लेषणपछि संश्लेषण गर्ने कार्य सम्पन्न भयो। यो वंशावली लेखन कार्य अनुसन्धान विधि अनुरूप गरिएको छ। मानवशास्त्रीय दृष्टिकोणबाट फयङ साँबा परिवारको विश्लेषण यहाँ गरिएको छ। साँबा विशेषको जातीय परम्परागत ज्ञान तुङदुङ्गे मुन्धुमको पनि सोही क्रममा अध्ययन भएको छ।
तुङदुङ्गे मुन्धुम
फयङ साँबा वंशावलीलाई सेन वंशसित जोड्न आँखा देखाउने तुङदुङ्गे मुन्धुम हो। उक्त मुन्धुमको मूलस्थल कोशीबराह क्षेत्रको स्थलगत अध्ययन समेत गरियो। त्यहाँ रहेका सेन वंशका दरवार भग्नावशेषको अवलोकन भ्रमण गरियो। तुङदुङ्गे देव दाजुभाइ खोज्दै मेवाखोला पुगेको स्थलको पनि सूचना संकलन गरियो। यसरी वंशावली लेखन कार्यलाई विधिसम्मत, वस्तुपरक र वैज्ञानिक बनाउने कार्यमा अवलोकन भ्रमण समेत भएका छन्।
प्राप्त सूचनालाई मानवशास्त्र तथा इतिहासमा तथ्यहरूसित तुलना र विश्लेषण गर्ने काम सम्पन्न गरियो। यस क्रममा विद्वान लेखकहरूद्वारा लिखित पुस्तक, लेखमा प्रकाशित ज्ञान र अनुभवलाई आधार मान्दै वंशावली लेखनलाई समय सान्दर्भिक, परिस्कृत र सगोत्रीका वंशावलीसंग तुलनीय बनाउने प्रयास गरियो। मुख्य कुरो, फयङ साँबाको इतिहासलाई नेपालको इतिहाससित जोड्ने महत्वपूर्ण काम यहाँ सम्पन्न भएको छ। यद्यपि, समयको दवावबीच प्रस्तुत अध्ययनलाई २०७७ सालमा ‘किरात लिम्बू संस्कृतिः मानवशास्त्रीय विवेचना’ पुस्तक तथा वंशावली ईबुक प्रकाशित गरियो। उक्त वंशावलीमा तलमाथि परेका अंश यहाँ सच्याइएको छ। नाम लेखाइमा भएका त्रुटीलाई समेत सच्याउँदै केही नाम थपेर वंशावलीलाई अद्यावधिक गरिएको छ।
वंशावली अद्यावधिक गरिएको
वंशावली लेखन भनेको एक निरन्तर अध्ययन कार्य हो। यो काम अनुसन्धान विधि र शैलीमा विभिन्न साधनको सहयोगले सम्पन्न गर्ने गरिन्छ। विशुद्ध वौद्धिक तथा प्राज्ञिक मूल्य र मान्यतामा आधारित रहेर मानवशास्त्रीय दृष्टिले वंशावली लेखनलाई निरन्तरता दिइनुपर्दछ भन्ने लेखकीय दृष्टिकोण छ। काम गर्दा त्रुटी भएमा सच्याउँदै अघि बढ्नु पर्दछ।
मेवाखोला वंशवृक्ष मिलान गरिएको
२०७६ सालमा मेवाखोलाबाट प्राप्त मेवाखोलावासी सरन्दा र यरन्दा वंशावलीलाई तुम्याङ हिरीतर्फ राख्नुपर्नेमा २०७७ मा प्रकाशित ‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ तथा वंशावलीसम्बन्धी ईबुकमा अन्यथा हुन गएकाले त्यसलाई सच्याएर हाल अद्यावधिक गरिएको छ।
वंशावली अध्ययनका क्रममा २०७६ सालमा मेवाखोलाका सूचना संकलक मोहनचन्द्र फयङ (पुस्ताक्रम ३०) ले त्यहाँको वंशावली उपलब्ध गराएका थिए। मेवाखोला हाँगाका पूर्वज सरन्दा र यरन्दाबाट उद्विकसित वंशावली उनीबाट प्राप्त भयो। मौखिक रूपमा उनले त्यसबेला आफुहरू जेठो भाइको सन्तान भएको जानकारी दिए। समयको दवावका कारण बिना तुनात्मक अध्ययन तथा विश्लेषण त्यसबेला उनले ल्याएको वंशावलीलाई तुम्याङ त्या तर्फको जेठो सन्तानका रूपमा मिलान गरी ‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ तथा ईबुकमा प्रकाशित गरियो। तर अहिले तथ्यहरूलाई गहन अध्ययन र विश्लेषण गर्दा के थाहा भयो भने सरन्दा र यरन्दा तुम्याङ त्यातर्फ नभइ तुम्याङ हिरी पट्टिका सन्तान रहेछन्। (Phyang AR, 2056)
अतः वशावलीको तुलनात्मक अध्ययनका आधारमा मोहनचन्द्र फयङबाट प्राप्त मेवाखोला हाँगाको वंशावलीलाई तुम्याङ हिरी (पुस्ताक्रम २२) तर्फ मिलान गरी पुस्ताक्रम २३ का सरन्दा, यरन्दा र युबन्दालाई तुम्याङ हिरी हाँगामा अद्यावधिक गरिएको छ। (हेर्नुहोस्- अध्याय ५.३.२ र अनुसूची २) उल्लिखित तथ्यलाई सच्याउनु पर्ने कारण वा प्रमाण र आधारहरू मेवाखोला हाँगाको वंशावली पाठमा दिइएको छ।
सिक्किम र पाँचथरको वंशावली एकीन गरिएको
स्मरण रहोस्, तुम्याङ हिरीतर्फ युबन्दा (पुस्ताक्रम २३) का नाति शाहीवाल (पुस्ताक्रम २४) का एक छोरा इरूहाङ (पुस्ताक्रम २४) तुम्याङ त्याका दरसन्तान पन्चकन्दा (पुस्ताक्रम २४) का छोरा धनकर्ण (पुस्ताक्रम २५) र चासमुखी (पुस्ताक्रम २५) संगै हाङपाङ छुट्टिएर गएका थिए। सोही क्रममा युबन्दा (पुस्ताक्रम २३) का नाति शाहीवाल (पुस्ताक्रम २४) का जेठा छोरा जसपाल (पुस्ताक्रम २५) भने सिक्किम र पाँचथरमा गए। (अध्याय ५.३.२ र अनुसूची २)
सिक्किममा बसोबास गर्ने फयङ साँबा आफू मेवाखोलाबाट छुट्टिएर गएको बताउँछन्। (Phyang YB, 2019) फयङ साँबा वंशावली २०५६ तथा अन्य क्षेत्रका हाँगाका वंशावलीको तुलनात्मक अध्ययनले के संकेत गर्दछ भने सिक्किममा रहने फयङ साँबाको हाँगा युबन्दा (पुस्ताक्रम २३) का नाति शाहीवाल (पुस्ताक्रम २४) का छोरा जसपाल (पुस्ताक्रम २५) का जेठी श्रीमति तर्फका दरसन्तान हुन्।
त्यसैगरी, जसपाल (पुस्ताक्रम २५) का कान्छी श्रीमतितर्फका सन्तान मेवाखोलाबाट छुट्टिएर पाँचथर लुङरूप्पा हालको फिदिममा गएर खुर्पेठ्याक गरी वि.स. १८०७ मा बसे भन्ने पाँचथरवासी फयङ साँबाको भनाइ छ। (Phyang RB, 2019) उनीहरू युबन्दा (पुस्ताक्रम २३) का नाति शाहीवाल (पुस्ताक्रम २४) का छोरा जसपाल (पुस्ताक्रम २५) का दरसन्तान हुन्।
जेहोस्, वंशावलीमा साँबाका सबै हाँगाबिँगालाई रेखाचित्रद्वारा सरल ढंगले पुस्ताक्रम सहित देखाइएका छन्। जसले नाता केलाउन सहज हुनेछ। वंशावलीको विस्तृत विवरण सफ्टवेयरद्वारा वेभसाइटमा पनि उपलब्ध गराइएको छ। यदि कसैले आफ्नो परिवारको वंशावलीको संक्षिप्त खाका हेर्न सकिने ब्यवस्था गरिएको छ। तल दिइएको वेभसाइटमा वंशावली (Genealogy) खोलेर हेर्नसकिन्छ।
स्वस्फूर्त उत्साहजनक सहयोग जुटेको
अलिकति तीतामीठा अनुभव पनि पोख्न मन लाग्यो। पुस्तक लेखनकार्य करिव सकिएको अवस्थामा बेलायतबाट विश्वराज फयङ साँबाको अचानक फोन आयो। वंशावली पुस्तक प्रकाशनको लागि वेलायत, जापान र युएईमा रहेका फयङ साँबा दाजुभाइबाट रकम संकलन गरेर सहयोग गर्ने इच्छा जानकारीमा आयो। मैले प्रस्तावलाई सहर्ष स्वीकार गरेँ। सहयोगकर्ताको चाहना बमोजिम नाम, फोटो र रकम खुलाएर पुस्तकमा प्रकाशित गरिएको छ।
बेलायत लगायत प्रवासबाट वंशावली प्रकाशनमा आर्थिक सहयोग प्रदान गर्नेको नामावली विश्वराज फयङ मार्फत मलाई स्वस्फूर्त रूमा क्रमसः प्राप्त हुँदै थियो। एउटा लिष्टको पुछारमा मैले स्व. टेकबहादुर फयङ साँबाको नाम पनि स्वर्गीय जोडिएर आएको देखेँ। त्यो देखेर म भावुक भएँ। उहाँ यस भौतिक संसारमा नभए पनि आजसम्म मेरो मन उनलाई स्वर्गीय लेख्न मानिरहेको थिएन। मैले उनलाई पुस्तकमा नाम लिँदा कतै स्वर्गीय लेखेको छैन। यसका कारण छन्, जुन मेरो आत्मासित गाँसिएर भावनामा बगेको छ।
उनले संसारबाट विदा लिन अघि फयङ साँबा उत्पत्ति मुन्धुम लेखिछाडेर गए। वंशावली प्रकाशनका लागि उनले मलाई बारम्बार झक्झकाएका थिए। उनले मलाई यति ताकेता गरे कि मैले हतार हतार किताव लेखेर टुङ्गयाउनु पर्यो। उनको तीव्र चाहना र तमाम दाजुभाइको इच्छा पूरा गर्न मैले वंशावलीको पहिलो संस्करणलाई हतारमै पूरा गरेँ। तैपनि लेख्दै जाँदा पुस्तकको आकार अलि ठूलो भएछ। कागजले गर्दा मूल्य बढेकाले कतै बजारमा पठाउन पो सकिन्छ कि भनेर सोचेँ। फलस्वरूप कितावको शिर्षक ‘किरात लिम्बू संस्कृति- मानवशास्त्रीय विवेचना’राखेँ।
बल्लबल्ल पुस्तक छापिएर बजारमा आयो। तर दुर्भाग्यवश पुस्तक प्रकाशन गर्ने साइत भने कोरोना महामारीका बेलामा पर्न गयो। हामीले टेकबहादुर फयङ साँबालाई त्यही महामारीताका गुमायौँ। मैले उनलाई वंशावली पुस्तक दिन सकिन। उनले टिपाएको मुन्धम र वंशावली मैले उनलाई देखाउनै पाइन। वंशावली पढ्ने उनको चाहना र पुस्तक देखाउने मेरो रहर आज मेरो मनको कुनामा किला झैँ गढेर बसेको छ। जब उनको नाम आउँछ तब उनले वंशावली छिटो प्रकाशित गर्न ताकेता गर्दा फोनमा बोलेका उनका आवाज अझै कानमा गुन्जिन्छन्। कहिलेकाहि मनले भन्छ, शायद अलि चाँडै दुनियाँबाट विदा हुनलाई उनले त्यति हतारो गरेका रहेछन्।
उनैको सम्झनामा
यसरी हाम्रा मनका घाउ राम्ररी निको भएका थिएनन्। चोट पुरिन नपाउँदै हालै उनका एक सन्तान स्व. बिगेन्द्र फयङ साँबालाई पनि हामीले गुमाउन पुग्यौँ। यसबेला हामी दुःखमा छौँ। तै पनि उही वंशावलीको कुरा चलाउनु परेको छ। के गर्नु प्रकाशन गर्ने मौका पनि यही बेला परेको छ। टेकबहादुर फयङ परिवारमा यसबेला परेको बज्रपात हामी सबैको छातीमा कतै न कतै लागेको छ। त्यस्तो पीडामा छट्पटिएको बेलामा पनि परिवारजनले उनै स्वर्गीय टेकबहादुर फयङको नाममा सहयोग रकम टिपाएको देख्दा म भावुक बनेँ। उनको नाम पढ्दापढ्दै अनि उनको नाम टाइप गरेर लेख्दादेख्दै आँखा आँशुले भरिएर आएर एकछिन लेख्न पनि सकिन। भित्रभित्रै मेरो मन धेरैबेर रोयो। एउटा लेखक कहिलेकाहीँ कति निरीह हुँदोरहेछ।
उनै स्वर्गीय टेकबहादुर फयङका नाममा आएको सहयोगलाई मैले अस्वीकार गर्न सकिन। भारी मनले सहयोग स्वीकार गर्दै मनमा अनेक सोचिरहेँ। फयङ साँबा वंशावलीप्रति टेकबहादुर फयङको जुन गहिरो ज्ञान र लगाव थियो त्यसलाई म शब्दमा वर्णन गर्न सक्दिन। वंशावली तयार गर्न उनले मलाई दिएको आत्मबल र ज्ञान अपार छन्।
जुन व्यक्ति वंशावली हेर्नलाई सबैभन्दा लालयित थिए उनै व्यक्तिले पुस्तक हेर्ने मौका नपाइ संसारबाट गए। कहिलेकाहीँ त लेखकलाई मनमा कताकता आफ्ना प्रयास ब्यर्थ भएजस्तो पनि लाग्दोरहेछ। टेकबहादुर फयङप्रति म वास्तवमा नतमस्तक छु। उनले लगाएको गुन अलिकति भए पनि तिर्न चाहन्छु। त्यसैले वंशावली हेर्ने उनको अतृप्त चाहना र वंशावली प्रतिको उनको योगदान तथा अपार मायालाई कदर गर्दै प्रस्तुत फयङ साँबा वंशावली २०८१ उनै टेकबहादुर फयङ साँबालाई समर्पण गर्दछु। सबै दाजुभाइ र पाठकका तर्फबाट म उनको मनले शान्ति पाओस् भनी प्रार्थना गर्दछु।
फयङ साँबा दाजुभाइले आफू दुःखमा परेको बेला पनि वंशावलीलाई माया गरेर जुन आर्थिक सहयोग गरिदिनु भएको छ, त्यसप्रति म आभार र धन्यवाद व्यक्त गर्दछु।
ओभरटेक गर्न खोज्ने र छिर्के लाउने प्रवृत्ति पनि पाइएको
काम गर्दै जाँदा लेखकले अनौठा अनुभव पनि बेहोर्नु परेको छ। केही वर्षअघि एक दिन फयङ साँबा बन्धु हुँ भन्दै एक जना संकलक आफ्नो हाँगाको वंशावली ल्यापटपमा लिएर आए। परिचय गरेपछि उनले आफ्नो शाखाको वंशावली तीन पाना मलाई दिए। अनि उनले बिना संकोच मेरो कम्प्युटरमा रहेको वंशावलीको करिव ६-७ सय पृष्ठको वंशावली छाप्नलाई कपी गरेर लान खोजे। यसअघि पहिले न कुनै भेट छ न कुनै सल्लाह कुराकानी छ, एक्कासी उनले पेनड्राइभ मतिर तेर्स्याए। लाग्थ्यो कुनै गुरूले विद्यार्थीलाई होमवर्क गर्न दिएर कपी माग्दैछन्। म सामग्री लगेर संस्था दर्ता गरेर वंशावली छपाइदिन्छु भनेर मलाई गफ पनि दिए।
पहिलो चोटी देखभेट भएको अपरिचित मान्छे, दाजुभाइ हुँ भन्छ, तर कसरी लाज पचाएर मेरो बौद्धिक सम्पत्ति एक्कासी खै ले भनेको होला भनेर अचम्ममा परेँ। मलाई उनको माग अपरिपक्व लाग्यो। मैले उनलाई कुनै तितो जवाफ फर्काइन। बरू त्यसलाई सहज ढंगले टारिदिएँ। त्यस्तै हो मान्छेमा कहिलेकाहीँ माग्ने ढंग पुग्दैन गल्ति हुन्छ भनेर घटनालाई बिर्सन खोजिरहेको थिएँ।
फयङ साँबा समाज धरानलाई दिइएको उनै बन्धुले तयार पारेको फयङ साँबा वंशावलीको पाण्डुलिपि मेरो हातमा पर्यो। त्यसलाई सरसर्ती हेरेँ। त्यसमा न अध्ययनको खाका छ, न कुनै विधि छ न त कुनै श्रोत खुलाइएको छ, त्यसभित्र मेरा प्रकाशित पुस्तकका वंशवृक्ष हुबहु सारिएका छन्। उक्त फयङ साँबा वंशावली पाण्डुलिपिमा स्थापित फयङ साँबाका हाङपाङ हाँगामाथि अनावश्यक छेडछाड गरिएका छन्। अर्कै गाउँ वा हाँगाका बन्धुले स्थापित हाङपाङ पुस्ताक्रमलाई तलमाथि पारिदिएछन्। मैले त्यसमा आपत्ति जनाएर फयङ साँबा समाजलाई प्रतिक्रिया दिएँ। तर म उत्तेजित भइन। सम्झिएँ, यो कस्तो बौद्धिक बेइमानी र घृष्टता हो? बन्धुबाटै बौद्धिक क्षेत्रमा डन शैली किन?
वंशावली एक अध्ययन हो विशुद्ध अनुसन्धान हो। यसका निश्चित विधि छन्, यसका साधन, स्रोतसामग्री हुन्छन्। त्यसमा रहेर अझ सम्बन्धित समुदायको विश्वास लिएर आधिकारिकता हासिल गरेर अध्ययन सहित जिम्मेवारपूर्वक वंशावली तयार गर्नुपर्नेमा आफूखुसी विना अंगको टिपोटलाई वंशावली पाण्डुलिपि भनी फयङ साँबालाई वेवकूफ बनाउन अघि सार्न लाज लाग्दैन? प्राज्ञिक मर्यादा र इमान्दारिता कुन चराको नाम हो थाहा नहुने त्यस्ता व्यक्ति र प्रवृत्तिलाई सोध्दैछु- तिमीहरूलाई कपीराइट सम्बन्धी कानुन र ब्यवस्था थाहा छ कि छैन?
माथि उल्लिखित घटनाक्रम केही वर्षसम्म पचाएर बसेँ र बिर्सन खोजेँ। तर प्रस्तुत साँबा वंशावली २०८१ संस्करण छपाइका लागि तयार भयो। विद्वतवर्ग वा सम्बन्धित जानकारबाट कुनै सुझाव भए पाउँ भन्ने मनसायले वंशावलीको रचनागर्भ र सारलाई फेसबुक सामाजिक सञ्जालमा साझा गरेँ। केही वर्षअघि वंशावलीको सफ्टकपी पेनड्राइभमा लगेर छपाउँन खोज्ने उनै फयङ साँबा बन्धुले मबाट सामग्री नपाएको कुण्ठा वा आफुले किताव छाप्न नपाएको कुण्ठा फेसबुकमा पोखेछन्। उनले त्यहाँ वंशावलीप्रति आधारहीन टिप्पणी गरेको पाएँ। उनले आधार बिनाका कुनै लेखक, पुस्तक, स्रोत नखुलेका लोक साहित्य जस्ता सामग्री फयङ साँबा वंशावलीमा राख्न प्रस्ताव गरे। मैले त्यसको भरपर्दो प्रमाण वा स्रोत दिन उनलाई संजालमै आग्रह गरेँ तर उनले त्यो दिन सकेनन्।
फयङ साँबा परिवारका सबैले वंशावली लेखेकोमा लेखकलाई आभार ब्यक्त गरेका छन् तर एक जना बन्धु हामीमाझ आफ्नो अज्ञानता, अहम् र महत्वाकांक्षाका भद्दा प्रदर्शन गरिरहेका छन्। स्मरण रहोस्, उनले संकलन गरेका हाँगा वंशावली पुस्तकहरूमा देखाउँदा उनलाई स्रोतव्यक्ति भनेर देखाइएको छ। उनलाई धन्यवाद पनि पुस्तकहरूमा दिइएको छ। आफूलाई पढेलेखेका भन्ठान्ने एक शाखाका वंशावली संकलकले विषयवस्तुको गम्भीरता र मानवशास्त्रीय अध्ययन अनुसन्धानका विधि, मूल्य र मान्यता विपरित कसैले दशकौँ लगाएर तयार पारेको फयङ साँबा वंशावलीमाथि अनावश्यक टिप्पणी, आग्रह र पूर्वाग्रह सार्वजनिक गरेको देख्दा मलाई दुःख लागेको छ।
सकारात्मक र सिर्जनशील सुझाव र भूमिका अपेक्षित
हो, हिजो कलम समाउन जान्ने र अक्षर लेख्न सक्नेले वंशावली लेखे। आज त्यस्ता इमान्दार पुस्ता छैन। आज समाजमा बसेर सोझासाझा जनतालाई घुमाएर राजनीति गर्नेहरू आफू अनुकूलको वंशावली लेख्न तम्सँदैछन्। तिनीहरूलाई न मानवशास्त्रको ज्ञान छ न त अध्ययन अनुसन्धानका विधिबारे जानकारी छ। विश्वविद्यालयको कुनै डिग्री लिएर मात्र यसमा हुँदैन, राजनीति जानेर मात्र हुँदैन वंशावली अध्ययन गर्नलाई लगाव चाहिन्छ, मानवशास्त्रीय ज्ञान र सांस्कृतिक चेतना हुनुपर्दछ।
सबैभन्दा ठूलो कुरो आफूभित्र अहम् र पूर्वाग्रह पालेर राख्नु हुँदैन। खुला र इमान्दार अन्वेषकले मात्र सही जानकरी गराउने हैसियत राख्दछ। कुनै संस्था खोलेर वंशावलीमा आफ्नै जातिको प्रसस्ति गाइएका थुप्रै वंशावली बजारमा पाइन्छन् ती आज लाजले लुकाएर थन्क्याइएका छन्। भविश्यका निर्दोष पिढीलाई दिग्भ्रमित तुल्याउने खालका वंशावलीका पासो आज दराज दराजमा भेटिएलान्। हामीले त तथ्यपरक ढंगले वंशावली लेखेर सबैका सामू छाती फुलाएर हेर यो हो हाम्रो नेपाली इतिहास भनेर चिनाउँन सक्नुपर्दछ।
२०१६ सालमा मेवाखोलामा हाङपाङका प्रतिनिधिहरू गएर संकलन गरेको वंशावलीका आधारमा तयार पारेको फयङ साँबा वंशावली २०५६ र सोही आधारमा मानवशास्त्रीय अध्ययन विधि अवलम्बन गरेर सम्बन्धित समुदायको सहभागितामा किरात लिम्बू संस्कृति- मानवशास्त्रीय विवेचना २०७७, फयङ साँबा वंशावली २०८० (ईबुक) र हाल फयङ साँबा वंशावली २०८१ तयार पारिएको हो। आधिकारिक रूपमा कुनै ठोस अध्ययनबिना फयङ साँबा वंशावलीका नाममा उल्लिखित पुस्तकका कपीराइट अधिकारको उल्लंघन हुने गरी कुनै काम गरिएको पाइएमा कानुनी कारवाही हुने ब्यहोरा जानकारी गराउन बाध्य भएको छु।
फयङ साँबाको जातीय एकतापूर्ण भावनालाई धमिल्याउन खोज्ने वा हामीबीच अनावश्यक राजनीति गर्न खोज्ने त्यस्ता गैरजिम्मेवार व्यक्ति, शैली र प्रवृत्तिप्रति सचेत रहन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु।
स्मरण रहोस्, प्राज्ञिक मूल्य र मान्यता विपरितका कुरामा म सम्झौता गर्दिन। म सहभागितामूलक स्वतन्त्र अनुसन्धान र लेखनमा विश्वास गर्दछु। कसैले पनि सही र भरपर्दा सूचना वा प्रमाण उपलब्ध भएर वंशावली लेखन कार्यलाई सहयोग गर्न सक्दछन्। तथ्यांकउपर आधिकारिक र योग्य ब्यक्तिबाट छानबीन, विश्लेषण हुन्छ, यो बौद्धिक वा प्राज्ञिक विषयवस्तु हो। नामावली टिपाएजस्तो अन्य सैद्धान्तिक कुरामा आधार र प्रमाण बिना लेखकलाई अनावश्यक प्रभाव पार्ने काम कसैले पनि नगर्न हुन आग्रह छ।
लेखकलाई सिर्जनात्मक सुझाव पनि आएका छन्। फयङ साँबा समाजका विशिष्ठ सदस्यहरू जसले देश र विदेशमा उच्च नाम राख्ने काम गरेका छन्, उनीहरूको नाम पनि वंशावलीमा खुलाएर राखिदिए राम्रो हुने विचार आएको छ। यो स्वागतयोग्य कुरो हो। त्यस्ता योग्य मानिसको नाम र उपलब्धी वा मानसम्मान पाएको जानकारी भएमा खुलाएर लेखकलाई पठाइदिनुहोस्। आगामी संस्करणमा त्यसलाई समेटेर लगिनेछ।
साथै, वंशावलीमा आमाको पनि थर राखिदिएमा भावी सन्तानले कुटुम्बेरी गर्दा साइनो केलाउन सहज हुने कुराको पनि सुझाव आएको छ। यो पनि राम्रो सुझाव हो। यसमा एकैचोटी सबैको सूचना नआउला तापनि इच्छुकले मावलीतिरको तीन पुस्तासम्म खुलाएर पठाउनुहोस्। उक्त सूचनालाई एक अध्यायमा समेटेर लैजाने प्रयास हुनेछ। यो तरिका मानवशास्त्रको व्यवहारिक ढाँचा हो जसले समाजशास्त्रलाई पनि आकर्षित गर्दछ।
नैतिकता, दायित्व र आधिकारिकतामा अडेको लेखनकार्य
फयङ साँबा वंशावली लेखन कार्यमा लेखकका चार पुस्ता लागेका छन्। हाल लेखकका घरपरिवारका तीन पुस्ताका दाजुभाइ सदस्यहरू निरन्तर वंशावली संकलन, लेखन र प्रकाशनमा संलग्न छन्। यस कार्यमा हामीले सात दशक भन्दा लामो समय खर्चिएका छौँ। यो फयङ साँबा समाज र मानव जातिको लागि गरिएको निःस्वार्थ सेवा हो। सबैको साथ, विश्वासले गर्दा जिम्मेवारी र आधिकारिकता पनि हासिल गरेका छौँ।
धन्यवादज्ञापन
अध्ययन कार्यलाई अघि बढाउन मलाई बाटो देखाउने पिताश्री ऐतराज फयङ (पुस्ताक्रम २९) हाङपाङ, ताप्लेजुङ, सहजकर्ता धीरेन्द्रराज फयङ (पुस्ताक्रम ३० लेखकका कान्छा भाइ) हाङपाङ, ताप्लेजुङ हाल धरान, मानबहादुर फयङ साँबा (पुस्ताक्रम ३०) धरान, सुनसरी, टेकबहादुर फयङ साँबा (पुस्ताक्रम ३०) धरान, हाल– बेलायतप्रति आभार प्रकट गर्दछु।
साथै, सूचना संकलक मोहनचन्द्र फयङ (पुस्ताक्रम ३०) मेवाखोला ताप्लेजुङ, प्रेमबहादुर फयङ साँबा (पुस्ताक्रम ३२), भुटान, योगबहादुर फयङ (पुस्ताक्रम ३०), सिक्किम, रामबहादुर फयङ (पुस्ताक्रम २८), पाँचथर, मनाहाङ फयङ (पुस्ताक्रम ३१), संखुवासभालाई हार्दिक धन्यवाद छ। सहजीकरण गर्ने चन्द्र प्रसाद फयङ, (पुस्ताक्रम ३१) ललितपुर, कौशलराज सुब्बा (पुस्ताक्रम ३१ लेखकका छोरा), ललितपुर र निश्छलराज सुब्बा (पुस्ताक्रम ३१ लेखकका छोरा), विराटनगरलाई पनि धन्यवाद छ। वंशावली प्रकाशनलाई सहजीकरण गर्ने लालबहादुर फयङ साँबा (पुस्ताक्रम ३०), कर्णबहादुर फयङ साँबा (पुस्ताक्रम ३०) लाई धन्यवाद छ।
प्रवासमा रहेर पनि वंशावलीलाई माया गरी छपाइमा आर्थिक सहयोग गर्ने सम्पूर्ण दाजुभाइमा हार्दिक धन्यवाद छ। विगत लामो समयदेखि फयङ साँबा वंशावली प्रकाशनमा लालायित तथा लेखकलाई बेलाबेला हौसला प्रदान गर्ने फयङ साँबा समाजका एक सज्जन विश्वराज फयङ साँबा जसले यसपालि वंशावली पुस्तक छपाइका लागि स्वस्फूर्त आर्थिक अनुदान दाजुभाइबीच समन्वय गरी जुटाएर गरेको योगदानका लागि विशेष धन्यवाद छ।
अन्तमा, समय समयमा नामावली अपडेट गर्नहुन अनुरोध छ। साथै वंशावलीसम्बन्धी कुनै भरपर्दा प्रमाण भएमा लेखकलाई उपलब्ध गराएर लेखन कार्यमा सहयोग गर्नहुन सबैमा अनुरोध छ। धन्यवाद।
- साभार- फयङ साँबा वंशावली २०८१ (‘प्राक्कथन, रचनागर्भ र धन्यवादज्ञापन’) Email: [email protected]
What Is Genealogy? An Anthropological/Philosophical Reconsideration
Genealogy and Pedigree